ललितपुर
राष्ट्रियता, लोकतन्त्र, समाजवाद, तामाङ एकता” को गौरवपूर्ण नाराका साथ नेपाल तामाङ संघ, ललितपुर जिल्ला कार्यसमितिको ऐतिहासिक जिल्ला अधिवेशन आज ललितपुरको नखिपोटस्थित नेपाली काँग्रेस पार्टी कार्यालयमा भव्यताका साथ सम्पन्न भएको छ। तामाङ समुदायको हकहित, अधिकार ,भाषा, संस्कृति, कला, साहित्य र विशिष्ट पहिचानको संरक्षणमा यो अधिवेशनले दूरगामी प्रभाव पार्ने विश्वास लिइएको छ। अधिवेशनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गणेश लामा प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए ।
कार्यक्रममा नेपाल तामाङ संघका केन्द्रीय अध्यक्ष रामकृष्ण तामाङ (इन्द्र), नेपाली काँग्रेस ललितपुरका जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठ, बागमती प्रदेशका सह–महामन्त्री ऋषिराम घिमिरे, ललितपुर क्षेत्र नं. १ का सभापति सुन्दरमान थिङ लगायतका शीर्ष नेताहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
यसैगरी, नेपाल तामाङसंघका केन्द्रीय सदस्यहरू सानु कान्छा मोक्तान, सोना लामा, बिलाम मोक्तान, सीता वाइवा र कोशी प्रदेशका सभापति सुवास तामाङ लगायतका संघका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। नेपाल तामाङ संघका केन्द्रीय सभापति रामकृष्ण तामाङको गृह जिल्लामा सम्पन्न नेपाल तामाङ संघललितपुरको जिल्ला अधिबेशनको महत्व छुट्टै देखिन्थ्यो । अधिवेशनको सभापतित्व नेपाल तामाङ संघ ललितपुरका तदर्थ समिति सभापति तिर्थ लामा घालान ले गर्नुभएको थियो।
कार्यक्रमका विशेष अतिथि तथा नेपाली काँग्रेस ललितपुरका जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठ ले तामाङ समुदायलाई समेटेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले २०७९ सालको निर्वाचनमा ललितपुर क्षेत्र नं. १ मा तामाङ समुदायकै योगदानका कारण संघ र प्रदेश दुवैमा विजय हासिल भएको स्मरण गराए । पार्टीभित्रका आन्तरिक द्वन्द्वलाई सुझबुझका साथ व्यवस्थापन गर्न सके २०८४ सालको चुनावमा ललितपुरका सबै क्षेत्रमा सहजै विजय हासिल गर्न सकिने दाबी उनको थियो । श्रेष्ठले तामाङ समुदायसँगै नेपाली काँग्रेसलाई पनि सबल बनाउन नेपाल तामाङ संघले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् । अब ललितपुरमा बन्ने नेतृत्वले सम्पूर्ण तामाङ समुदायलाई एक ढिक्का बनाएर लैजानुपर्नेमा उनको जोड थियो।
अधिवेशनलाई शुभकामना दिदै प्रमुख अतिथि तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य गणेश लामाले तामाङ भाषा, संस्कृति, कला र साहित्यको प्रवर्द्धन गर्नुका साथै प्रदेशमा तामाङ समुदायले भोग्नुपरेका सामाजिक, आर्थिक, राजनीतिक लगायतका समस्याहरू पहिचान गरी त्यसको समाधानका लागि ठोस रणनीति र योजनाहरू तयार पार्नु रहेको बताए।
अधिबेशनलाई शुभकामना दिदै नेपाल तामाङसंघका केन्द्रिय सभापति रामकृष्ण तामाङले तामाङ समुदायलाई पनि राजनैतिक चेतनाको बिकास गरेर राज्यको मुलधारमा प्रतिनिधित्व गराउन यो अधिबेशन एक अभियान भएको बताए । साथै यो चेतनाको जागरुकले काङ्ग्रेस पार्टी मजबुत हुने र बनाउनु पर्ने बताए ।
नेपाली काङ्ग्रेस बागमती प्रदेशका सह महामन्त्री ऋषिराम घिमिरेले तामाङ संघको स्थापना भएदेखि नै तामाङ समुदाय र यसको महत्वलाई आम नागरिकले चिन्न थालेको बताउँदै आगामी दिनमा यसलाई थप उचाइमा पुर्याउनुपर्नेमा जोड दिएका छन् । साथै उनले अधिवेशनलाई अनुशासित, व्यवस्थित र एकताको सन्देश दिने गरी सम्पन्न गर्न सबैलाई हार्दिक आग्रह समेत!गरेका छन् ।
नेपाली काङ्ग्रेस ललितपुर क्षेत्र न १ का सभापति सुन्दर मान थिङले तामाङ समुदायको एकता र सहकार्य आजको अपरिहार्य आवश्यकता भएको औंल्याए ।
यस अधिवेशनलाई भव्य र सभ्य बनाउन जिल्लाभित्रका नेपाली काँग्रेसमा आबद्ध विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो। अधिवेशनको तयारीका सम्बन्धमा विस्तृत छलफल हुनुका साथै सहभागी वक्ताहरूले यसलाई सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
अधिबेशनको शुभकामना दिने सम्पुर्ण बक्ताहरुले नेपाल तामाङ संघ ललितपुर जिल्ला समितिलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउनुपर्नेमा सबैको जोड थियो ।
अधिबेशनले ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ को जगमा तामाङ एकताको सन्देश दिएको छ ।
अधिबेशनबाट सभापतिमा तिर्थ घलान सर्वसम्मत
नेपाल तामाङ संघ ललितपुरको जिल्ला अधिबेशनबाट जिल्ला सभापतिमा तिर्थ बहादुर घलान सर्वसम्मत रुपमा चयन भएका छन् । उनी कोन्ज्योसोम गाउँपालिका वडा न ४ निवासी हुन् । उनी यसअघि नेपाल तामाङ संघ ललितपुरको तदर्थ समितीका सभापति समेत हुन् । त्यस्तै गरि उपसभापतिमा राजकुमार तामाङ, कृष्ण थोकर ,नम्रता तामाङ चयन भएका छन् भने सचीवमा कृष्ण बहादुर तामाङ, सहसचिवमा मनोज घ्यावा तामाङ, सन्तलाल तामाङ, कोषाध्यक्षमा समीर थिङ तामाङ रहेका छन् ।
सदस्यहरुमा विमला तामाङ (महिला), जया घलान (महिला), गणेशमान नेगि, कुमार तामाङ, श्याम तामाङ, लुकमान लो तामाङ, गणेश बहादुर तामाङ , कृष्ण दोङ तामाङ, देवराज तामाङ, रोमन स्याङ्तान तामाङ, दिनेश लो तामाङ, कुमार ब्लोन तामाङ, लवाङ तामाङ, मनोज थिङ तामाङ, मिना बल तामाङ,निरोज घिसिङ रहेका छन् । नवनियुक्त पदाधिकारी तथा सदस्यहरुलाई नेपाल तामाङ संघका केन्द्रिय अध्यक्ष रामकृष्ण तामाङले सपथ ग्रहण गराएका थिए ।




