बेथानचोक / ढुंखर्क
बेथानचोक गाउँपालिकाले शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमले स्थानीय तहबाट शिक्षा प्रणालीलाई व्यवस्थित, अनुशासित र परिणाममुखी बनाउन थप बल पुग्ने बताइएको छ ।शिक्षा क्षेत्रका विज्ञ प्रा. डा. विद्यनाथ कोइराला, डा. हरिप्रसाद लम्साल, दीपक शर्मा र डा. बलराम तिमिल्सिनाले गुणस्तरीय शिक्षाका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीचको सहकार्य अपरिहार्य रहेको औंल्याएका छन् । उनीहरूले प्रभावकारी पाठयोजना निर्माण र त्यसको कार्यान्वयन, विद्यालय सुशासन, नियमित अनुगमन तथा अभिभावकको सक्रिय सहभागितालाई गुणस्तरीय शिक्षाको आधारका रूपमा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा ‘शिक्षक र गुणस्तरीय शिक्षा’, ‘प्रधानाध्यापकको नेतृत्व र शैक्षिक सुधार’, ‘विद्यालय सुशासन’ तथा ‘शिक्षाको समग्र विषयवस्तु’ हरुमा छलफल भएको थियो । सहभागी शिक्षक, प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समिति अध्यक्षहरूले उठाएका जिज्ञासाहरूमा विज्ञहरूले व्यवहारिक समाधान सुझाएका थिए ।
उपाध्यक्ष तारा राना तिमिल्सिनाले स्वागत मन्तव्य दिएकी थिइन् भने शिक्षा समिति सदस्य एवं प्रधानाध्यापक शोभा तामाङले धन्यवाद ज्ञापन गरेकी थिइन्। कार्यक्रममा गाउँपालिका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्य, विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समिति अध्यक्ष तथा अन्य सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो।
यसैबीच आजै बसेको गाउँ शिक्षा समितिको बैठकले शिक्षा सुधारका लागि केही महत्वपूर्ण निर्णयहरू समेत गरेको छ। अब बेथानचोक गाउँपालिकाभित्रका विद्यालयहरूमा आइतबार पनि नियमित कक्षा सञ्चालन गरिनेछ। यसअघि संघीय सरकारको निर्णयअनुसार हप्तामा दुई दिन बिदा दिइए पनि स्थानीय आवश्यकता र सिकाइ उपलब्धि सुधारको लक्ष्यअनुसार यस्तो निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले सिरुपाते खबरलाई जानकारी दिएका छन् ।
त्यस्तै, विद्यालयहरू वैशाख १३ गतेदेखि सञ्चालनमा ल्याइने, सबै शिक्षकहरूले अनिवार्य रूपमा पाठयोजनाका आधारमा शिक्षण कार्य सुरु गर्ने, तथा सीपमूलक र व्यवहारिक शिक्षामा जोड दिने निर्णय गरिएको छ। गाउँपालिकाले आगामी दिनमा शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिमैत्री, विद्यार्थीकेन्द्रित र परिणाममुखी बनाउने लक्ष्य लिइएको अध्यक्ष अधिकारीको दाबी छ ।
गाउँपालिका अध्यक्ष अधिकारीले शिक्षाको गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखिएको बताउँदै शिक्षक, अभिभावक र स्थानीय समुदायको सहकार्यबाट मात्र अपेक्षित उपलब्धि हासिल गर्न सकिने धारणा व्यक्त गरे। उनले आगामी वैशाख ९ गते बस्ने कार्यपालिका बैठकबाट पालिकाको समग्र शिक्षा सुधारकालाई थप निर्णयहरू गरिने जानकारी पनि दिए।
हाल बेथानचोक गाउँपालिकामा ३० वटा सामुदायिक र ३ वटा संस्थागत विद्यालय सञ्चालनमा रहेका छन् भने पल्लिका भरी २ हजार ७ सय ७७ जना विद्यार्थी अध्ययनरत रहेको गाउँपालिकाका शिक्षा शाखाका कर्मचारी सिताराम लामाले जानकारी दिए ।