• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ अषाढ ३२, बिहिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

      ५ दिन अघि

      वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

      १ हफ्ता अघि

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      १ हफ्ता अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      १ हफ्ता अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      २ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      २ हफ्ता अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      २ हफ्ता अघि

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      ३ हफ्ता अघि

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      ४ हफ्ता अघि

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      ४ हफ्ता अघि

      नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

      १ महिना अघि

      जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

      १ महिना अघि

      सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

      १ महिना अघि

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      १ महिना अघि

      इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

      १ महिना अघि
    in
    आज: २०८३ अषाढ ३२, बिहिबार
    होमपेज /  अन्तरवार्ता

    चौरीदेउराली दोस्रो कर्णाली होइन, सम्भावना बोकेको गाउँ बन्दै छ ।

  • राजन दाहाल
  • २०८३ जेष्ठ १८, सोमबार (१ महिना अघि)
  • १६४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २९ मिनेट
  • काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका कुनै समय दुर्गमता, गरिबी, सडक अभाव र आधारभूत सेवाको न्यून पहुँचका कारण ‘काभ्रेको दोस्रो कर्णाली’ भनेर चिनिन्थ्यो। स्वास्थ्य उपचारका लागि बिरामीलाई डोकोमा बोकेर धुलिखेल वा काठमाडौं लैजानुपर्ने अवस्था, खानेपानीका लागि घण्टौँ हिँड्नुपर्ने बाध्यता र सामान्य उपभोग्य सामग्री ल्याउन समेत दिनभरको यात्रा गर्नुपर्ने अवस्था यहाँका नागरिकले भोगेका थिए। पछिल्ला वर्षहरूमा भने गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी र पूर्वाधार विकासका क्षेत्रमा विभिन्न कार्यक्रम अघि बढाएको छ। यद्यपि विकासका प्रयाससँगै जनसंख्या घट्दै जानु, बाँझो जमिन बढ्नु, वन्यजन्तुको आतंक र रोजगारीका लागि बसाइँसराइको समस्या भने चौरीदेउराली  गाउँपालिकामा अझै चुनौतीका रूपमा छन्। यिनै विषयमा केन्द्रित रहेर चौरीदेउराली गाउँपालिकाकि अध्यक्ष रेणुका चौलागाईंसँग राजन प्रसाद दाहालले गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

    चौरीदेउराली गाउँपालिका बनाउन के–कस्ता प्रयासहरू भइरहेका छन् ?

    चौरीदेउराली गाउँपालिकामा मेरो कार्यकालको चार वर्ष पूरा हुन लागेको छ। अब एक वर्ष बाँकी छ। यो अवधिमा गाउँपालिकाभित्र धेरै काम भएका छन्। सबै कुरा पूर्ण रूपमा भयो भनेर म भन्दिनँ, तर नागरिकले महसुस गर्ने खालका परिवर्तनहरू भएका छन् भन्ने लाग्छ। विशेषगरी स्वास्थ्य, शिक्षा, कृषि र खानेपानीका क्षेत्रमा हामीले प्राथमिकता दिएका छौँ। यहाँका नागरिकका आधारभूत आवश्यकता नै स्वास्थ्य, शिक्षा, खानेपानी र कृषि हुन्। अधिकांश मानिसको मुख्य आयस्रोत कृषि भएकाले कृषि क्षेत्रमा पनि धेरै कार्यक्रम सञ्चालन गरेका छौँ।

    हामीसँग आन्तरिक आम्दानी धेरै छैन। स्रोतसाधन सीमित छन्। त्यसका बाबजुद उपलब्ध स्रोतलाई अधिकतम उपयोग गरेर नागरिकको जीवनस्तर सुधार गर्ने प्रयास गरिरहेका छौँ। गाउँपालिकाको विकास केवल भवन बनाउने कुरा मात्र होइन, नागरिकको दैनिक जीवनलाई सहज बनाउने कुरा पनि हो। त्यसैले सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउनेतर्फ पनि ध्यान दिएका छौँ। पूर्वाधार निर्माणसँगै स्वास्थ्य सेवा विस्तार, विद्यालयको अवस्था सुधार, खानेपानीको पहुँच बढाउने र कृषिलाई व्यवसायिक बनाउने कामलाई प्राथमिकताका साथ अघि बढाइरहेका छौँ।

    हिजो कोशीपारी भन्नेबित्तिकै सदरमुकामबाट टाढा, विकट र पछाडि परेको क्षेत्र भन्ने बुझिन्थ्यो। हिजोको र आजको चौरीदेउरालीमा के परिवर्तन आएको छ ?

