बनेपा / काभ्रे
काभ्रेपलाञ्चोकस्थित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यार्थी, शिक्षक, तथा प्रशासनिक कर्मचारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै सहायक कलेज प्रमुख नवराज चौलागाईंले वर्तमान प्रतिस्पर्धी युगमा व्यावसायिक तथा व्यावहारिक शिक्षाको महत्व बढ्दै गएको उल्लेख गर्दै विद्यार्थीहरूलाई आत्मनिर्भर, दक्ष र जिम्मेवार नागरिकका रूपमा विकास गर्न ज्ञानकुञ्ज प्रतिबद्ध रहेको बताए। उनले प्रतिष्ठानले पाठ्यपुस्तकमुखी शिक्षामा मात्र सीमित नरही विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासलाई प्राथमिकतामा राख्दै आएको धारणा व्यक्त गरे।
त्यसैगरी, सहायक प्रिन्सिपल नमराज दाहालले नैतिक शिक्षाको अपरिहार्यतामाथि जोड दिँदै शिक्षा प्रणालीमा मूल्य, मान्यता र सामाजिक उत्तरदायित्वको संरक्षण आवश्यक रहेको बताए। उनले विद्यार्थीहरूमा सकारात्मक सोच, अनुशासन र नैतिकताको विकासका लागि संस्थाले विशेष पहल गर्दै आएको जानकारी दिए।
कार्यक्रमका अवसरमा कलाकर्मी भूषण भोमी श्रेष्ठ, कलाकर्मी तथा सञ्चारकर्मी सचित खड्का र अन्तर्राष्ट्रिय भलिबल रेफ्री विजय के.सी.लाई सम्मान गरिएको थियो। कार्यक्रमको विशेष आकर्षणका रूपमा रहेका हास्य कलाकार जितु नेपालले हास्यव्यङ्ग्यमार्फत शिक्षा, जीवनशैली र सामाजिक मूल्यसँग सम्बन्धित सन्देश प्रस्तुत गरेका थिए। उनको प्रस्तुतिले विद्यार्थी र अभिभावकहरूलाई मनोरञ्जनसँगै सकारात्मक सन्देश प्रदान गरेको सहभागीहरूले बताएका छन्।
समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सुरकृष्ण वैद्यले शिक्षा प्रणालीलाई केवल परीक्षा र प्रमाणपत्रमा सीमित नराखी विद्यार्थीहरूको सृजनशीलता, नेतृत्व क्षमता तथा जीवनोपयोगी सीप विकासमा केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याए। उनले ज्ञानकुञ्जलाई विद्यार्थीहरूको बहुआयामिक विकासका लागि उत्कृष्ट शैक्षिक मञ्चका रूपमा स्थापित गर्ने प्रतिबद्धता दोहोर्याए।
कार्यक्रममा विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुति समेत समावेश गरिएको थियो। यस्ता प्रस्तुतिले विद्यार्थीहरूमा उत्साह, आत्मविश्वास र सकारात्मक ऊर्जा थपेको आयोजकले जनाएको छ।
प्रतिष्ठानका अनुसार अभिमुखीकरण कार्यक्रमको मुख्य उद्देश्य नवआगन्तुक विद्यार्थीहरूलाई शैक्षिक वातावरण, संस्थागत कार्यशैली, नीति तथा मूल्य–मान्यतासँग परिचित गराउनु रहेको थियो। कार्यक्रममार्फत विद्यार्थीहरूमा अध्ययनप्रति थप जागरुकता र संस्थाप्रति विश्वास अभिवृद्धि भएको विश्वास व्यक्त गर्दै प्रतिष्ठानले आगामी दिनमा पनि विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखी यस्ता प्रेरणामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।




