राजन प्रसाद दाहाल
काभ्रे – प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसबाट नाम सिफारिस भएका बिदुर बहादुर बस्नेत धुलिखेल क्षेत्रका उदयमान र प्रभावशाली नेताका रूपमा पुनः चर्चामा आएका छन्।
वि.सं. २०२८ असार १५ गते धुलिखेल–२ मा जन्मिएका बस्नेत प्रारम्भदेखि नै राजनीतिमा सक्रिय व्यक्तित्वका रूपमा परिचित छन्। जनमोर्चाबाट राजनीतिक यात्रा सुरु गरेका उनको पारिवारिक पृष्ठभूमि पनि राजनीतिमै जोडिएको छ।
नेपाली कांग्रेस प्रवेशपछि द्रुत उभार
वि.सं. २०६९ श्रावण १९ गते कांग्रेस प्रवेश गरेका बस्नेतले पार्टीमा प्रवेश गरेदेखि नै संगठन सुदृढीकरणमा निरन्तर भूमिका खेले।
इकाई सभापति, वडा सभापति हुँदै १४औँ महाधिवेशनबाट धुलिखेल नगर सभापति बनेका उनी संगठन निर्माणमा सफल नेता मानिन्छन्। धुलिखेल क्षेत्रमा बस्नेतलाई सहज, कर्मठ र जनधर्मी नेता मान्नेहरूको संख्या ठूलो छ।
२०७९ को स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारी चर्चित
स्थानीय तह निर्वाचन २०७९ मा कांग्रेस, माओवादी र समाजवादीबीच गठबन्धन हुँदा बस्नेतले धुलिखेलमा गठबन्धन आवश्यक छैन भन्दै स्वतन्त्र रूपमा ‘जेब्रा’ चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका थिए।
उनले सूर्य चिन्हका उम्मेदवारलाई कडा प्रतिस्पर्धा गरे पनि दोहोरो छापसम्बन्धी विवाद उत्पन्न भएपछि उनका २७१३ मत बदर भए र उनी ८४४ मतले पछि परे।
यद्यपि स्वतन्त्र उम्मेदवार भएर पनि उनले १ उपमेयर तथा १२ वडामा २९ जनप्रतिनिधि विजयी गराउन सफल हुँदै व्यक्तिगत प्रभाव अत्यन्तै बलियो रहेको प्रमाणित गरे।
समाज सेवामा निरन्तर सक्रियता
बस्नेत समाजसेवामा विशेष रूपमा परिचित छन्। उनी आफ्ना आम्दानीको करिब १० प्रतिशत हिस्सा शिक्षा, स्वास्थ्य तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा खर्च गर्दै आएका छन्।
उनको यही सेवामुखी शैलीका कारण काभ्रे–१ बाट प्रतिनिधिसभा निर्वाचनमा टिकट पाए उनी सहजै विजयी हुने चर्चा पार्टीभित्र र बाहिर तीव्ररूपमा भइरहेको छ।
टिकट पाए–नपाए पनि पार्टीप्रति निष्ठा कायम राख्ने प्रतिवद्धता
प्रतिनिधिसभा निर्वाचनका लागि नाम सिफारिस भएको पुष्टि गर्दै बस्नेतले टिकट पाए जनसेवामा पूर्ण समर्पित हुने र राज्यको सम्पत्तिमा लोभ नराख्ने स्पष्ट प्रतिवद्धता व्यक्त गरेका छन्।
त्यस्तै टिकट नपाए पनि पार्टीका आधिकारिक उम्मेदवारलाई तन–मनले सहयोग गर्ने बताउँदै उनले पार्टी एकता र लोकतान्त्रिक मूल्यप्रति आफ्नो निष्ठा दोहोर्याएका छन्।
काभ्रे क्षेत्र नं. १ मा बस्नेतको उम्मेदवारी सशक्त प्रतिस्पर्धाको संकेतको रूपमा हेरिएको छ।