    धेरै परिवर्तन आएको छ। हिजो हामी चौरीदेउराली गाउँपालिकालाई काभ्रेको दोस्रो कर्णाली भनेर चिन्थ्यौँ। पहिलो कर्णाली महाभारत क्षेत्रलाई भनिन्थ्यो भने हामीलाई दोस्रो कर्णाली भनेर चिनिन्थ्यो। कारण पनि त्यस्तै थियो। सडकको पहुँच अत्यन्त कमजोर थियो। प्रत्येक वडामा पुग्ने सडक थिएन। यहाँबाट नुन बोक्नका लागि दोलालघाटसम्म जानुपर्ने अवस्था थियो। मैले आफैँले पनि नुन बोकेको छु। भारी बोकेर उकालो चढ्दा ढाडका छाला खुइलिन्थे।

    त्यतिबेला एक बोरा मकै पिस्न चौरीखोलासम्म दिनभरि हिँड्नुपर्थ्यो। गाउँमा सेवा सुविधा थिएनन्। कोही बिरामी भयो भने मानिसले डोकोमा बोकेर धुलिखेल, बनेपा वा काठमाडौं लैजानुपर्थ्यो। महिला सुत्केरी गराउन काठमाडौं लैजानुपर्ने अवस्था थियो।

    आज त्यो अवस्था धेरै परिवर्तन भएको छ। अहिले १५ शैय्याको अस्पताल निर्माण भइरहेको छ। डिजिटल एक्स–रे सेवा सञ्चालनमा आएको छ। आवश्यक ल्याब उपकरणहरू पनि ल्याइसकेका छौँ। नगर अस्पतालमा एक्स–रे सेवा सुरु भइसकेको छ। अहिले बिरामीले सामान्य स्वास्थ्य सेवाका लागि बाहिर धाउनुपर्ने बाध्यता धेरै हदसम्म कम भएको छ।

    गाउँपालिकामा पाँचवटा एम्बुलेन्स सञ्चालनमा छन्। तीनवटा अस्पतालको सेवामा छन् भने दुईवटा वडा नम्बर ३ र ७ मा राखिएका छन्। आकस्मिक अवस्थामा नागरिकले तुरुन्त सेवा पाउने अवस्था बनेको छ।

    खानेपानीको समस्या पनि पहिले निकै गम्भीर थियो। पाँच वटा वडालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ । पहिले महिलाहरू गाग्री बोकेर घण्टौँ हिँडेर पानी ल्याउन बाध्य थिए। अहिले ‘एक घर एक धारा’ अभियान सञ्चालन गरिरहेका छौँ। चौरीखोलादेखि धोकेडाँडासम्म पानी ल्याएर नागरिकलाई सेवा दिइरहेका छौँ। अहिले करिब ८० प्रतिशत घरधुरीमा धाराको पहुँच पुगेको छ।

    शिक्षामा पनि परिवर्तन आएको छ। पहिले चकटी र गुन्द्री बोकेर विद्यालय जानुपर्थ्यो। भवन र शिक्षकको अभाव थियो। अहिले विद्यालय भवन बनेका छन्, डेस्क–बेन्च पुगेका छन् र शैक्षिक वातावरण सुधार भएको छ। एसईई परीक्षा गाउँपालिकाभित्रै सञ्चालन हुने अवस्था बनेको छ।

    गाउँपालिकामा भवन, अस्पताल र अन्य पूर्वाधार बन्दै छन्, तर गाउँमा जनसंख्या घट्दै गएको देखिन्छ। यसलाई कसरी हेर्नुहुन्छ ?

