शिक्षा मानिसले औपचारिक वा अनौपचारिक रूपमा प्राप्त गर्दछ।औपचारिक शिक्षा मानिसले विद्यालय वा महाविद्यालय बाट प्राप्त गर्दछ भने अनौपचारिक शिक्षा चाँहि जीवनयापनको क्रममा व्यवहार र जीवनका अनुभवहरूबाट हासिल गर्दछ।शिक्षा जीवन पर्यन्त चलिरहन्छ र चलिरहने प्रक्रिया पनि हो।शिक्षाको प्रारम्भ जन्मबाट मृत्युपर्यन्त भइनै रहन्छ । शिशुले जन्मनसाथ नौलो संसारमा पाइला राख्छ ,त्यहीबाटनै उसको शिक्षाको ढोका खुल्छ।त्यसैले घरपरिवार नै मानिसको पहिलो शिक्षालय हो, जहाँ बाट उसले नित्यकर्म गर्न सिक्दछ।उसको सम्पर्क छिमेक र समाजसित पनि हुन्छ र उसले नयाँ वातावरण ,नयाँ परिवेश अनि नयाँ ज्ञान प्राप्त गर्न थाल्दछ ।चौथो वर्षबाट ऊ विद्यालयमा प्रवेश गर्नसाथ वास्तविक रूपमा उसकोऔपचारिक शिक्षाको थालनी हुन्छ र यो क्रम अगाडि बढ्न थाल्छ। क्रमिक रूपमा यही प्रक्रिया बाट उसले विद्यालय देखि विश्वविद्यालय सम्म औपचारिक शिक्षा हासिल गर्न सक्छ तर अनौपचारिक शिक्षा भने निरन्तर नै चलिरहन्छ ।मानिसले कुनै पनि कुरा अध्ययन र व्यावहारिक अनुभवबाट सिक्दछ।शिक्षालाई सैद्धान्तिक र व्यावहारिक दुई प्रक्रियाबाट प्राप्त गर्न सकिन्छ।सैद्धान्तिक शिक्षा किताबी ज्ञानमा आधारित हुन्छ भने व्यावहारिक शिक्षा प्रयोगात्मक हुन्छ।सैद्धान्तिक शिक्षा कोरा हुने र व्यावहारिक शिक्षा जीवनोपयोगी र दीगो हुने भएकाले विकास र निर्माणका लागि व्यावहारिक शिक्षामा जोड दिनु आजको राष्ट्रिय आवश्यकता हो । आजको शिक्षा व्यवहारिक, प्राविधिक, खोजमूलक, रोजगारीमूलक जीवनपयोगी, राष्ट्र , राष्ट्रियता, लोकतन्त्र र जनजीविकालाई उकास्ने रोजगारमुलक र वैज्ञानिक पद्धतिमा आधारित हुनु पर्छ।हाम्रा सामाजिक मूल्य र मान्यतालाई अंगिकार गर्ने खालको शिक्षा नै आजको शिक्षा हो।बेरोजगारी समस्या हल गर्दै पढेपछि रोजगार पाइन्छ भन्ने मान्यतालाई आत्मासात गर्ने शिक्षा नै आजको अपरिहार्य शिक्षा हुन सक्छ।अनुशासन , मर्यदा, रीती, परम्परा, धर्म,संस्कृतिको जगेर्ना गर्दै नीति , नैतिकता , सामाजिक आदर्श र देशभक्तिपूर्ण सोचाइमा आधारित शिक्षाले मात्र समाजमा रहेका सबै तह र वर्गका व्यक्तिको प्रतिनिधित्व गर्ने हुँदा यस्तो शिक्षा मुलुकको निम्ति वरदान हुन सक्छ।डिग्रीको प्रमाणत्र हातमा बोकेर जागिर खोज्दै भौतारिने शिक्षा आजको शिक्षा हुन सक्दैन । हप्काएर, डर देखाएर, कुटेर,तर्साएर अधिकार र कर्तव्य अनि संविधान प्रदत्त हकलाई भुलेर ल्याइएको शिक्षाले पनि सही गति दिन सक्दैन।आफूभित्र रहेको उर्जा,जागरण र प्रतिभालाई प्रस्फुटन गराउदै राष्ट्रले हामीलाई के दियो?होइन कि हमीले राष्ट्रलाई के दिन सक्छौं?भन्ने सोचाइमा आधारित शिक्षानै आजको शिक्षा हुन सक्छ।