कुनै बेला उम्मेदवार चयन राजनीतिक दलको आन्तरिक शक्ति खेलको पर्याय थियो । नेतासँगको नातागोता, गुटगत सन्तुलन, आर्थिक हैसियत वा दबाब क्षमताले मात्रै उम्मेदवार तय गर्ने चलन लामो समयसम्म चल्यो । यो सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही–३ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि अघि सारेको उम्मेदवार छनोट प्रक्रिया केवल नयाँ अनुहार होइन, एक नयाँ पद्धतिको प्रतिनिधित्व हो । रास्वपाबाट उम्मेदवार बनेका डा. लेखजंग थापा त्यो प्रक्रियाबाट छानिएका पात्र हुन्, जसले नेपाली राजनीतिमा ‘योग्यता’ र ‘सेवा’लाई टिकटको मापदण्ड बनाउने सुरुआतको संकेत गरेका छन् ।
डा. थापा कुनै साधारण उम्मेदवार होइनन् । उनी वरिष्ठ स्नायुरोग विशेषज्ञ हुन्, जसले चिकित्सकीय सेवा मार्फत सयौं मानिसलाई नयाँ जीवन दिएका छन् । उनको राजनीतिक प्रवेशले धेरैलाई अचम्ममा पार्यो । कतिले भने, “जीवनभर डाक्टरी गरेर कमाएको इज्जत राजनीतिमा किन खतरामा पार्ने ?” तर यिनै प्रश्नहरू नै नेपाली राजनीतिमा वर्तमानको कठोर यथार्थलाई उजागर गर्छन् । राजनीति त्यस्तो पेशा बनेको छ, जहाँ राम्रो मान्छे जान हिच्किचाउँछ, र समाजले पनि उनीहरूलाई त्यही नजरले हेरिरहन्छ ।
तर रास्वपाको प्रक्रियागत निर्णयले यस सन्दर्भमा नयाँ अभ्यासको सुरुआत गर्यो । प्रारम्भिक मतदान, नेतृत्व स्कोरिङ, सार्वजनिक स्क्रुटिनी, तटस्थ समीक्षकको भूमिका र समावेशी मापदण्डलाई एकसाथ प्रयोग गरेर गरिएको यो छनोट प्रक्रिया केवल व्यक्तिको चयन नभएर प्रक्रियाको निर्माण हो । यो पद्धति केवल रास्वपा मात्र होइन, सम्पूर्ण दलहरूका लागि सिक्न लायक अभ्यास हो ।
यस प्रक्रियाको प्रभावकारिता परीक्षणका लागि रूपन्देही–३ केवल एक निर्वाचन क्षेत्र होइन, देशको लोकतान्त्रिक अभ्यासको प्रयोगशाला हो । त्यहाँ उम्मेदवारको चयन प्रक्रिया, प्रतिस्पर्धा, उजुरी र जवाफदेहितासहित अघि बढाइएको छ । डा. थापा प्रारम्भिक मतमा दोस्रो स्थानमा रहे पनि, नेतृत्व मूल्याङ्कनमा उत्कृष्ट देखिए । तर यही निर्णयमाथि बाँकी आकांक्षीहरूले उजुरी पनि गरे ।
यस घटनाले देखाउँछ—पारदर्शिता आफैँमा पर्याप्त होइन, त्यसले उत्पन्न गर्ने असहमति, विमति र गुनासोहरूलाई कसरी व्यवस्थापन गरिन्छ भन्ने अर्को पक्ष पनि उत्तिकै महत्वपूर्ण हुन्छ । डा. थापा चयन प्रक्रियाबाट आएका उम्मेदवार हुन् तर अबको चुनौती निर्वाचन मात्रै होइन, आफूलाई जनप्रतिनिधिका रूपमा स्थापित गर्ने हो ।
रूपन्देही–३ को सन्दर्भमा डा. थापाले अघि सारेको एजेन्डा—शिक्षा, स्वास्थ्य र आत्मनिर्भरता—केवल नारा होइन, एक पेशागत दृष्टिकोणबाट आएको विकास दृष्टिकोण हो । अस्पतालमा उपचार गर्ने चिकित्सकको हैसियतबाट, अब संसदमा नीति निर्माण गर्ने जनप्रतिनिधिको हैसियतमा रूपान्तरण हुन खोजिएको हो । यसले राजनीतिमा पेशागत वर्गको सहभागिता बढाउन सक्छ ।
आज नेपाली राजनीति गहिरो संकटको अवस्थामा छ । जनता निराश छन्, नेतृत्वमाथि विश्वास खस्किँदै छ । यस्तो अवस्थामा डा. थापा जस्ता पात्रको प्रवेशले राजनीति सुधार्न सकिन्छ भन्ने सन्देश दिन सक्छ । तर, त्यो सन्देश सफल बनाउन उनी स्वयंको प्रतिबद्धता मात्र होइन, मतदाताको विवेक, दलको संयमता र समाजको समर्थन आवश्यक छ ।
रास्वपाले उम्मेदवार छनोटको पारदर्शी अभ्यास गर्दै ठुलो बहस सुरु गर्यो । अब त्यो बहसको अन्तिम परीक्षण भनेको मतपेटिका हो । यदि डा. थापा विजयी भए, त्यो केवल व्यक्तिको जित होइन—पद्धतिको जित हुनेछ । र त्यो जितले नेपालको समग्र उम्मेदवार छनोट प्रक्रियालाई नयाँ मोड दिन सक्छ ।
यही कारण—यो उपनिर्वाचन एउटा सांसद छान्ने निर्वाचन मात्रै होइन, नेपाली लोकतन्त्रमा प्रक्रिया र चरित्रको घनिभूत परीक्षण पनि हो ।