    यो समस्या चौरीदेउरालीको मात्र होइन। देशभरका गाउँपालिकाको साझा समस्या हो। हामी सहरसँग नजिक छौँ। दुई घण्टामै काठमाडौं पुगिन्छ। रोजगारी, शिक्षा र सुविधाको खोजीमा मानिसहरू गाउँ छोडिरहेका छन्।

    हाम्रो मतदाता संख्या करिब २२ हजार छ। तर गाउँमा बस्ने वास्तविक जनसंख्या त्यो अनुपातमा छैन। धेरै युवा विदेश गएका छन्। परिवारका सदस्य काठमाडौं वा अन्य शहरमा बस्छन्। बच्चाहरू पनि त्यहीँ पढ्छन्।बहामीले युवालाई गाउँमै रोक्ने प्रयास गरिरहेका छौँ। विदेशबाट फर्किएका युवालाई केही गरून् भनेर अनुदानका कार्यक्रम ल्याएका छौँ। महिलाहरूलाई सीपमूलक तालिम दिएका छौँ। स्वरोजगारका कार्यक्रम सञ्चालन गरेका छौँ। कृषि र पशुपालनमा आकर्षित गर्न विभिन्न सहयोग गरिरहेका छौँ।

    तर मान्छेको सोच पनि बदलिएको छ। विदेशमा १८ घण्टा काम गर्न तयार हुने मानिस आफ्नै गाउँमा ८ घण्टा काम गर्न तयार हुँदैन। यो प्रवृत्ति पनि चुनौती बनेको छ। गाउँमा अवसर सिर्जना गर्नुका साथै श्रमप्रतिको दृष्टिकोणमा पनि परिवर्तन आवश्यक छ।

    कृषिमा गाउँपालिकाले के–कस्ता काम गरिरहेको छ ?

    हाम्रो गाउँपालिका कृषि प्रधान क्षेत्र हो। त्यसैले कृषिलाई विशेष प्राथमिकता दिएका छौँ। कृषकलाई ५० प्रतिशत अनुदानमा कुटानी–पिसानी मिल उपलब्ध गराएका छौँ। हाते ट्याक्टर वितरण गरेका छौँ। मकै छोडाउने मेसिन, विषादी छर्ने मेसिन लगायतका कृषि उपकरण वितरण गरेका छौँ। सरकारले दिने मलको ढुवानी खर्च गाउँपालिकाले व्यहोर्ने व्यवस्था गरेका छौँ। कृषकलाई सहज रूपमा मल उपलब्ध गराउने प्रयास गरेका छौँ।

    ‘एक वडा एक उत्पादन’ कार्यक्रम सञ्चालन गरेका छौँ। वडा नम्बर १ मा चिया र रैथाने बाली, वडा नम्बर २ मा अकबरे खुर्सानीको पकेट क्षेत्र विकास गरिरहेका छौँ। अन्य वडामा पनि स्थानीय सम्भावनाअनुसार उत्पादन केन्द्रित कार्यक्रम सञ्चालन भइरहेका छन्। केही किसानले राम्रो आम्दानी पनि गरिरहनुभएको छ। अकबरे खुर्सानी खेतीबाट केही कृषकले वार्षिक ५ लाखदेखि १२/१३ लाख रुपैयाँसम्म आम्दानी गरिरहनुभएको छ। वडा नम्बर ५ मा पोल्ट्री व्यवसाय गरेर अण्डा रामेछापसम्म पुर्‍याउने कृषक पनि हुनुहुन्छ। हामीले कृषि एम्बुलेन्ससमेत सञ्चालनमा ल्याएका छौँ। उत्पादनलाई बजारसम्म पुर्‍याउने प्रयास गरिरहेका छौँ। तर उत्पादन कम हुनु र बजार टाढा हुनु अझै चुनौतीका रूपमा छन्। किसानले पाउनुपर्ने मूल्य किसानले नपाउने र बीचका व्यापारीले बढी फाइदा लिने समस्या अझै कायम छ।

    रोपाइँको समयमा पनि धेरै खेतीयोग्य जमिन बाँझो देखिन्छ। जमिनलाई खेतीयोग्य बनाउने वा उत्पादन बढाउने विषयमा गाउँपालिकाले के गरिरहेको छ ?