नैतिकता,आदर्श र शिष्टता नभएको शिक्षा आजको शिक्षा हुन सक्दैन।नैतिकता,आदर्श,शिष्टता,मर्यादा र अनुशासन समेटिएको शिक्षाले मात्र बुद्ध,पारिजात,देवकोटा,गान्धी,मण्डेला,भीमसेन थापा,भक्ति थापा,बी.पी.कोइराला, मनमोहन अधिकारी,पृथ्वी नारायण शाह,सम ,लेखनाथ पौड्याल,गणेश मान सिंह,जस्ता आदर्शव्यक्ति र विशिष्ट व्यक्तित्व बनाउन सक्ने हुँदा यस्तो किसिमको शिक्षाले नै नयाँ नेपालको अनि समृद्धिको खाका कोर्ने भएकोले त्यस्तो शिक्षानै हाम्रो लागि, आजको पुस्ताको लागि राष्ट्रको हित र संरक्षण गर्नको लागि अर्थात् एक्काइसौं शताब्दी अनुकूलको शिक्षा मुलुकको लागि अपरिहार्य होइन र?हामीलाई हिटलर र जङ्ग बहादुर बनाउने शिक्षा होइन कि जय पृथ्वी बहादुर सिंह,बिबेकानन्द, भानुभक्त, अम्मर सिंह थापा, गंगालाल, धर्मभक्त, दशरथ चन्द, धर्मभक्त,गेहेन्द्र शमसेर जन्माउने शिक्षानै चाहिएको छ । जुन शिक्षाले मुलुकको कायापलट गरोस्, समृद्धिको खाका कोरोस् र नयाँ नेपालको निर्माण गरोस् ।
विश्व नै खुला शिक्षालय हो।जीवन र जगत शिक्षाका प्रेरणाका स्रोत हुन्।प्रकृति शिक्षाको साधन हो।यही प्रकृतिरूपी शिक्षालयमा मानिस जन्मिन्छ, बढ्छ, ज्ञान लिन्छ अनि सयौं कुरा सिक्छ।वास्तवमा भन्ने हो भने शिक्षाको उत्पत्ति र विकास यहीँबाट सम्भव भएको हो ।
शिक्षाले मानिस महान र अमर हुन्छ । शिक्षा ज्ञानको ज्योति हो। यसले मानिसलाई कर्तव्यपथमा हिडाउँछ। शिक्षा बिना मानिस अपाङ्ग र दृष्टिबिहिन हुन्छ । व्यक्तित्व निर्माण देखि राष्ट्र निर्माण सम्म शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ।शिक्षा युग र राष्ट्र अनुकूल हुनु पर्छ।कसैको गुण गाएर वा भजन मण्डली जपेर अनि युग र विज्ञानलाई तिरस्कार गरेर ल्याइएको शिक्षा साँचो अर्थमा आजको वा एक्काइसौं शताब्दीको शिक्षा होइन। एक्काइसौं शताब्दीमा हामीले खोजेको शिक्षा त्यस्तो शिक्षा होइन।शिक्षा राष्ट्र , राष्ट्रियता र आफ्नो संस्कृतिसित मेल खानेखालको हुनुपर्छ । शिक्षा जीवन जगतसंग सम्बन्धि हुनुपर्छ ।
शिक्षा जीवनको लागि हो र यसले जीवनमा ठूलो परिवर्तन ल्याइदिन्छ । शिक्षाको उद्देश्य व्यक्तिको चरित्र निर्माण गर्न देखि लिएर जीवनयापनको गोरेटो निर्माण गर्न पनि हो।शिक्षाले व्यक्तिको अन्तर्निहित शक्तिलाई समेत प्रस्फुटित गर्दछ र समाजमा उसलाई अस्तित्ववान बनाउँदछ।शिक्षाको उद्देश्य व्यक्तिमा मात्र सीमित रहन्न । यसको उद्देश्य राष्ट्रमुखी र विश्वमुखी हुनुपर्छ।शिक्षा राष्ट्रको आवश्यकता र माग अनुसारको हुनुपर्छ।राष्ट्रको लागि शिक्षाको उद्देश्य योग्य र दक्ष्य जनशक्ति तयार गर्नु अनि राष्ट्र निर्माणको महायज्ञमा सरीक गराउनु पनि हो।राष्ट्र र राष्ट्रियताप्रति सजक देशभक्त नागरिक तयार पार्नु पनि हो।अनि अहिंसा,शान्ति र मानवताको लागि गान्धी , बुद्ध र प्रमिथस जन्माउनु पनि हो।त्यसैले शिक्षाको उद्देश्य अर्काको नक्क्ल गरेर डिग्री हासिल गर्नु मात्र पनि होइन ।त्यसैले शिक्षा विकास , समृद्धि र व्यक्तित्वको लागि , राष्ट्रको लागि र विश्वको निम्ति पनि हो ।
