पनौती, काभ्रे
जब काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा पुगियो त्यहाँ छुट्टै माहोल थियो । उक्त माहोल रहेछ काभ्रे शैक्षिक महोत्सवको । महोत्सव स्थलमा पुग्दा विद्यालय परिसर नै सृजनात्मक गतिविधिले भरिएको देखिन्थ्यो। कतै विद्यार्थीहरू खाजा पकाउँदै थिए भने कतै चटपट बनाउँदै आफ्ना पाककलाका सीप देखाइरहेका थिए। कोही चित्र बनाउँदै थिए, कोही विज्ञानका विभिन्न सामग्री र प्रयोगहरू प्रदर्शन गर्दै थिए। कतै विद्यार्थीहरू नाच्दै–गाउँदै थिए भने कतै शैक्षिक खेलहरू खेल्दै र खेलाउँदै ज्ञान आदानप्रदान गरिरहेका देखिन्थे।
विद्यार्थीहरूको सृजनशीलता, व्यवहारिक ज्ञान र समग्र व्यक्तित्व विकासलाई केन्द्रमा राख्दै पनौती–४ स्थित काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयले काभ्रे शैक्षिक महोत्सव–२०८२ आयोजना गरेको छ। काभ्रे शिक्षा विकास प्रतिष्ठानद्वारा सञ्चालित उक्त विद्यालयले “Education for Peace, Creativity and Excellence” भन्ने मूल नारासहित महोत्सव आयोजना गरेको हो।
महोत्सवको उद्घाटन पनौती क्षेत्रका शिक्षा क्षेत्रका अग्रज व्यक्तित्व राम प्रसाद अधिकारीले रिबन काटेर गरेका थिए। विद्यालयहरूले केवल पाठ्यपुस्तकमा सीमित ज्ञानभन्दा पनि व्यवहारिक र सिर्जनात्मक शिक्षामा जोड दिनु आवश्यक रहेकाले यश किसिमको कार्यक्रम राखेको बिद्यालयले जनाएको छ ।
विद्यालयका प्रिन्सिपल वसन्त नेपालले विद्यार्थीहरूको सर्वाङ्गिण विकास, सृजनात्मक क्षमता अभिवृद्धि तथा सैद्धान्तिक ज्ञानलाई व्यवहारसँग जोड्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए ।
महोत्सवका प्रमुख आकर्षणहरूमा गायन तथा ब्याण्ड प्रतियोगिता, गणित, विज्ञान, नेपाली, सामाजिक र अङ्ग्रेजी विषयका विभागीय प्रदर्शनी, चित्रकला तथा हस्तलेखन प्रदर्शनी लगायतका कार्यक्रम रहेका थिए। साथै विद्यार्थीहरूले तयार पारेका विभिन्न शैक्षिक सामग्री, विज्ञानसम्बन्धी नमूना र सिर्जनात्मक प्रस्तुतीकरणले महोत्सवलाई अझ रोचक बनाएको थियो ।
त्यसैगरी कार्यक्रममा पाककला प्रदर्शन पनि गरिएको थियो, जसमा विद्यार्थीहरूले विभिन्न परिकार तयार पारेर आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।
काभ्रे शैक्षिक महोत्सवमा छिमेकी बिद्यालयहरु जसमा सामुदायिक तथा निजी विद्यालयका विद्यार्थी र शिक्षकहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो। विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका विद्यार्थी र अभिभावकहरूको पनि राम्रो सहभागिता देखिएको थियो।
यसैबीच विद्यालयले चैत्र ३ गते मंगलबार प्लेग्रुपदेखि कक्षा १ सम्मका साना विद्यार्थीहरूले तयार पारेका शैक्षिक सामग्री तथा सिर्जनात्मक प्रदर्शनी प्रस्तुत गर्ने कार्यक्रम तय गरेको प्रिन्सिपल बसन्त नेपालले जानकारी दिएका छन् । यस्ता गतिविधिमार्फत विद्यार्थीहरूमा अध्ययनप्रति रुचि बढाउने, सिर्जनशीलता विकास गर्ने र व्यवहारिक ज्ञानको विस्तार गर्ने उनको भनाइ थियो ।