    यो वास्तवमै चिन्ताको विषय हो। चौरीदेउराली जस्तो कृषि प्रधान गाउँपालिकामा खेतीयोग्य जमिन बाँझो हुनु राम्रो संकेत होइन। तर यसको पछाडि विभिन्न कारण छन्। मुख्य कारण गाउँमा जनशक्ति कम हुँदै जानु हो। काम गर्ने उमेरका अधिकांश युवा रोजगारीका लागि विदेश वा शहरतिर गएका छन्। गाउँमा प्रायः बुढाबुढी मात्र बस्ने अवस्था छ।

    त्यसैले हामीले गाउँमै बस्ने कृषकलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेका छौँ। ‘एक वडा एक उत्पादन’ कार्यक्रम त्यसैको एउटा उदाहरण हो। कृषिलाई व्यवसायिक बनाउन र श्रमको अभावलाई केही हदसम्म कम गर्न हाते ट्याक्टर वितरण गरेका छौँ। विभिन्न कृषि औजार तथा उपकरण अनुदानमा उपलब्ध गराएका छौँ। अर्को महत्वपूर्ण विषय रैथाने बाली संरक्षण हो। पहिले कोदो, फापर, मकै जस्ता बाली गाउँको पहिचान थिए। अहिले ती बाली लोप हुने अवस्थामा पुगेका छन्। त्यसैले हामीले कोदो, फापर लगायतका रैथाने बालीका बीउ ल्याएर कृषकलाई वितरण गरेका थियौँ। तर एउटा ठूलो समस्या बादरको हो। किसानले दुःख गरेर लगाएको बाली जोगाउन सक्ने अवस्था छैन। त्यसले गर्दा धेरै मानिस खेती गर्न निरुत्साहित भएका छन्। हामीले प्रोत्साहनका कार्यक्रम ल्याएका छौँ तर कृषिलाई आकर्षक बनाउन अझै धेरै काम गर्न बाँकी छ।

    स्थानीय कृषकहरू गाउँमा भूकम्प वा बाढीभन्दा पनि बादर, बदेल र मृगको समस्या ठूलो विपत्ति बनेको छ भन्छन् । यसलाई कसरी हेर्नुहुन्छ ?

    कृषकहरूको गुनासो धेरै हदसम्म सही छ। अहिले खेती गर्ने मानिसहरूका लागि वन्यजन्तुको समस्या निकै ठूलो चुनौती बनेको छ। कतिपय ठाउँमा किसानले बाली लगाउँछन् तर पाक्ने बेलासम्म जोगाउन सक्दैनन्। बादर, बदेल र मृगले धेरै क्षति पुर्‍याइरहेका छन्।

    गाउँपालिकाले केही राहत दिने काम गरेको छ। क्षति भएका किसानलाई सीमित स्रोतभित्र रहेर सहयोग गर्ने प्रयास गरेका छौँ। तर हामीले अझै यसलाई व्यवस्थित कार्यक्रमका रूपमा अगाडि बढाउन सकेका छैनौँ। यसको मुख्य कारण यो समस्या स्थानीय तहले मात्र समाधान गर्न सक्ने प्रकृतिको छैन। वन्यजन्तु नियन्त्रण, संरक्षण र क्षतिपूर्ति सम्बन्धी स्पष्ट राष्ट्रिय नीति आवश्यक छ। हामीले पनि सम्बन्धित निकायमा यो विषय उठाउने गरेका छौँ। किसानको उत्पादन जोगाउन सकिएन भने कृषिमा लगानी गर्ने उत्साह पनि घट्दै जान्छ।

    गाउँपालिकाका सबै वडामा बादरको समस्या छ कि केही क्षेत्रमा मात्र हो ?

