काभ्रे / खानिखोला
काभ्रेपलाञ्चोक जिल्लाको खानिखोला गाउँपालिका–२, खानिडाँडामा गोरेटो बाटोबाट लडेर एक जना प्रहरी कर्मचारीको मृत्यु भएको छ।
मिति २०८२ साल पुष २८ गते बिहान करिब १० बजेको समयमा जिल्ला प्रहरी कार्यालय काभ्रेको मातहतमा रहेको प्रहरी चौकी श्यामपाटीमा सञ्चार दरबन्दी भई हाल प्रहरी चौकी फलामेटारमा कार्यरत प्रहरी हवल्दार रामकृष्ण खड्का मृत अवस्थामा फेला परेका हुन्। ३५ वर्षीय खड्का जिल्ला दोलखा शैलुङ गाउँपालिका–५, काटाकुटी स्थायी वतन भएका हुन्।
प्रहरीका अनुसार खड्का सूचना सङ्कलन तथा निर्वाचन प्रहरी भर्नासम्बन्धी सूचना प्रवाहका लागि उक्त क्षेत्रमा खटिएका थिए। सोही दिन दिउँसो करिब ३:३० बजेको समयमा गोरेटो बाटो हुँदै हिँड्ने क्रममा करिब २५ मिटर तल सडकमा लडेको अवस्थामा उनको शव फेला परेको भन्ने सूचना स्थानीयवासीले प्रहरी चौकी फलामेटारमा दिएका थिए।
सूचना प्राप्त हुनासाथ प्रहरी चौकी फलामेटारबाट प्रहरी जवान मुरारी झाको नेतृत्वमा टोली खटिई घटनास्थल सुरक्षित गरिएको थियो। साथै प्रहरी चौकी तालढुंगा काभ्रेबाट प्रहरी नायब निरीक्षक ईन्द्रबहादुर राउतको कमाण्डमा दुई जनाको टोली समेत घटनास्थल पुगेको थियो। घटनाबारे तत्काल जिल्ला प्रहरी कार्यालय काभ्रेलाई जानकारी गराइएको प्रहरीले जनाएको छ।
घटनास्थल मुचुल्का तथा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय देविटार काभ्रेबाट प्रहरी निरीक्षक मनराज बानियाको कमाण्डमा पाँच जनाको टोली तथा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट SOCO (घटनास्थल अनुसन्धान) टोली खटिएको छ। हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृतक प्रहरी हवल्दार खड्का यही पुष ९ गतेदेखि प्रहरी चौकी फलामेटारमा कार्यरत रहेका थिए।