राष्ट्रको भौतिक उन्नति र प्रगतिको लागि वैज्ञानिक शिक्षाको आवश्यकता छ भने आत्मिक उन्नतिको लागि अनि विश्व शान्तिको लागि आध्यात्मिक शिक्षाको पनि त्यतिकै खाँचो छ।शिक्षा विध्वंशक होइन रचनात्मक हुनुपर्छ।शिक्षा निष्कर्मण्य होइन कर्मयोगी हुनुपर्छ।शिक्षा वैयक्तिक रूचिमा आधारित हुनुपर्छ।आज राष्ट्रमा बालशिक्षा अनिवार्य र सर्वसुलभ हुनु जति जरुरी छ त्यतिकै जरुरी नारी शिक्षा र प्रौढ शिक्षाको पनि छ।अनि मात्र शिक्षा जीवनउपयोगी , व्यवहारिक र रोजगारीमूलक हुनु पनि उत्तिकै जरुरी छ । यस किसिमको शैक्षिक नीति राष्ट्रले अवलम्बन गर्नु पर्छ ।
शिक्षा स्वतन्त्र , प्राकृतिक र सहज हुनुपर्छ, तब मात्र अनुसन्धानको मार्गबाट ज्ञान विज्ञानका ढोकाहरू खुल्नेछन्।सङ्कीणता र विकीर्णता शिक्षा होइन। शिक्षालय यन्त्रालय हुनुहुदैन नत्र भने उत्पादन जड पदार्थ मात्र हुनेछ।यस सम्बन्धमा देबकोटा भन्छन् –“ शिक्षा जन्जिर नहोस्, सिक्री नहोस् , नहोस् ऐठन, होस् प्राकृत विकासलाई सहायता दिने प्राकृत उपाय।पूर्णतातिर लैजानु यसको ध्येय होस् ।“ हो बिचारको स्वतन्त्रता शिक्षाको गुण हो। यसले मानिसलाई स्वतन्त्रतापूर्वक सोच्ने, बिचार गर्ने र जिउने प्रेरणा प्रदान गर्दछ। जो अर्काको बिचार र अधिनमा चल्छ वास्तवमा ऊ स्वतन्त्र मानिस हुन सक्दैन ।स्वतन्त्र भएपनि विचारको कैदी छ भने ऊ कहिल्यै महान् हुन सक्दैन । कैदी भएर पनि विचारको स्वतन्त्रता छ भने ऊ महान हुन सक्छ ।
शिक्षाको उद्देश्य सत्यको समुद्घाटन, लोकहितको भावना र सौन्दर्यको पालना गर्नु हो।जीवन र जगतको बारेमा सत्य र तथ्यको खोज र अन्वेषण गरि बस्तुजगत् र आध्यात्मिक जगततिर आफ्नो गन्तव्य बनाई ईश्वरको सर्वश्रेष्ठता प्राप्त गर्न तल्लीन रहन्छ र सर्वोच्चता प्राप्त गर्दछ। लोक र समाजको हितमा ऊआफ्नो जीवन समर्पण गर्दछ ।
वर्तमान समयमा शिक्षाको नाममा अनेक विकृतिहरू आइरहेका छन् ।आजको मानिस सामाजिक र राष्ट्रिय भावनाबाट विचलित भई व्यक्तिगत स्वार्थमा डुब्दै गइरहेको छ। मानवीय मूल्य र मान्यताहरूलाई विर्सदै गइरहेको छ ।आफ्नो सभ्यता र संस्कृतिलाई छाडेर आधुनिक शिक्षाको नाममा पश्चिमी छाडा संस्कृतिलाई आजका युवावर्गले अँगालिरहेका छ्न्।शिक्षा क्षेत्रमा राजनीतिको घुसपैठले गर्दा पठनपाठनमा अवरोध खडा भई कयौं विद्यार्थीको जीवन अन्धकारमय बन्न पुगेको छ। जीम्मेवार पक्षले यसलाई बेलैमा सचेत भएर रोक्ने उपायको खोजीको अवलम्बन गरिनु पर्छ।राष्ट्रिय र नैतिक शिक्षाको खाँचो राष्ट्रमा देखा परेको छ।शिक्षा यस्तो होस् जसले व्यक्तित्वको सर्वाङ्गीण विकास गरोस् , मानवीय शक्तिलाई प्रकट गराओस्, राष्ट्र र राष्ट्रिययताको सम्बर्धन गरोस् , अहिंसा र शान्तिको पक्षमा लम्काओस् ।
