ललितपुर/ गोटिखेल
महाङ्काल गाउँपालिका ले सामाजिक सञ्जालमा ‘genz mahakal’ नामक नक्कली (Fake ID) बाट फैलाइएका भ्रामक र आधारहीन सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। गाउँपालिकाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत यस्ता सामग्री पूर्ण रूपमा असत्य रहेको स्पष्ट पार्दै नागरिकलाई सचेत रहन आग्रह गरेको हो।
गाउँपालिकाका अनुसार पछिल्लो समय उक्त फेक आइडीमार्फत जनप्रतिनिधि तथा कर्मचारीलाई लक्षित गर्दै कपोलकल्पित र भ्रम सिर्जना गर्ने सामग्रीहरू सार्वजनिक हुँदै आएका छन्। यस्ता गतिविधिले सामाजिक सद्भावमा खलल पुर्याउने मात्र नभई संस्थागत प्रतिष्ठामा समेत नकारात्मक असर पार्ने भन्दै गाउँपालिकाले चिन्ता व्यक्त गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “भ्रामक सूचना फैलाउने कार्यमा संलग्न व्यक्ति वा समूहको पहिचान गरी आवश्यक कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइसकिएको छ।” साथै, तथ्य पुष्टि नगरी यस्ता सामग्री share, like वा comment नगर्न सम्पूर्ण नागरिकलाई आग्रह समेत गरिएको छ।
गाउँपालिकाले आफ्ना कामकारबाही पारदर्शिता, सुशासन र जनउत्तरदायित्वको सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै गलत सूचना विरुद्ध सजग रहन सबै पक्षसँग अनुरोध गरेको छ।
यसैबीच, केही सामग्रीमा राष्ट्रिय स्वतन्त्र पार्टी महाङ्काल गाउँपालिकास्तरीय समितिको नाम जोडिएको विषयमा उक्त समितिले आफ्नो संलग्नता नरहेको स्पष्ट पारिसकेको जानकारी पनि विज्ञप्तिमा दिइएको छ।