ललितपुर/ गिम्दी
नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी, ललितपुरले बागमती गाउँपालिका–७ गिम्दीका निर्वाचित वडा अध्यक्ष होम प्रसाद बजगाँइलाई पार्टीबाट निष्काशन गरेको छ। नेकपा एमाले ललितपुरले आज एक कार्वाही सम्बन्धि सूचना जारी गरेको छ । बजगाँइले पटक–पटक लिखित तथा मौखिक चेतावनीको बाबजुद पार्टी नीति र नेतृत्वविरुद्ध प्रचार–प्रसार गर्दै भ्रम सिर्जना गरेका कार्वाही सुचनामा उल्लेख छ ।
हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचन २०८२ मा अन्य पार्टी र विपक्षी उम्मेदवारलाई सहयोग गरेको र आफ्नो जिम्मेवारी पूरा नगरेको हुँदा पार्टी हित विपरीत कार्य गरेका आरोप बजगाई माथी लाग्दै आएको थियो ।
एमाले ललितपुरले गरेको निर्णयअनुसार, बजगाँइलाई एमालेको विधान धारा ८० अनुसार साधारण सदस्य पनि नरहने गरी निष्काशन गरिएको कुरा स्पष्ट उल्लेख गरेको छ ।
एमाले ललितपुरका जिल्ला सचिव राम राउतले सिरुपाते खबरसँग कुरा गर्दै भने, “प्रतिनिधि सभा निर्वाचन २०८२ मा अध्यक्ष बजगाइले आफ्नो पार्टीका उम्मेदवारलाई सहयोग गर्नुको साटो अन्य दलका उम्मेदवारलाई जिताउन सहयोग गरेका प्रमाणहरु छन्। हामीले पटक–पटक सम्झाएका थियौं, तर उनले ध्यान दिएनन्। अब प्रक्रिया अगाडि बढाएका छौं कानुनअनुसार निर्वाचन आयोगले टुङ्याउनेछ।”
पार्टीले गरेको कारवाहीको प्रमाण निर्वाचन आयोगमा पेश गरेपछि निर्वाचन आयोगले पद खारेज गर्ने प्रक्रिया अघि बढाउन सक्ने कानुनमा उल्लेख छ, जसको आधारमा अध्यक्ष बजगाई आफ्नो पदबाट हट्न सक्नेछन् ।
“हामीले उनलाई जिताएर पठायौं, तर उनले हाम्रो मतको अवमूल्यन गर्दै पार्टीको हित विपरीत काम गर्नु भएकोमा दु:ख लाग्छ।” गिम्दी एमालेका एक स्थानीय नेताले गुनासो पोखेका छन् ।
यस बिषयमा वडा अध्यक्ष होम प्रसाद बजगाईसंग धारणा बुझ्न खोज्दा उनले आफुलाई नेकपा एमाले पार्टीबाट आजसम्म कुनै स्पष्टीकरण नसोधिएको र कार्वाहीको बिषयमा पनि कुनै जानकारी नआएको बताएका छन् । अन्य प्रतिक्रिया भने दिन मानेनन् ।