    प्रायः सबै वडामा समस्या छ। अलि कम समस्या वडा नम्बर १ मा छ, तर त्यहाँ बदेलले दुःख दिने गरेको छ। अन्य धेरै वडामा बादरको समस्या गम्भीर छ। यसको कारण पनि बुझ्नुपर्छ। पहिले गाउँमा धेरै मानिस बस्थे। जंगलको नियमित उपयोग हुन्थ्यो। मानिसले दाउरा काट्थे, घाँस ल्याउँथे, पशुपालन गर्थे। अहिले गाउँका बस्तीहरू पातलिँदै गएका छन्। धेरै घर खाली छन्। जंगल बाक्लिँदै गएको छ। अहिले अधिकांश घरमा ग्यास प्रयोग हुन्छ। दाउरा चिर्ने चलन घटेको छ। मानिस कम भएपछि जंगल र वन्यजन्तुका लागि गाउँ नै सहज स्थान बनेको छ। त्यसैले बादर र अन्य वन्यजन्तु गाउँका बारीसम्म आउन थालेका छन्। यो केवल चौरीदेउरालीको समस्या होइन, देशका धेरै पहाडी गाउँको समस्या हो।

    वर्षायाम नजिकिँदै छ। विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि गाउँपालिकाले के तयारी गरेको छ ?

    विपद् पूर्वसूचना दिएर आउने विषय होइन। त्यसैले पूर्वतयारी अत्यन्त आवश्यक हुन्छ। गत वर्ष हाम्रो गाउँपालिकामा विपद्का कारण दुई जनाले ज्यान गुमाउनुभयो र एक जना घाइते हुनुभयो। धेरै बस्ती जोखिममा परे। त्यसबाट हामीले धेरै सिकेका छौँ।

    अहिले पनि केही बस्ती जोखिमयुक्त अवस्थामा छन्। कतिपय बस्तीलाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था छ। त्यसलाई ध्यानमा राखेर हामीले विपद् व्यवस्थापनका लागि बजेट छुट्याएका छौँ। एउटा जेसीबी गाउँपालिकाको तयारी अवस्थामा राखिएको छ।

    गत वर्षको बाढीपहिरोपछि सडक अवरुद्ध हुँदा निकै समस्या भएको थियो। दशैँको मुखमा गाउँपालिका क्षेत्रभित्र करिब १२–१३ वटा डोजर परिचालन गरेर सडक सञ्चालनमा ल्याएका थियौँ। यस वर्ष पनि आवश्यकता पर्दा तत्काल परिचालन गर्न सक्ने व्यवस्था मिलाएका छौँ।यसका साथै विपद् प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन खाद्यान्न तथा अन्य सामग्रीको व्यवस्था गरेका छौँ। दाल, चामल लगायतका आवश्यक सामग्री उपलब्ध गराउने तयारी छ। विभिन्न संघसंस्था र निकायसँग पनि समन्वय गरिरहेका छौँ।

    गाउँपालिकावासीको स्वास्थ्यलाई ध्यानमा राखेर के–कस्ता पहल गर्नुभएको छ ?

    हामीले धेरै ठूलो काम गरिसक्यौँ भनेर दाबी गर्दिनँ। तर केही यस्ता काम गरेका छौँ, जुन अन्य स्थानीय तहले कम गरेका छन् भन्ने लाग्छ। विशेषगरी मानसिक स्वास्थ्यको क्षेत्रमा हामीले प्राथमिकता दिएका छौँ।

    भूकम्प, कोरोना महामारी र अन्य सामाजिक समस्यापछि धेरै मानिस मानसिक तनावमा रहेको देखियो। घरेलु हिंसा, आर्थिक समस्या र सामाजिक कारणले कतिपय मानिस मानसिक रोगबाट प्रभावित भएका थिए। कतिपयले आत्महत्यासमेत गरेका घटना थिए।

    त्यसैले हामीले सम्बन्धित संस्थासँग सहकार्य गरेर मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्‍यौँ। सुरुमा संस्थाले जनशक्ति व्यवस्थापन गर्‍यो। अहिले गाउँपालिकाले पनि जिम्मेवारी लिएको छ। परामर्श, औषधि र नियमित उपचारमार्फत धेरै मानिसको अवस्थामा सुधार आएको छ।

