पनौती / काभ्रे
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काभ्रे जिल्ला समितिको आयोजनामा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता तथा एसइई ब्याच २०८१ का विद्यार्थीहरूको बिदाइ कार्यक्रम पनौतीमा भव्य रूपमा सम्पन्न भएको छ। विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा प्रस्फुटनसँगै नेपाली मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो आयोजकले बताएको छ ।
कार्यक्रम नेशनल प्याब्सन काभ्रेका जिल्ला अध्यक्ष सानू रोका ( बोधिकेश ) को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा पनौती नगरपालिकाकी उपप्रमुख गीता बन्जारा प्रमुख अतिथिका रूपमा सहभागी थिइन्। प्रतियोगिताको मूल्याङ्कन निर्णायक मण्डल सदस्य बिनोद कुमार श्रेष्ठ र सुरेन्द्र कुमार दाहालले गरेका थिए।
कार्यक्रमको सुरुवात सेन्टलम एल्बम एकेडेमीका विद्यार्थी भाइबहिनीहरूले प्रस्तुत गरेको स्वागत नृत्यबाट गरिएको थियो। स्वागत मन्तव्य नेशनल प्याब्सनका जिल्ला सदस्य रुजेन बन्जाराले राख्दै यस्ता सिर्जनात्मक तथा सांस्कृतिक कार्यक्रमले विद्यार्थीलाई पढाइसँगै सामाजिक र सांस्कृतिक चेतनामा पनि अघि बढाउने बताए। कार्यक्रमको सञ्चालन ग्रामीण पाठशालाका फाउन्डर प्रिन्सिपल बिदुर बहादुर भण्डारीले गरेका थिए।
प्रमुख अतिथि उपप्रमुख गीता बन्जाराले लोक नृत्य नेपाली समाजको पहिचान भएको उल्लेख गर्दै विद्यालयस्तरमै यसको संरक्षण आवश्यक रहेको बताइन्। उनले बदलिँदो जीवनशैली र प्रविधिको बढ्दो प्रभावका कारण मौलिक संस्कृतिमा चुनौती देखिएको भन्दै यस्ता प्रतियोगिताले नयाँ पुस्तालाई आफ्नै संस्कृति चिन्न र अपनाउन प्रेरित गर्ने धारणा राखिन्। “संस्कृति हराए पहिचान पनि हराउँछ, त्यसैले यसलाई जगेर्ना गर्नु हामी सबैको दायित्व हो,” उनले भनिन्।
लोक नृत्य प्रतियोगितामा नेशनल प्याब्सनअन्तर्गतका पाँचवटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रत्येक विद्यालयबाट जुनियर लेवल (कक्षा ३–५), मिडल लेवल (कक्षा ६–८) र सिनियर लेवल (कक्षा ९–१०) गरी तीन–तीन समूह सहभागी भएका थिए। सहभागी विद्यार्थीहरूले विभिन्न जातजाति, भेषभूषा र भाका समेटिएका नेपाली मौलिक लोक नृत्य प्रस्तुत गरेका थिए।
जुनियर लेवल (३–५) तर्फ उग्रचण्डी बोर्डिङ स्कुल प्रथम, ग्रामीण पाठशाला भकुण्डे द्वितीय र सेन्टलम एल्बम एकेडेमी पनौती तृतीय भएका छन्।
मिडल लेवल (६–८) तर्फ न्यु मोर्डन एकेडेमी बनेपा प्रथम, ग्रामीण पाठशाला भकुण्डे द्वितीय र उग्रचण्डी बोर्डिङ स्कुल तृतीय स्थानमा रहे।
सिनियर लेवल (९–१०) तर्फ न्यु मोडल एकेडेमी प्रथम, ग्रामीण पाठशाला द्वितीय र उग्रचण्डी बोर्डिङ स्कुल तृतीय स्थानमा रहन सफल भए।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने समूहहरूलाई मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरी सम्मान गरिएको थियो। साथै एसइई २०८१ मा उत्तीर्ण भएका विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गर्दै उज्ज्वल भविष्यको शुभकामना सहित औपचारिक बिदाइ गरिएको थियो।
नेशनल प्याब्सनले यस वर्षदेखि विद्यार्थीको शैक्षिक तथा नैतिक उत्कृष्टता कदर गर्ने उद्देश्यले ‘स्टुडेन्ट अफ द इयर अवार्ड’ को सुरुवात गरेको छ। पहिलो पटक प्रदान गरिएको उक्त अवार्ड एसइई २०८१ मा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल उग्रचण्डी बोर्डिङ स्कुलकी छात्रा गायत्री श्रेष्ठलाई प्रदान गरिएको छ । 
समापन सत्रका प्रमुख अतिथि पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले निजी तथा आवासीय विद्यालयहरू नाफामुखी मात्र नभई सेवा, अनुशासन र गुणस्तरीय शिक्षा प्रदान गर्ने केन्द्र हुनुपर्ने बताए। उनले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पढाइसँगै खेलकुद, कला, संस्कृति र अतिरिक्त क्रियाकलापलाई समान महत्व दिनुपर्नेमा जोड दिए। यस्ता कार्यक्रमले विद्यार्थीलाई आत्मविश्वासी, जिम्मेवार र सिर्जनशील नागरिक बनाउने उनको भनाइ थियो।
कार्यक्रममा नेशनल प्याब्सन बागमती प्रदेशका सहसचिव ईश्वर केसी, नेशनल प्याब्सनका केन्द्रीय सदस्य अग्नि प्रसाद ज्ञवाली, नेशनल प्याब्सनमा आबद्ध विद्यालयका प्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।




