नमोबुद्ध / काभ्रेपलाञ्चोक
नमोबुद्ध नगरपालिकाले दुग्ध उत्पादन गर्ने कृषक, दुग्ध सहकारी संस्था तथा दूध संकलनकर्तासँग एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। नमोबुद्ध नगरपालिका पशु सेवा शाखाको आयोजना तथा जिल्ला दुग्ध उत्पादन सहकारी संघ काभ्रेपलाञ्चोकको सहयोगमा नगरपालिकाको हलमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डकी प्राविधिक निर्देशक डा. हसिनामैयाँ श्रेष्ठले प्रशिक्षकका रूपमा सहजीकरण गर्दै दुग्ध क्षेत्रको वर्तमान अवस्था, गुणस्तरीय दूध उत्पादनका लागि अपनाउनुपर्ने वैज्ञानिक पशुपालन विधि, पशु स्वास्थ्य व्यवस्थापन, दूधको गुणस्तर परीक्षण, दुग्धजन्य पदार्थको बजारीकरण तथा यस क्षेत्रमा रहेका व्यावसायिक अवसरबारे विस्तृत जानकारी दिएकी थिइन्। उनले परम्परागत पशुपालनबाट व्यावसायिक पशुपालनतर्फ उन्मुख हुनुपर्ने आवश्यकता औँल्याउँदै उत्पादनसँगै गुणस्तरमा ध्यान दिन सके किसानको आम्दानी वृद्धि हुने बताइन्।
जिल्ला दुग्ध उत्पादक सहकारी संघ काभ्रेपलाञ्चोकका अध्यक्ष शिवप्रसाद कोइरालाले काभ्रेपलाञ्चोक देशकै अग्रणी दुग्ध उत्पादन गर्ने जिल्लामध्ये एक रहेको उल्लेख गर्दै दुग्ध क्षेत्रले हजारौं किसानको जीविकोपार्जनमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताए। उनले पशु आहारको बढ्दो मूल्य, उत्पादन लागत वृद्धि, बजार व्यवस्थापन र किसानले उचित मूल्य नपाउने जस्ता चुनौतीहरू समाधान गर्न दुग्ध सहकारी संस्थाहरूले सक्रिय भूमिका खेल्नुपर्ने बताए। दुग्ध सहकारीमार्फत किसानका समस्या पहिचान गरी समाधानका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको उनको भनाइ थियो।
केन्द्रीय दुग्ध उत्पादन सहकारी संघका महासचिव रामप्रसाद आचार्यले दुग्ध क्षेत्र ग्रामीण अर्थतन्त्रको महत्वपूर्ण आधार भएको बताउँदै दुग्ध सहकारीको माध्यमबाट किसानलाई संगठित, सक्षम र आत्मनिर्भर बनाउन सकिने धारणा व्यक्त गरे। उनले यस्ता अन्तरक्रिया कार्यक्रमले किसान, सहकारी र स्थानीय सरकारबीचको सम्बन्ध अझ सुदृढ बनाउने तथा दूध उत्पादन वृद्धि गर्न सकारात्मक प्रभाव पार्ने बताए।
कार्यक्रमका प्रमुख अतिथि तथा नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामाले कृषि र पशुपालनलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताउँदै राम्रो काम गर्ने सहकारी संस्थाहरूलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरिएको जानकारी दिए। सहकारी संस्थाहरू किसानको हितमा केन्द्रित हुनुपर्ने उल्लेख गर्दै एउटै व्यक्तिले धेरै सहकारी सञ्चालन गर्ने प्रवृत्तिले सहकारी अभियानको मूल मर्म कमजोर बनाउने धारणा व्यक्त गरे।
नगर प्रमुख लामाले किसानहरूबीच एकता र सहकार्यको अभाव रहेको भन्दै किसानहरू संगठित हुनुपर्ने बताए। “किसान समृद्ध भए गाउँ समृद्ध हुन्छ, गाउँ समृद्ध भए देश समृद्ध हुन्छ,” भन्दै उनले कृषि र पशुपालन क्षेत्रलाई आर्थिक विकासको प्रमुख आधारका रूपमा लिनुपर्ने बताए।
कार्यक्रमका सभाध्यक्ष तथा वडा नं. १० का अध्यक्ष रामकृष्ण उपाध्यायले दुग्ध क्षेत्रको विकासका लागि सबै सरोकारवाला निकायबीच साझा धारणा निर्माण आवश्यक रहेको बताए।
राष्ट्रिय सहकारी बैंक बनेपा शाखाका प्रमुख उपेन्द्र दाहालले सहकारी संस्थाहरूको सुशासन, वित्तीय अनुशासन, कानुनी व्यवस्था तथा मापदण्ड सम्बन्धी प्रस्तुतीकरण गर्दै सहकारीलाई पारदर्शी, उत्तरदायी बनाउनुपर्नेमा जोड दिए।
अन्तरक्रिया कार्यक्रममा विभिन्न वडाका कृषक, दुग्ध सहकारीका पदाधिकारी, दूध संकलनकर्ता, जनप्रतिनिधि, पशु सेवा शाखाका कर्मचारी तथा दुग्ध क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले दूध उत्पादन, पशु स्वास्थ्य, बजारको पहुँच, मूल्य निर्धारण, अनुदान तथा दुग्ध सहकारी व्यवस्थापनसँग सम्बन्धित जिज्ञासा र अनुभवहरू साटेका थिए।




