धुलिखेल / काभ्रेपलाञ्चोक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेपलाञ्चोकको जिल्ला सभापतिमा प्रवीणकुमार ढकाल पुनः चयन भएका छन्। शनिबार सम्पन्न जिल्ला अधिवेशनले ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै आगामी कार्यकालका लागि रास्वपा काभ्रेलाई थप सुदृढ र बनाउने जिम्मेवारी सुम्पिएको हो।
अधिवेशनबाट चयन भएको १३ सदस्यीय जिल्ला कार्यसमितिमा सचिव पदबाहेक अन्य सबै पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत रूपमा चयन भएका छन्। उपसभापतिमा पुण्यमाता घिमिरे, सहसचिवमा प्रकाश तिमल्सिना चयन भएका छन् भने सदस्यहरूमा नवरान बोलखे, सरिता केसी, सुशीला खत्री, साजन श्रेष्ठ, विकास तोलाङ्गे, नगेन्द्र डोटेल, जेनकुमार लामा, ताराबहादुर कुँवर र ङेमा लामा रहेका छन्।
सचिव पदका लागि भएको निर्वाचनमा गुणनिधि सापकोटा विजयी भएका छन्। अधिवेशनमा अधिकांश पदमा सर्वसम्मत नेतृत्व चयन हुनु संगठनभित्रको एकता र सहमतिपूर्ण अभ्यासको संकेतका रूपमा हेरिएको छ।
सभापतिमा चयन भएपछि ढकालले पार्टीलाई जिल्लाभर अझ सक्रिय, व्यवस्थित र जनमुखी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले रास्वपाले उठाउँदै आएका सुशासन, पारदर्शिता, जवाफदेहिता र नागरिकका आधारभूत सरोकारका विषयलाई अझ प्रभावकारी रूपमा स्थापित गर्न आफू र आफ्नो टिमले निरन्तर काम गर्ने बताए।
अधिवेशनको उद्घाटन पार्टी संसदीय दलका उपनेता गणेश पराजुलीले गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पार्टीका नेता तथा कार्यकर्तालाई जनताको विश्वास जोगाउने गरी इमान्दार, जिम्मेवार र परिणाममुखी ढंगले काम गर्न आग्रह गरे। उनले देशमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता अझ बढ्दै गएको उल्लेख गर्दै संगठन विस्तारसँगै जनताको समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताए।
नयाँ नेतृत्व चयनसँगै रास्वपा काभ्रेपलाञ्चोकले आगामी दिनमा संगठनात्मक सुदृढीकरण र जनतासँगको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको छ।