ललितपुर / गिम्दी
“अपनाऔँ सहकारी पद्धति, हटाऔँ गरिबी र बेरोजगारी” भन्ने मूल नारासहित देवता बागमती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४औँ वार्षिक साधारण सभा शुक्रबार बागमती गाउँपालिकामा सम्पन्न भएको छ। सभामा प्रमुख अतिथि बागमती गाउँपालिकाका अध्यक्ष वीर बहादुर लोप्चन उपस्थित रहे भने विशेष अतिथिका रूपमा उपाध्यक्ष भक्त बहादुर दर्लामी मगर र वडा नं. ७ का वडा अध्यक्ष होमप्रसाद बजगाईको सहभागिता थियो।
सभामा प्रस्तुत प्रतिवेदनअनुसार सहकारीमा हाल ३०८ जना शेयर सदस्य रहेका छन्, जसमा ११४ जना महिला, १९४ जना पुरुष तथा १७९ जना बाल सदस्य समावेश छन्। सहकारीले गत आर्थिक वर्ष २०८०/८१ मा ४ करोड ४३ लाख ५० हजार ५२४ को कारोबार गरेको थियो भने आर्थिक वर्ष २०८१/८२ मा कारोबार वृद्धि हुँदै ४ करोड ८५ लाख ३० हजार ४ सय ४९ मा पुगेको अध्यक्ष काशीनाथ सापकोटाले जानकारी दिए। चालु वर्षको शेयर पूँजी ४३ लाख ३५ हजार, बचत निक्षेप ३ करोड ४७ लाख ९० हजार ४६ र खुद नाफा २२ लाख ५८ हजार २ सय ६२ रहेको प्रतिवेदनमा उल्लेख छ।
सहकारीले २०८१/८२ को नाफाबाट आफ्ना शेयर सदस्यलाई १८ प्रतिशतको दरले बोनस वितरण गरेको छ। नियमित रूपमा उत्कृष्ट आर्थिक कारोबार गर्ने उत्कृष्ट ऋणी दुई जना शेयर सदस्य नम्बर २८५ की ग्यानुमाया भुलुन र शेयर सदस्य नम्बर २०६ का नवराज दुलाललाई समारोहका बीच सम्मान गरिएको थियो। त्यस्तै एसईई २०८१ उत्तीर्ण गरेका १४ जना बाल सदस्यलाई नगदसहित प्रोत्साहन प्रदान गरिएको छ। उत्कृष्ट दुग्ध उत्पादन गर्ने आठ जना शेयर सदस्यलाई क्यान प्रदान गरी सम्मान गरियो भने एकल महिला सदस्य १३ जनालाई पनि विशेष सम्मान गरिएको थियो।
कार्यक्रममा लेखा समिति र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरी सहभागी शेयर सदस्यहरूलाई विस्तृत जानकारी गराइएको थियो। सबै प्रतिवेदन साधारण सभाले सर्वसम्मत रूपमा पारित गरेको छ। सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गतका विभिन्न कामहरू गर्दै आइरहेको जानकारी पनि सभामा प्रस्तुत गरिएको थियो।
यो साधारण सभा आगामी कार्यकालका लागि भएको चुनावी साधारण सभा समेत रहेको थियो। सभाले अध्यक्षमा काशीनाथ सापकोटालाई पुनः निर्विरोध चयन गरेको छ। त्यस्तै उपाध्यक्षमा सुर्य बहादुर आले, सचिवमा जय बहादुर भुलुन तथा कोषाध्यक्षमा बुद्धमाया थापा मगर समेत निर्विरोध निर्वाचित भए। अन्य सदस्यहरूका रूपमा भक्त बहादुर कालिकोटे, रुद्र सापकोटा, ठाकुरकुमार घिमिरे, पार्वती सन्जेल र केशव तिमल्सिना विजयी भएका छन्। लेखा समितिमा संयोजकका रूपमा भिमसेन घिमिरे तथा सदस्यका रूपमा कृष्ण प्रसाद तिमल्सिना र विष्णु बहादुर तिमल्सिना चयन भए।
प्रमुख अतिथि लोप्चनले ग्रामीण क्षेत्रमा सहकारीहरूको सञ्चालन स्थिति उत्कृष्ट रहेको उल्लेख गर्दै सहकारीहरूलाई अवलोकन भ्रमण कार्यक्रममार्फत सीप र अनुभव आदान–प्रदान गर्न अनुरोध गरेका थिए। कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरूले सहकारीले गरेको आर्थिक विकास, सामाजिक उत्तरदायित्व र समुदायप्रतिको सेवाको प्रशंसा गरेका थिए। साधारण सभामा शेयर सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो र कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको सहकारीले जनाएको छ। कार्यक्रममा समृद्दि आमा समुह र जिबिका सहकारी तथा अन्य आमा समुहहरुले सहकारी सम्बन्धि गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।




