एकजना अफ्रिकी किसानले सुनको खानीको छेउमा जीवन धान्ने संघर्ष गरिरहेका छन्, उता मस्कोको एक कन्सर्ट हलमा गायकको स्वरको सट्टा गोलाबारुदको आवाज गुञ्जिरहेको छ। एउटै वर्ष, एउटै ग्रह, तर आतंकको अनुहार फरक—यही हो ‘ग्लोबल टेररिज्म इन्डेक्स २०२५’ को चेतावनी।
अहिले आतंकवादको परिभाषा सन् २००१ को ९/११ घटनाको सन्दर्भभन्दा धेरै फरक छ। यसको भूगोल सारिएको छ, स्वरुप बदलिएको छ, र प्राविधिक परिष्कार भएको छ। अन्तर्राष्ट्रिय शान्ति र द्वन्द्व सम्बन्धी अनुसन्धानमा क्रियाशील ‘इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पीस’ (IEP) ले हालै सार्वजनिक गरेको सूचकांकका अनुसार, सन् २०२४ मा ७,५५५ जनाको मृत्यु आतंकवादी गतिविधिका कारण भएको थियो— अघिल्लो वर्षको तुलनामा १३% ले कम। तर त्यो कमी हार होइन, केवल रणनीति फेरिएको संकेत हो।
सन् २०१५ मा मध्यपूर्व आतंकवादको मुख्य अखडा थियो। अब त्यो स्थान साहेल क्षेत्रमा सारिएको छ। सन् २०२४ मा विश्वभरिका आतंकवादी मृत्युमध्ये ५१% साहेलमै भए। बुर्किना फासो, नाइजर, माली, नाइजेरिया र चाडजस्ता देशहरू आतंकको अग्रपंक्तिमा परेका छन्।
साहेल क्षेत्रमा झन्डै २५,००० युद्धसम्बन्धी मृत्युहरू र ३,८८५ आतंकवादी हत्या दर्ज गरिए। विश्वको सुन उत्पादन, युरेनियम निर्यात, र रणनीतिक सैन्य स्थायित्वको हिसाबले महत्त्वपूर्ण मानिने यो क्षेत्र आज इस्लामिक स्टेट (IS), जमात नुसरत अल-इस्लाम वल मुस्लिमीन (JNIM) जस्ता समूहहरूको रणभूमि बनेको छ।
रूस र चीनसँगको सहकार्यलाई प्राथमिकता दिँदै साहेल राष्ट्रहरूले पश्चिमी देशहरूको सुरक्षात्मक संलग्नता घटाइरहेका छन्। यो शक्ति सन्तुलनमा आएको परिवर्तनले चरमपन्थीहरूको प्रभाव विस्तारको ढोका खोलेको छ।
इस्लामिक स्टेट (IS) र तिनका सहायक संगठनहरू २२ देशमा सक्रिय रहे। सन् २०२४ मा मात्र उनीहरूले १,८०५ जनाको ज्यान लिएका थिए। विशेषगरी सिरिया, डेमोक्रेटिक रिपब्लिक अफ कंगो, र अफगानिस्तानमा IS को प्रभाव कायमै छ।
इस्लामिक स्टेट–खोरासान प्रदेश (ISK) ले अफगानिस्तान पार गरेर पाकिस्तान, इरान, रूस, र मध्य एशिया हुँदै यूरोपसम्म आफ्नो जाल फैलाउँदै छ। सन् २०२४ मा ISK ले इरान र रूसमा गरिएका दुई डरलाग्दा आक्रमणको जिम्मेवारी लिएको थियो, जसमा क्रमशः ९५ र १४४ जनाको मृत्यु भएको थियो।
