पनौती
काभ्रेपलाञ्चोकका महिला कृषकले उत्पादन गरेका तरकारी तथा फलफूलको सहज बजारीकरण गर्ने उद्देश्यले पनौती–८ स्थित सक्रिय महिला कृषि सहकारी संस्था लिमिटेडले स्थापना गरेको तरकारी तथा फलफूल संकलन केन्द्र शनिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ।
दक्षिण एसियाली महिला विकास मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजालको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको थियो । कार्यक्रममा स्थानीय कृषक, सामाजिक व्यक्तित्व तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि रिजालले महिला कृषकको उत्पादनलाई बजारसँग जोड्ने यस्तो पहलले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउनुका साथै महिला उद्यमशीलता प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने बताइन्। उनले कृषि उत्पादनलाई व्यवस्थित बजारीकरण गर्न संकलन केन्द्रहरूको भूमिका प्रभावकारी हुने उल्लेख गर्दै स्थानीय उत्पादनको संरक्षण र प्रवर्द्धनमा सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड दिएकी छिन् ।
सहकारीकी अध्यक्ष सुमित्रा आचार्य बन्जाराले रैथाने बाली तथा स्थानीय कृषि उत्पादनको संरक्षण गर्दै महिला कृषकलाई आर्थिक रूपमा सक्षम बनाउने लक्ष्यसहित संकलन केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिएकी छिन् । उनले किसानको उत्पादनलाई उचित मूल्य दिलाउने, बिचौलियाको निर्भरता घटाउने तथा उपभोक्तासम्म ताजा र गुणस्तरीय कृषि उपज सहज रूपमा पुर्याउने उद्देश्य यस केन्द्रले पूरा गर्ने विश्वास समेत व्यक्त गरिन् । कार्यक्रममा स्थानीय महिला कृषकले उत्पादन गएका तरकारी, पाँउ तथा विभिन्न अचारहरु बिक्रिको लागि राखिएको थियो ।
कार्यक्रमकी अध्यक्ष तथा केन्द्रकी अध्यक्ष सुमित्रा बन्जाराले हरेक शनिबार संकलन केन्द्रमा आएर व्यापारमा सहयोग गर्ने सेवाग्राहीलाई १० प्रतिशत छुट दिने पनि घोषणा गरेकी छिन् ।




