पनौती / काभ्रे
काभ्रेपलाञ्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का सांसद मधु चौलागाईंले पनौतीमा रहेको इन्द्रेश्वर क्याम्पस को अनुगमन गर्दै क्याम्पसको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार तथा संस्थागत विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
क्याम्पस प्रमुख श्रीकुमार सुवाल, विषयगत शिक्षक, कर्मचारी तथा अन्य सरोकारवालासँगको आज क्याम्पस भवनमा भएको छलफलमा सांसद चौलागाईंले क्याम्पसको वर्तमान अवस्था, चुनौती र आगामी आवश्यकताबारे जानकारी लिएका थिए।
छलफलका क्रममा सरोकारवालाहरूले पछिल्ला वर्षहरूमा विद्यार्थी संख्या घट्दै जाँदा सामुदायिक क्याम्पस सञ्चालन गर्न चुनौती थपिएको बताएका थिए। सीमित स्रोतसाधनका बीच क्याम्पसलाई टिकाइराख्न कठिन भइरहेको, राजनीतिक प्रभावका कारण शैक्षिक वातावरण प्रभावित हुने गरेको तथा हाल सञ्चालनमा रहेको एमबीएस कार्यक्रमसँगै बीबीए कार्यक्रम सञ्चालन गर्न आवश्यक पहल गरिदिन सांसदसमक्ष आग्रह गरेका थिए ।
त्यसपछि सांसद चौलागाईंले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवामा राजनीतिक स्वार्थ हावी हुन नहुने धारणा व्यक्त गर्दै यस्ता क्षेत्रलाई दलगत प्रतिस्पर्धाभन्दा माथि राख्नुपर्ने बताए। “निर्वाचनको समय राजनीति गर्ने हो, त्यसबाहेक समाजको विकासका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्छ,” उनले बताए ।
उनले इन्द्रेश्वर क्याम्पसलाई गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने संस्थाका रूपमा विकास गर्न आफ्नो तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाएका छन् । क्याम्पसको भौतिक पूर्वाधार विस्तार, शैक्षिक वातावरण सुदृढीकरण तथा आवश्यक स्रोत व्यवस्थापनका लागि ‘गो फण्ड’ अभियान सञ्चालन गर्ने योजना रहेको पनि उनले जानकारी दिए ।
सांसद चौलागाईंले त्रिभुवन विश्वविद्यालयसँग आवश्यक समन्वय गरी क्याम्पसको अनुगमन गराउने तथा बीबीए कार्यक्रम सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाउन पहल गर्ने आश्वासन दिएका छन् ।
क्याम्पस प्रमुख सुवालले इन्द्रेश्वर क्याम्पसले सीमित स्रोतसाधनका बाबजुद गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने प्रयासलाई निरन्तरता दिएको उल्लेख गर्दै सरकारी निकाय, जनप्रतिनिधि तथा स्थानीय समुदायको सहयोगबाट क्याम्पसलाई थप सशक्त बनाउन सकिने विश्वास व्यक्त गरे।
हाल इन्द्रेश्वर क्याम्पसमा विभिन्न तहमा गरी ३०६ जना विद्यार्थी अध्ययनरत छन्। सामुदायिक क्याम्पसको रूपमा स्थापित इन्द्रेश्वर क्याम्पसले उच्च शिक्षामा स्थानीय युवाको पहुँच विस्तार गर्दै आएको भए पनि पछिल्लो समय निजी शैक्षिक संस्थासँगको प्रतिस्पर्धा, घट्दो विद्यार्थी संख्या र सीमित आर्थिक स्रोतका कारण विभिन्न चुनौतीहरूको सामना गरिरहेको छ ।




