जब आकाशमा कालो बादल मडारिन्छ रोशी किनारका सर्वसाधारणको मनमा त्रासको बादल झन् गाढा बन्छ। वर्षा प्राकृतिक प्रक्रिया हो, तर त्यसले निम्त्याउने विपद् प्राकृतिक मात्र होइन मानव निर्मित पनि हो भन्ने कुरा रोशी खोलाको वर्तमान अवस्थाले स्पष्ट पारिसकेको छ।
केही वर्षअघिसम्म सामान्य बहावमा रहने रोशी खोलाले आज विकराल रूप लिनु संयोग होइन। अव्यवस्थित रूपमा सञ्चालन गरिएका ढुंगा, गिट्टी, बालुवा उत्खनन् तथा क्रसर उद्योगहरूले खोलाको प्राकृतिक स्वरूपलाई गम्भीर रूपमा क्षति पु¥याएका छन्। उद्योगबाट निस्कने काम नलाग्ने पदार्थ खोलाकिनारमै विसर्जन गरिँदा खोलाको धार परिवर्तन हुनुका साथै सतह उचाइ बढ्दै गएको छ। अनुसन्धान समितिहरूले समेत यसैलाई मुख्य कारणका रूपमा औंल्याइसकेका छन्।
खानी र बस्ती एकै क्षेत्रमा विस्तार हुँदा जोखिम झन् बढेको छ। विगतमा आएको बाढीपहिरोले दर्जनौं नागरिकको ज्यान लिएको पीडा अझै ताजै छ। तर विडम्बना, यति ठूलो क्षतिपछि पनि समस्या स्वीकार्न हिच्किचाहट देखिन्छ। बुझेरै होस् वा बुझ पचाएर खानी उद्योगहरूले निम्त्याएको जोखिमलाई अस्वीकार गर्ने प्रवृत्ति अझै हटेको छैन।
यसै सन्दर्भमा गृहमन्त्री सुदन गुरुङको रोशी क्षेत्र भ्रमण र अवैध खानी तथा क्रसर बन्द गर्न दिएको निर्देशन सकारात्मक कदम हो। तर निर्देशन मात्र पर्याप्त हुँदैन; त्यसको प्रभावकारी कार्यान्वयन अपरिहार्य छ। समस्या गहिरो छ, समाधान पनि दीर्घकालीन र संरचनात्मक हुनुपर्छ। अबको आवश्यकता स्पष्ट छ खानी र बस्ती क्षेत्रको वैज्ञानिक विभाजन। खोलाको बहाव, भू–आकृति, र सम्भावित जोखिमको विस्तृत अध्ययन बिना खानी सञ्चालनको अनुमति दिनु भविष्यसँग खेलवाड गर्नु हो। वातावरणीय प्रभाव मूल्यांकनलाई औपचारिकतामा सीमित नराखी कडाइका साथ कार्यान्वयन गरिनुपर्छ।
स्थानीय तहले खानी तथा क्रसर उद्योगलाई राजस्वको स्रोतका रूपमा मात्र हेर्ने दृष्टिकोण परिवर्तन गर्न जरुरी छ। अल्पकालीन आम्दानीको लोभमा दीर्घकालीन मानवीय र भौतिक क्षतिको मूल्य चुकाउनु परेमा त्यो विकास होइन, विनाश हो। वर्षेनी आउने बाढीले पु¥याउने क्षति कुनै पनि राजस्वले पूर्ति गर्न सक्दैन। रोशी क्षेत्रको संरक्षणका लागि खोलाकिनार सुदृढीकरण, तटबन्ध निर्माण, र व्यापक वृक्षारोपण अभियान सञ्चालन गर्न ढिलाइ गर्नु हुँदैन। साथै, समुदायलाई सचेत गराउने र विपद् पूर्वतयारीलाई मजबुत बनाउने कार्य पनि सँगसँगै अघि बढाउन आवश्यक छ।
रोशी खोलाले दिएको चेतावनी समयमै बुझ्न सकिएन भने भोलिका दिनमा यसको मूल्य अझ महँगो पर्न सक्छ। विकासको नाममा प्रकृतिमाथि गरिने अतिक्रमण अन्ततः मानव अस्तित्वकै लागि खतरा बन्न सक्छ। त्यसैले आजैबाट जिम्मेवार, वैज्ञानिक र दिगो सोचसहित कदम चाल्नु नै सबैको कर्तव्य हो।




