काभ्रे / पनौती
श्याम फूलमाया फाउन्डेसनले शिक्षा, बालबालिका तथा लोपोन्मुख समुदायको जीवनस्तर सुधारमा केन्द्रित सामाजिक अभियानलाई निरन्तरता दिएको छ। फाउन्डेसनले पछिल्लो समय दुर्गम क्षेत्रका विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै राउटे समुदायका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ।
फाउन्डेसनले आइतबार पनौतीमा एक कार्यक्रमको आयोजना गरि डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका–७ दुलवास्तास्थित श्री सरस्वती आधारभूत विद्यालयका १ सय १० जना विद्यार्थीलाई ट्र्याकसुट, विद्यालय झोला, पुस्तक, कापी, पेन्सिल लगायतका शैक्षिक सामग्री वितरण गरेको छ। विद्यालयकी शिक्षिका दीपा साउदले विद्यार्थीहरूको शैक्षिक आवश्यकता र समस्याबारे जानकारी गराउँदै सहयोगको आग्रह गरेपछि फाउन्डेसनले सामग्री उपलब्ध गराएको हो।
दुर्गम क्षेत्रका धेरै बालबालिका आधारभूत शैक्षिक सामग्रीको अभावमा अध्ययन गरिरहेका छन्। यस्ता बालबालिकालाई सहयोग पुग्ने उद्देश्यले सामग्री वितरण गरिएको फाउन्डेसनले जनाएको छ । शिक्षा क्षेत्रमा गरिएको सानो सहयोगले पनि ठूलो परिवर्तन ल्याउन सक्ने फाउन्डेसनको भनाइ छ ।
फाउन्डेसनका अनुसार सहयोगका लागी विभिन्न विद्यालयबाट प्राप्त अनुरोधका आधारमा अन्य विद्यालयका बालबालिकाका लागि समेत झोला तथा आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने तयारी गरिएको छ। त्यस्तैगरी शिक्षिका सनिता चेपाङको पहलमा एक विद्यालयका विद्यार्थीहरूलाई पनि चाँडै शैक्षिक सामग्री वितरण गरिने प्रतिबद्धता फाउन्डेसनले जनाएको छ।
शिक्षा क्षेत्रमा मात्र नभई फाउन्डेसनले लोपोन्मुख तथा विपन्न समुदायको सहयोगमा समेत सक्रियता देखाएको छ। सुर्खेतमा रहेका राउटे समुदायका लागि सुरक्षित आश्रय व्यवस्थापन गर्न फाउन्डेसनले ६० हजार रुपैयाँ सहयोग गरेको छ। श्याम फूलुमाया हस्तकला उद्योगबाट प्राप्त आम्दानीमार्फत सञ्चालित श्याम फूलमाया फाउन्डेसनको तर्फबाट उक्त सहयोग रकम प्रदान गरिएको श्याम फुलुमाया फाउन्डेसनका सस्थापक श्याम सार्की मगरातीले जानकारी दिए । उनी भन्छन् सुर्खेतमा रहेका राउटे समुदायका लागि त्रिपाल वितरण गर्न पाउनु मेरो लागि अत्यन्त गर्व र सम्मानको विषय हो।
राउटे समुदायका लागि सञ्चालन गरिएको उक्त अभियानमा पनौती–९ सुन्थाङ निवासी अशोक खड्काले समेत ५० अमेरिकी डलर सहयोग प्रदान गरेका छन्। फाउन्डेसनले सहयोगदाताहरूप्रति आभार व्यक्त गर्दै यस्ता मानवीय अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ।
कार्यक्रम सामुदायिक विकास केन्द्र नेपालकी अध्यक्ष राधा मताङ्गी, श्याम फूलमाया हस्तकला उद्योगकी अध्यक्ष शोभा राणामगर, सदस्यहरू भरत थापा, शेर्पा लामा तथा संस्थाका सल्लाहकार शिव बन्जारालगायतको उपस्थितिमा सम्पन्न भएको थियो। फाउन्डेसनका संस्थापक श्याम सार्की मंगरातीले शिक्षा, बालबालिकाको भविष्य निर्माण तथा आवश्यकतामा रहेका समुदायको सहयोगका लागि संस्था निरन्तर क्रियाशील रहने बताए ।