पनौती / राजन प्रसाद दाहाल
पनौती नगरपालिकाको सभाहलमा ऐतिहासिक भृकुटी जन्मघर निर्माणका विषयमा बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सहरी विकास तथा भवन कार्यालय काभ्रे, पनौती नगरपालिका, भृकुटी स्मृति प्रतिष्ठान र कृष्ण इन्जिनियरिङ एन्ड डिजाइन कन्सल्टेन्सीको संयुक्त आयोजनामा सम्पन्न भएको हो।
कार्यक्रमको संयोजन भृकुटी स्मृति प्रतिष्ठानका अध्यक्ष विश्व उलकले गरेका थिए। उनले खोपासीको ऐतिहासिक स्वरूपबारे जानकारी गराउँदै खोपासीमा भृकुटीको जन्मघर स्थापना हुँदा पनौती मात्र नभई समग्र राष्ट्रकै हित हुने धारणा व्यक्त गरे।
कार्यक्रमको अध्यक्षता पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले गरेका थिए। उनले पनौतीको ऐतिहासिक तथा धार्मिक महत्व उल्लेख गर्दै रामायणकालीन र महाभारतकालीन धेरै अलिखित पौराणिक इतिहास पनौतीसँग जोडिएको बताए। पनौतीमै महासत्व बुद्धको जन्म भएको र यहीँबाट भृकुटी बुद्धको विवाह भई तिब्बत पुगेर बौद्ध धर्मको प्रचार–प्रसार भएको इतिहास पढ्दै आएको उल्लेख गर्दै, “हाम्रो इतिहास खोज्ने, संरक्षण गर्ने र विकास गर्ने दायित्व हामी स्वयंको हो,” भन्ने धारणा राखे।
यसैबीच कृष्ण इन्जिनियरिङ एन्ड डिजाइन कन्सल्टेन्सीका इन्जिनियर पारस महतले प्रस्तावित भवन निर्माण स्थल, भवनको स्वरूप र लागतसम्बन्धी प्रस्तुति दिएका थिए। उनले मल्लकालीन सबैभन्दा पुरानो मन्दिरलाई आधार मानेर भृकुटी जन्मघर निर्माण गरिने जानकारी दिए। उनका अनुसार भृकुटी जन्मघर निर्माणका लागि बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा १ करोड रुपैयाँ विनियोजन गरेको छ। भृकुटी जन्मघर निर्माणमा १३ करोड ३९ लाख रुपैयाँ र भृकुटी पार्क निर्माणमा ५ करोड २ लाख ४३ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ। दुबै आयोजना सम्पन्न गर्न करिब २६ करोड रुपैयाँ आवश्यक पर्ने उनको भनाइ थियो।
त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्व विभागका पूर्व विभागीय प्रमुख प्राध्यापक डा. सोमप्रसाद खतिवडाले भृकुटीको जन्म पनौतीमै भएको विषय केवल स्थानीय दाबीका आधारमा मात्र पुष्टि गर्न नहुने बताए। देशभरका विद्वान्हरूको सहभागितामा प्रमाणसहित व्यापक छलफल गरेर निष्कर्षमा पुग्नुपर्नेमा उनले जोड दिए। स्पष्ट प्रमाणसहित भृकुटी जन्मघर निर्माण गर्नुपर्ने र प्रमाण जुटेपछि पौराणिक शैलीमा निर्माण गरिनुपर्ने उनको धारणा थियो।
उक्त विभागकै पूर्व विभागीय प्रमुख प्राध्यापक डा. मदनकुमार रिमालले भृकुटी पनौतीमै जन्मिएको हो भन्ने आधारहरूबारे अनुसन्धानलाई निरन्तरता दिनुपर्ने र यहीँ हो भनेर ढुक्क भई बस्न नहुने बताए।
पाटन क्याम्पस ललितपुरकी प्राध्यापक डा. निर्मला पोखरेलले सत्य, तथ्य र प्रमाणका आधारमा अघि बढ्नुपर्ने बताइन्। उनले ‘भृकुटी जन्मघर’को सट्टा ‘भृकुटी जन्म नमुना घर’ निर्माण गर्ने अवधारणाबारे विचार गर्न सकिने सुझाव दिँदै अनुसन्धानलाई निरन्तरता दिनुपर्ने बताइन्। विभिन्न कारणले राजा–महाराजाहरू खोपासी क्षेत्रमा आएर बस्दा भृकुटीको जन्म भएको हुन सक्ने सम्भावनालाई पनि उनले औंल्याइन्।
पाटन क्याम्पसकै उप–उपप्राध्यापक उत्तरा खनालले पनौतीका विभिन्न क्षेत्रमा अंशुवर्मासँग सम्बन्धित किंवदन्ती तथा प्रमाणहरू भेटिएको र अंशुवर्मा तथा भृकुटीबीच बाबु–छोरीको सम्बन्ध रहेको मान्यताका आधारमा यहीँ भृकुटीको जन्म भएको हुन सक्ने तर्क प्रस्तुत गरिन्।
शहरी विकास तथा भवन कार्यालय काभ्रेका प्रमुख दुर्गा प्रसाद घिमिरेले भृकुटीसँग सम्बन्धित अभिलेख तथा शिलालेखबाट विषय प्रष्ट हुन सक्ने बताए। उनले सैद्धान्तिक अनुसन्धानमार्फत यथार्थ नजिक पुगेर मात्र जन्मघर निर्माणतर्फ अघि बढ्नुपर्ने धारणा राखे। “अहिले प्रारम्भिक बिन्दुमा छौं, यसलाई अनुसन्धानमार्फत टुंग्याउन सकिन्छ,” उनले भने।
कार्यक्रममा सहभागीहरूले पनि आ–आफ्ना धारणा राखेका थिए। पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले यो वा त्यो बहानामा भृकुटी जन्मघर निर्माणको प्रक्रिया रोकिनु नहुने बताएका छन् । अर्का सहभागी मायादेवी बादेले भृकुटीको जन्मस्थान खोपासी नै भएको ठोकुवा गर्दै सबैको साथ–सहयोगमा जन्मघर निर्माण गर्नुपर्ने बताइन्।
पनौती नगरपालिकाकी नगरसभा सदस्य तथा वडा नं. १० की वडा सदस्य सरिता अधिकारी नेपालले भृकुटी जन्मघर र भृकुटी पार्क निर्माणका लागि वडा भित्रका जनप्रतिनिधि र सरोकारवालाहरूको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन्। पत्रकार ज्ञानमणि नेपाल, स्थानीयहरु बुद्धि कट्टेल, अनिल केसी, बालकृष्ण फुयाँल लगायतले पनि कार्यक्रममा धारणा राखेका थिए।
अन्तरक्रियामा सहभागीहरूले यस्तो ऐतिहासिक कार्य गर्दा पनौतीका १२ वटै वडाका सरोकारवालाहरूको सहभागिता गराई व्यापक छलफल गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा शहरी विकास तथा भवन कार्यालय काभ्रेका प्रमुख दुर्गा प्रसाद घिमिरे, पुरातत्त्व विभागकी प्रमुख अमृता महर्जन, इन्जिनियर पारस महत, विभिन्न विश्वविद्यालयका प्राध्यापकहरू, स्थानीय जनप्रतिनिधि, सरोकारवाला तथा बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।




