पनौती
श्याम फुलुमाया हस्तकला उद्योगद्वारा सञ्चालित श्याम फुलुमाया फाउन्डेसनले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नम्बर ५, सुभगाउँस्थित श्री ग्रामोदय आधारभूत विद्यालयलाई खाद्यान्न सामग्री सहयोग गरेको छ।
विद्यालयले पठाएको निवेदनका आधारमा फाउन्डेसनले चामल ४ बोरा, तेल ५ प्याकेट, केराउ ५ किलो, चना ५ किलो र बोडी ५ किलो गरी जम्मा १० हजार २५० रुपैयाँ बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो।
खाद्यान्न हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै फाउन्डेसनका प्रतिनिधिहरूले विद्यालय केवल अध्ययन गर्ने स्थान मात्र नभई बालबालिकाको भविष्य निर्माण गर्ने आधार भएको उल्लेख गरे। सानो सहयोग भए पनि यसले विद्यार्थी र विद्यालय परिवारलाई केही राहत मिल्ने विश्वास व्यक्त गरिएको थियो।
कार्यक्रममा आदरणीय कुमाले मिजार र नारायण सरको विशेष उपस्थिति रहेको थियो। उनीहरूको उपस्थितिले कार्यक्रम थप प्रेरणादायी बनेको सहभागीहरूको भनाइ थियो।
फाउन्डेसनले आगामी दिनमा पनि शिक्षा, सामाजिक सेवा तथा बालकल्याणसँग सम्बन्धित यस्ता सहयोगात्मक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।




