पनौती / काभ्रे
पनौती नगरपालिका वडा नं. ५ ले माध्यमिक शिक्षा परीक्षा एसईई२०८२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यालय तथा विद्यार्थीलाई सम्मान गरेको छ। वडा कार्यालयले आयोजना गरेको सम्मान कार्यक्रममा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालय र ४ जीपीए ल्याउने विद्यार्थीलाई सम्मान गरेको हो।
पनौती–५ भित्र रहेका तीन संस्थागत र एक सामुदायिक गरी चार माध्यमिक विद्यालयमध्ये एसओएस हर्मन माइनर विद्यालय र श्वेत गणेश मावि ले एसईईमा १०० प्रतिशत नतिजा ल्याउन सफल भएका थिए। वडा कार्यालयले दुवै विद्यालयलाई सम्मानपत्रसहित सम्मान गरेको हो।
त्यस्तै, एसओएस हर्मन माइनर विद्यालयका विद्यार्थी रोजा केसी र आभुषण श्रेष्ठ लाई पनि उत्कृष्ट उपलब्धिका लागि सम्मान गरिएको थियो। कार्यक्रम वडा नं. ५ का अध्यक्ष विनोद खत्री को सभापतित्वमा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा रामशरण भण्डारी सहभागी रहेका थिए।
कार्यक्रममा बोल्दै ग्रमोन्नती आविका प्रधानाध्यापक उद्धव बोलखे ले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई बधाई दिँदै यस्तो सम्मानले विद्यार्थीमा थप हौसला र प्रेरणा मिल्ने बताए। उनले गुणस्तरीय शिक्षाका लागि विद्यालय, अभिभावक र स्थानीय तहबीचको सहकार्य अझ मजबुत हुनुपर्ने धारणा राखे।
एसओएस हर्मन माइनर विद्यालयका प्रधानाध्यापक नरेश्वर आचार्य ले विद्यालयले राष्ट्रिय शैक्षिक मापदण्डलाई पूर्ण रूपमा पालना गर्दै आएको उल्लेख गरे। उनले यस वर्षको नतिजाले पनौती नगरपालिकाको शैक्षिक प्रतिष्ठा उँचो बनाएको बताउँदै विद्यालयले दक्ष, अनुशासित र इमानदार जनशक्ति उत्पादनमा जोड दिँदै आएको बताए ।
श्वेत गणेश माविका प्रधानाध्यापक इन्द्रलाल मानन्धर ले यस वर्षको नतिजा विद्यालय परिवारका लागि गर्वको विषय भएको बताए। उनले शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति र शिक्षा शाखाको संयुक्त प्रयासले सफलता सम्भव भएको उल्लेख गर्दै नगरपालिकाले शिक्षा क्षेत्रमा पुर्याएको सहयोगको प्रशंसा गरे।
प्रमुख अतिथि नगर प्रमुख रामशरण भण्डारीले नगरपालिकाले आन्तरिक स्रोतबाट शिक्षा तथा खेलकुद क्षेत्रमा करिब ६ करोड रुपैयाँ लगानी गरेको जानकारी दिए। उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई बधाई दिँदै उनले विद्यार्थीहरू समाजको भविष्य भएको बताए। “राम्रो शिक्षा हासिल गर्न सके विश्वले तपाईंलाई चिन्नेछ,” उनले भने, “शिक्षा नै समृद्ध समाज निर्माणको मुख्य आधार हो।”
सभापति तथा वडा अध्यक्ष विनोद खत्रीले अपेक्षाभन्दा राम्रो नतिजा आएको भन्दै खुशी व्यक्त गरे। उनले आगामी दिनमा शिक्षा क्षेत्रलाई अझ प्राथमिकतामा राखेर विद्यार्थी र विद्यालयलाई आवश्यक सहयोग तथा प्रोत्साहन जारी राखिने बताए। खत्री श्वेत गणेश मावि विद्यालय व्यवस्थापन समिति का अध्यक्ष समेत हुन्।
अभिभावक रमिता देउजा ले विद्यार्थीले ४ जीपीए हासिल गर्न आत्मविश्वास, नियमित अध्ययन र परिवारको सहयोग अत्यन्त महत्वपूर्ण हुने बताइन्।
सम्मानित विद्यार्थी रोजा केसी र आभुषण श्रेष्ठले आफ्नो सफलताको श्रेय विद्यालय, शिक्षक र अभिभावकलाई दिएका थिए। उनीहरूले सुरुदेखि नै लक्ष्य निर्धारण गरेर निरन्तर मेहनत गर्नुपर्ने अनुभव सुनाउँदै “हामीले सकेका छौं भने अरूले पनि सक्छन्” भन्ने सन्देश दिएका थिए।
कार्यक्रममा नगर प्रमुख, विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यार्थी, बाल सञ्जालका प्रतिनिधि, जनप्रतिनिधि तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यस वर्ष एसईई परीक्षामा पनौती नगरपालिकाबाट चार जना विद्यार्थीले ४ जीपीए ल्याउन सफल भएका छन्।




