सम्पादकीययस वर्षको मनसुन फेरि पनि देशका विभिन्न भागमा जनधनको क्षतिका साथ समाप्त भयो। जलवायु परिवर्तनका दीर्घकालीन असरहरूमध्ये बदलिँदो मौसमको अनिश्चितता अहिले नेपालका लागि गम्भीर चुनौती बन्दै गएको छ। मनसुनको उत्तरार्ध चरणमा परेको अविरल वर्षाले यसपालि पनि धेरै स्थानमा बाढी र पहिरोको रूप लिएर त्रास ल्यायो।
विशेषगरी काभ्रेको रोशी जलाधार क्षेत्र फेरि एकपटक विनाशको शिकार बन्यो। गत वर्ष दर्जनौंको ज्यान गुमेको र अर्बौंको क्षति भोगेको यही क्षेत्रमा यस वर्ष पनि समान प्रकृतिको समस्या दोहोरिनु साधारण कुरा होइन। प्रश्न उठ्छ ,किन हरेक वर्ष यिनै बस्तीहरूमा अधिक क्षति हुन्छ? किन अन्य जलाधार क्षेत्रको तुलनामा रोशी क्षेत्र नै बढी प्रभावित रहन्छ?
स्थानीय बासिन्दा र केही प्राविधिकहरूको तर्क छ,डाँडाकाँडामा डोजर प्रयोग गरेर गरिएको अव्यवस्थित सडक निर्माण, अनियन्त्रित ढुंगा–गिट्टी खानी, र क्रसर उद्योगबाट निस्कने फोहर तथा माटो खोलामा मिसिनु नै बाढीको प्रमुख कारण हो। यी कार्यहरूले खोलाको प्राकृतिक वहाव अवरुद्ध गरेर बस्तीमाथि सीधा जोखिम सिर्जना गरेका छन्। तर विडम्बना यो छ कि नीति निर्माण तहदेखि जनप्रतिनिधिसम्म, अधिकांश जिम्मेवार निकाय यस विषयमा मौन छन्।
रोशी जस्तै अन्य खोलाहरू पनि लामो मुहानका छन्, तर त्यहाँ क्षति न्यून छ। यसको अर्थ समस्या केवल प्राकृतिक होइन, मानव निर्मित पनि हो। अनियोजित विकास, बिना अध्ययनको सडक निर्माण र खानी संचालनले पहाडको स्थायित्व कमजोर पार्दै लगेको कारण पनि क्षति बढेको आँकलन गर्न सकिन्छ।
अब आवश्यक छ रोशी जलाधार क्षेत्रमा विशेष अध्ययन टोली गठन गरी यसको वैज्ञानिक विश्लेषण गरिनु। हरेक वर्ष क्षति भोग्नुभन्दा पनि दीर्घकालीन समाधानको बाटो रोजिनुपर्छ। जलाधार व्यवस्थापन, नदी संरक्षण, खानी नियमन, र निर्माण कार्यमा वातावरणीय प्रभाव मूल्यांकन अनिवार्य बनाइनु जरुरी छ।
रोशी क्षेत्र केवल काभ्रेको मात्र नभई सम्पूर्ण मध्य पहाडी भेगको प्रतिनिधि उदाहरण हो। यदि आज यस क्षेत्रलाई बेवास्ता गरियो भने भोलि अन्य जलाधारहरू पनि यही बाटोमा अघि बढ्नेछन्। त्यसैले अब ढिलाइ नगरौं रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं।