गिम्दी/ सुभाने
वडास्तरीय अतिरिक्त क्रियाकलाप समितिको दोस्रो कार्यक्रम सोभाने आधारभूत विद्यालय, सुभानेमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम अतिरिक्त क्रियाकलाप समिति संयोजक पशुपति ज्ञामी मगरको सभापतित्वमा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष होम प्रसाद बजगाईंले यस्ता कार्यक्रमलाई आगामी दिनमा अझ बृहत्तर र निरन्तरता दिइने बताउँदै अतिरिक्त क्रियाकलापले विद्यार्थीको सिकाइ क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको धारणा व्यक्त गर्नुभयो।
अतिथि तथा सल्लाहकारका रूपमा सहभागी नारायणी माध्यमिक विद्यालयका प्रधानध्यापक ईश्वरप्रसाद सन्जेलले यस्ता कार्यक्रमले शिक्षक र विद्यार्थी दुवैलाई झकझक्याउँदै थप सक्रिय बनाउने वातावरण सिर्जना गरेको बताउनुभयो।
त्यसैगरी, अतिथि वडा सदस्य जयबहादुर भुलुनले वडाको तर्फबाट यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्दै यसले विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्न र शिक्षकहरूबीच समन्वयता कायम गर्न सहयोग पुर्याएको उल्लेख गर्नुभयो।
कार्यक्रमअन्तर्गत विभिन्न प्रतियोगिताहरू सम्पन्न भएका थिए। हाजिरी जवाफ प्रतियोगिता (कक्षा १–३) तर्फ प्रथम स्थान जनक माध्यमिक विद्यालयले हासिल गरेको छ भने द्वितीय नारायणी माध्यमिक विद्यालय र तृतीय मनकामना आधारभूत विद्यालय भएको अतिरिक्त क्रियाकलापका समितिका सचीव कृष्ण तिमल्सिनाले जानकारी दिनुभयो ।
त्यसैगरी, अङ्ग्रेजी हिज्जे प्रतियोगिता (कक्षा ४–५) मा जनक माध्यमिक विद्यालयकी सुप्रिया महर प्रथम भइन्। मनकामना आधारभूत विद्यालयका सन्देश भुलुन द्वितीय तथा जनक माध्यमिक विद्यालयकै सोहन बजगाईं तृतीय भएका छन्।
कार्यक्रमले विद्यालयस्तरमा सिर्जनात्मकता, प्रतिस्पर्धात्मक भावना र शैक्षिक गुणस्तर अभिवृद्धिमा सकारात्मक योगदान पुर्याएको सहभागीहरूले बताएका छन्। कार्यक्रम शिक्षक दिलिप आलेमगरले संचालन गर्नु भएको थियो ।