धुलिखेल/काभ्रे
आगामी असार २६ र २७ गते धुलिखेल नगरपालिकामा बृहत रोजगार मेला आयोजना हुने भएको छ। नमुना रोजगार सेवाअन्तर्गत प्रदेशस्तरमा छानिएका तीन नगरपालिकामध्ये धुलिखेलमा हुन लागेको यो विशेष मेलाले स्थानीय युवाहरूलाई रोजगारीका महत्त्वपूर्ण अवसरहरू प्रदान गर्ने लक्ष्य राखेको छ। नगरपालिकाले यस मेलालाई स्थानीय अर्थतन्त्र सुदृढ गर्दै बेरोजगारी समस्या न्यूनीकरण गर्ने एक महत्वपूर्ण कदमका रुपमा लिएको छ।
बिहिवार नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा वडा नं ३ का अध्यक्ष तथा रोजगार मेला व्यवस्थापन समितिका संयोजक गणेश आचार्य र प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले संयुक्त रूपमा मेलाको तयारी र यसबाट हुने लाभहरूबारे विस्तृत जानकारी गराएका थिए। उनीहरुले यो मेलाले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै युवा पलायन रोक्न पनि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
नगरभित्रका नागरिकहरूलाई सीप र क्षमताअनुसारको रोजगारी दिलाउने मुख्य उद्देश्यका साथ आयोजना हुन लागेको यो मेलामा रोजगारदाता र रोजगारी खोज्नेहरूबीच सम्बन्ध स्थापित गराइने बताइएको छ । यसले गर्दा दुवै पक्षलाई एकअर्काको आवश्यकता बुझ्न र उचित तालमेल मिलाउन सहज हुनेछ। यस मेलाका लागि करिब चार लाख रुपैयाँ खर्च अनुमान गरेको छ भने सहभागी हुने सबै रोजगारदाता संस्थाहरूलाई निःशुल्क स्टल उपलब्ध गराउने व्यवस्था मिलाएको छ।
यस मेलामार्फत कम्तीमा १०० जनालाई तत्काल रोजगारी प्रदान गर्ने लक्ष्य लिएको संयोजक आचार्यले बताए । यो लक्ष्य हासिल गर्नका लागि विभिन्न क्षेत्रका रोजगारदाताहरूसँग समन्वय भइरहेको उनको भनाइ थियो । उनी भन्छन् “हालसम्म प्राप्त तथ्यांकअनुसार धुलिखेलका होटल व्यवसायीहरूले मात्रै झन्डै ५० जना जनशक्तिको माग गरिसकेका छन्, यो माग अझै बढ्ने अपेक्षा गरिएको छ।”
धुलिखेल नगरपालिकाले यस रोजगार मेलालाई भव्यताका साथ सफल बनाउन आवश्यक सबै तयारीहरू तीव्र रूपमा गरिरहेको छ। मेलाले धुलिखेलका युवाहरूका लागि नयाँ अवसरका ढोकाहरू खोल्ने र उनीहरूको उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।