काभ्रेपलाञ्चोक
पार्टीभित्र देखिएका तिता–मिठा विषयलाई बिर्सेर एकताबद्ध रूपमा अघि बढ्न नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकले सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान गरेको छ। आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसलाई विजयी बनाउन सबै नेता, कार्यकर्ता र शुभेच्छुकहरू एकढिक्का भएर लाग्न आग्रह गरिएको छ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकद्वारा जारी प्रेस विज्ञप्तिमा पार्टीको आन्तरिक जीवनमा विशेष परिस्थितिअनुसार गरिएका निर्णयहरूले कांग्रेसलाई थप ऊर्जावान र गतिशील बनाएको उल्लेख गरिएको छ। विशेष महाधिवेशनको वैधानिकतालाई निर्वाचन आयोगले दिएको मान्यताप्रति पार्टीले हार्दिक आभार व्यक्त समेत गरेको छ।
विज्ञप्तिमा नेपाल र नेपालीको उज्ज्वल भविष्यका लागि नवीन कांग्रेस निर्माणको आधार तयार भएको उल्लेख गर्दै दूरदर्शी र साहसी नेतृत्वको प्रशंसा गरिएको छ। साथै, नवीन कांग्रेस निर्माणको यात्रामा साथ, समर्थन र सहयोग गर्ने सम्पूर्ण पार्टीजनप्रति धन्यवाद ज्ञापन गरिएको छ।
फरक मत र फरक विचारको सम्मान गर्नु नेपाली कांग्रेसको आधारभूत सिद्धान्त भएको उल्लेख गर्दै आन्तरिक विवादको न्यायिक निरूपण भइसकेपछि सबै सदस्य पार्टी, देश र जनताप्रति समर्पित भएर अघि बढ्नुपर्ने दायित्व रहेको जनाइएको छ।
पार्टीभित्र विगतमा देखिएका असहमति र मतभेदलाई बिर्सेर आपसी सम्मान, एकता र सहकार्यका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै विज्ञप्तिमा आगामी निर्वाचन कांग्रेसका लागि निर्णायक अवसर भएको उल्लेख गरिएको छ।