ISK ले बहुभाषिक, AI-सहायता प्राप्त प्रचार सामाग्री उत्पादन गर्दै दक्षिण तथा मध्य एसियाका युवाहरूलाई लक्षित गर्दै आएको छ। उनीहरूले निर्माण गरेका भिडियो, म्यागजिन र सन्देशहरू अहिले उर्दू, फारसी, अंग्रेजी, र रुसी भाषासमेतमा उपलब्ध छन्।
पश्चिमी मुलुकहरूमा आतंकवादको स्वरुप फेरिएको छ। अब कुनै संगठित समूह होइन, इन्टरनेटबाट प्रभावित एक्ला किशोरहरू आक्रमणकारी बनिरहेका छन्। सन् २०२४ मा युरोपमा मात्र ६७ आतङ्कवादी हमला भएका थिए, जुन अघिल्लो वर्षको तुलनामा दोब्बर हो। यस्ता घटनाहरूमा एकपाँच भाग अपराधीहरू नाबालक थिए।
स्विडेन, अस्ट्रेलिया, फिनल्याण्ड, नेदरल्याण्ड, डेनमार्क र स्वीट्जरल्यान्ड जस्ता देशहरूमा पहिल्यै आतंक नदेखिएको अवस्थामा अहिले धमाकाहरू भइरहेका छन्। यसले पश्चिमी सुरक्षाको दृष्टिकोणमा पुनः मूल्याङ्कन आवश्यक बनाएको छ।
प्रविधिको प्रयोग अब केवल सरकारी निकायहरूको होइन। आर्टिफिसियल इन्टेलिजेन्स, डार्क वेब, एन्क्रिप्टेड च्याट एप्स—यिनै माध्यमबाट IS जस्ता संगठनहरूले प्रचार, भर्ती, र निर्देशन सबै अनलाइनबाट सञ्चालन गरिरहेका छन्।
Deepfake भिडियो, टेलिग्राम जस्ता प्लेटफर्महरूमा बन्द सर्कलहरू, अनि गेमिङ फोरमहरूमार्फत आतंकवादको आभासी संसार बनाइएको छ। यस्तो प्रवृत्तिले केवल सुरक्षाकर्मीको हैन, आम नागरिकको सचेतनालाई पनि चुनौती दिएको छ।
नेपाल सन् २०२५ को सूचकांकमा ६८औं स्थानमा छ—यो अघिल्लो वर्षको तुलनामा २० स्थानले सुधारिएको हो। सन् २००७ देखि अहिलेसम्म नेपालमा आतंकको प्रभाव न्यून रहेको छ, तर दक्षिण एशियाको बदलिंदो चित्रले नेपाललाई पनि सावधानी अपनाउन सन्देश दिन्छ।
पाकिस्तानमा आतंकवादी मृत्यु ४५% ले बढेको छ। TTP (तेहरीक-ए-तालिबान पाकिस्तान) को प्रभाव पुनः चुलिएको देखिन्छ। यो स्थितिले क्षेत्रीय अस्थिरता बढाउने मात्र होइन, मानव तस्करी, शरणार्थी समस्या र आपसी कूटनीतिक तनाव समेत निम्त्याउन सक्छ।
आजको आतंकवाद केवल बन्दूकधारीहरूको युद्ध होइन। यो एउटा प्रवृत्ति हो, जुन असमानता, राजनीतिक विफलता, सामाजिक विखण्डन र प्रविधिको दुरुपयोगबाट पोषित हुन्छ।
Global Terrorism Index 2025 को विश्लेषणले देखाउँछ कि युद्धले केवल आफ्नो रंग फेरेको छ, गहिराइ अझ बढेको छ। अबको चुनौती यो हो—कसरी राज्यहरू, समाजहरू र नागरिकहरूले आपसी सहकार्य, प्रविधिको सदुपयोग र दीर्घकालीन दृष्टिकोणमार्फत शान्ति स्थापनाको नयाँ मोडेल निर्माण गर्ने?
किनभने प्रश्न एउटै छ—अब पनि हामी केवल सुरक्षा बलमाथि मात्र भरोसा राख्ने कि शान्तिको संरचनात्मक जग खडा गर्ने?