ललितपुर
ललितपुर क्षेत्र नं. १ अन्तर्गत पर्ने गिम्दीमा दशकौँदेखि राजनीतिक वर्चस्व कायम राख्दै आएका नेपाली कांग्रेस र नेकपा एमाले प्रति स्थानीय मतदाताहरूको असन्तोष खुला रूपमा सतहमा आएको छ। प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा परम्परागत शक्तिलाई चुनौती दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पक्षमा स्पष्ट जनमत निर्माण हुँदै गएको स्थानीयको दाबी छ।
स्थानीय बासिन्दाहरूले विगतका निर्वाचनमा बारम्बार कांग्रेस–एमालेलाई जिताएर पठाए पनि आधारभूत पूर्वाधार, रोजगारी र जीवनस्तरमा ठोस परिवर्तन नआएको आरोप लगाएका छन्। “हामीले दशकौँ पुराना दललाई विश्वास गर्यौँ, तर उनीहरूले गाउँलाई प्रयोग मात्रै गरे,” गिम्दीका एक मतदाताले आक्रोश व्यक्त गरे।
युवापुस्तामा देखिएको राजनीतिक मोहभंग झन् तीव्र छ। उनीहरूका अनुसार पुराना दलप्रति विश्वास लगभग समाप्त भइसकेको छ। “हामीलाई भाषण र वाचा मात्रै सुनाइयो, विकास कहिल्यै देखिएन। पुराना दलले हाम्रो भरोसा तोडे,” स्थानीय युवाहरूको भनाइ छ।
यस क्षेत्रमा नेपाली कांग्रेसबाट सह–महामन्त्री उदय शमशेर राणा, एमालेबाट चेतनाथ सञ्जेल, रास्वपाबाट बुद्धरत्न महर्जन, नेपाल कम्युनिस्ट पार्टीबाट सुनिल महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टी बाट सजिना कार्की तथा उज्यालो नेपाल पार्टी बाट पदमकुमार लामा चुनावी प्रतिस्पर्धामा छन्।
मतदाताहरूले कांग्रेसमा परिवारवाद र एमालेमा जनताबाट टाढिँदै गएको नेतृत्व शैलीप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। “नेताको अनुहार चुनावमा मात्रै देखिन्छन्, त्यसपछि पाँच वर्ष हराउँछन्,” एक स्थानीयले भने, “हामीले धेरै पटक अवसर दियौँ, अब फेरि उही गल्ती दोहोर्याउने मन छैन।”
गिम्दी लगायत ललितपुर–१ का विभिन्न बस्तीमा अहिले देखिएको जनमत परिवर्तनले कांग्रेस–एमालेको दीर्घकालीन राजनीतिक पकड कमजोर हुँदै गएको संकेत गरेको स्थानीय विश्लेषकहरू बताउँछन्। “यसपटक पुराना दलको विरासत तोडिने सम्भावना बलियो छ,” उनीहरूको भनाइ छ।
यद्यपि मतदाताहरू सबै दलप्रति पूर्ण विश्वस्त छैनन्, तर पुराना दलप्रति रहेको निराशा र विकल्प खोज्ने मनोविज्ञानले रास्वपा पक्षमा लहर जस्तै वातावरण सिर्जना गरेको उनीहरू बताउँछन्। सबै पार्टी उस्तै देखिए पनि परिवर्तनको सम्भावना नयाँ शक्तिमै छ गिम्दीकै अर्का मतदाताले भने, “यसपटक गिम्दीले सन्देश दिन्छ, पुराना दलको एकाधिकार अब अन्त्यतिर छ।”