    हाल ३६ जना मानसिक रोगीलाई भत्ताको व्यवस्था गरेका छौँ। करिब ११० जनालाई नियमित औषधि उपलब्ध गराइरहेका छौँ। मेरो बुझाइमा मानसिक अपाङ्गता शारीरिक अपाङ्गताभन्दा पनि जटिल अवस्था हो। त्यसैले राज्यले पनि यस क्षेत्रमा विशेष ध्यान दिनुपर्छ।त्यसैगरी गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका छौँ। स्वास्थ्य संस्थामै सुत्केरी गराउने वातावरण बनाएका छौँ। ज्येष्ठ नागरिकका लागि घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छौँ।

    अहिले प्रेसर, सुगर लगायत नसर्ने रोग बढिरहेका छन्। त्यसलाई ध्यानमा राखेर प्रत्येक वडामा नियमित स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेका छौँ। निःशुल्क परीक्षण, परामर्श र आवश्यक उपचारको सिफारिस गरिन्छ। पछिल्लो वर्ष ६० जनाको मोतिबिन्दु शल्यक्रिया गरिएको थियो। यस वर्ष पनि आँखा शिविर सञ्चालन गरेका छौँ। तिलगंगा आँखा अस्पतालसँग सहकार्य गरेर सेवा दिइरहेका छौँ। पाठेघरको मुखको क्यान्सर परीक्षण अभियान पनि सञ्चालन गरेका थियौँ। परीक्षणका क्रममा केही महिलामा प्रारम्भिक समस्या देखिएपछि उपचारको व्यवस्था पनि गरिएको छ। हामीले गाउँमा रहेका ज्येष्ठ नागरिक, अशक्त, विपन्न तथा ओछ्यानमा परेका बिरामीलाई घरमै पुगेर स्वास्थ्य सेवा दिने प्रयाससमेत गरिरहेका छौँ।

    अन्त्यमा के भन्न चाहनुहुन्छ ?

    सबैभन्दा पहिले गाउँपालिकाका गतिविधि र जनताका आवाजलाई बाहिर ल्याउने सञ्चारमाध्यम र पत्रकार मित्रलाई धन्यवाद दिन चाहन्छु। स्थानीय सरकारका कामकारबाही जनतासम्म पुग्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छ। हामीसँग स्रोतसाधन सीमित छन्। सबै समस्या एकैपटक समाधान गर्न सम्भव हुँदैन। तर उपलब्ध स्रोत र क्षमताको अधिकतम उपयोग गरेर नागरिकको जीवन सहज बनाउने प्रयास गरिरहेका छौँ। स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी र पूर्वाधार विकासका क्षेत्रमा अझै धेरै काम गर्न बाँकी छन्। गाउँपालिकाको विकास सरकार मात्रले सम्भव हुँदैन। नागरिकको साथ, सहयोग र सहभागिता पनि उत्तिकै आवश्यक हुन्छ। हामीले सुरु गरेका विकासका अभियानलाई सफल बनाउन सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु। आगामी दिनमा पनि चौरीदेउरालीलाई थप विकसित, समृद्ध र आत्मनिर्भर गाउँपालिकाका रूपमा स्थापित गर्न निरन्तर लागिरहनेछौँ धन्यवाद ।

    प्रतिक्रिया दिनुहोस


    अन्तरवार्ता सम्बन्धि थप

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    समाचार

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    काभ्रे खबर

    महिला कृषकको उत्पादनलाई बजारसँग जोड्न पनौतीमा तरकारी तथा फलफूल संकलन केन्द्र उद्घाटन

    वर्ल्ड फ्लूको त्रासले कुखुरा व्यवसाय धराशायी, ‘राम्रोसँग पकाएर खाँदा कुखुराको मासु सुरक्षित’ : पशु चिकित्सक

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८११७ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७२२ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६३२५ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१८३ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१५१ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०५१ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