बागमती /ललितपुर
ललितपुरको बागमती गाउँपालिकामा रहेको श्री देवता बागमती बहुउद्देश्यीय सहकारी संस्थाले सामुदायिक विद्यालयहरूमा फोहोर व्यवस्थापन र हरियाली प्रवर्द्धन तथा वातावरण संरक्षण लागि एक महत्त्वपूर्ण कार्य गरेको छ ।
सहकारीले बिहिवार बागमती गाउँपालिकाको वडा नं. ७ भित्रका दुई माध्यमिक विद्यालय श्री जनक मावि र श्री नारायणी माविलाई डस्टबिन र धुपीका बिरुवाहरू प्रदान गरेको छ।
विद्यालयहरूमा सरसफाइको महत्त्वलाई ध्यानमा राख्दै सहकारीले दुवै विद्यालयलाई ८० लिटरका दुई–दुई वटा र २५ लिटरको एक–एक वटा गरी जम्मा छ वटा डस्टबिन वितरण गरेको हो। यसका साथै वातावरण संरक्षण र हरियाली प्रवर्द्धनको लागि प्रत्येक विद्यालयलाई पाँच–पाँच वटा धुपीका बिरुवा पनि सहयोग गरिएको छ।
सहकारीका अध्यक्ष काशिनाथ सापकोटाले सहकारीले आफ्नो नाफाको केही अंश सामाजिक उत्तरदायित्वका कार्यहरूमा खर्च गर्दै आएको बताएका छन् । “यो सहयोग हाम्रो सामाजिक प्रतिबद्धताको एउटा अंश मात्र हो,” उनले भने। “हामीले यसअघि पनि यस्ता धेरै सामाजिक कार्यहरू गरिसकेका छौँ र आगामी दिनमा पनि नागरिकले प्रत्यक्ष रूपमा उपयोग गर्न सक्ने कामहरूमा हाम्रो ध्यान केन्द्रित हुनेछ।”
सहकारीको यो सहयोगले विद्यालयहरूमा फोहोर व्यवस्थापनलाई सहज बनाउनुका साथै विद्यार्थीहरूलाई सरसफाइ र वातावरण संरक्षणको महत्त्वबारे सचेत गराउन सहयोग पुग्ने विश्वास अध्यक्ष सापकोटाले लिइएका छन् ।
सहयोग प्राप्त गरेपछि विद्यालयका प्रधानाध्यापकहरूले सकारात्मक कार्यको थालनी गरेकोमा सहकारीलाई धन्यवाद दिएका थिए । उनीहरूले यस्ता कार्यक्रमहरू प्राथमिक विद्यालयमा समेत विस्तार गर्न सुझाव दिएका छन्। करिब ३०० सदस्य भएको यस सहकारी संस्थाको हाल ५ करोड हाराहारिमा कारोबार गर्दै आएको छ ।