यसरी राष्ट्रमा विकासको लागि वैज्ञानिक एवम् प्राविधिक शिक्षाको खाँचो एकातिर छ भने अर्कातिर देशभक्त, नैतिक एवम् चरित्रवान् नागरिक तयार गर्नको लागि नैतिक र राष्ट्रिय शिक्षाको आवश्यकता छ।व्यक्ति समाज र राष्ट्रको उत्थानमा शिक्षानै आधारशिला हो।त्यसैले राष्ट्रले शिक्षाको क्षेत्रमा बढीभन्दा बढी लगानी गर्नु पर्छ। व्यक्ति शिक्षित भए समाज शिक्षित हुन्छ, समाज शिक्षित भए राष्ट्र शिक्षित हुन्छ, रास्ट्र शिक्षित भए राष्ट्रको समुन्नति हुन्छ भन्ने कुरालाई सबैले मनन् गर्ने कि…।
नेपालको दुर्गम र गार्मीण क्षेत्रका बासिन्दाको प्रत्यक्ष अनुहार दयनीय स्थिति , उनीहरूको घर झुपडी , गाउँको पिंढी, दैलो , आँगन, मझेरीका जनताको पनि पहुँच पुग्ने खालको शिक्षा प्रणाली भयो भने मात्र त्यस्तो शिक्षाले सबै वर्गको प्रतिनिधित्व गर्न सक्छ।त्यो पीडित स्थिति , त्यो अज्ञानता, गरिबी , भोक, रोग, शोक, अशिक्षा ,कुण्ठा वास्तविक वेदना, चाहना, धारण , भावना, मर्का र मर्मलाई समेट्ने खालको शिक्षा आजको आवश्यकता होईन र ? त्यसमाथि पनि ती निर्दोष नागरिक हरूलाई हाम्रो आफ्नो समाजको विद्य्यमान सामाजिक अन्याय , कुरीति , भेदभाव , पक्षपात, पछौटे पन, उत्पीडन, जलन छुवाछूत जस्ता तगारो हरूलाई पन्छाउने खालको शिक्षा प्रणाली स्थापित गर्दै समान हकअधिकारका सम्माननीय नागरिकहरूको हितको लागि आवश्यक शिक्षा नै सार्थक र परिणाममुखी शिक्षानै आजको अपरिहार्य शिक्षा हो भन्नमा लाज नमाने हुन्छ। हर्वट स्पेन्सर भन्छन् –“ मनुस्यलाई पूर्ण जीवन व्यतित गर्नको लागि तयार गर्नु नै शिक्षाको कार्य हो।“ शिक्षा आर्जनको सबै भन्दा ठूलो अध्याय भनेको नै प्रकृति जगत नै हो। प्रकृतिको काखमा बसेर मानिसले सभ्यता र संस्कृतिका मुहानहरू भेट्टाएका छ्न्। प्रकृतिको एकान्त कुनामा बसेर वेद व्यासले अठार पुराणको रचना गरेका, वाल्मीकिले रामायणको रचना गरेका, लियोनार्दोदा भिन्चीले हवाइजहाजको कल्पना गरेका धेरै उदाहरणहरू छ्न्।सूर्यले तेज र पराक्रमको चेतना जागृत गर्छ भने चन्द्रमाले शान्ति अनि धैर्यताको शिक्षा प्रदान गर्दछ। यसरी प्रकृति जगतनै हाम्रो लागि शिक्षालय हो। जुन मुलुकमा शिक्षाको समुचित विकास भएको छ, ती मुलुकहरूले विकासको शिखर आरोहण गरेका छ्न् भने जहाँ जहाँ अशिक्षा र अज्ञानता छ, त्यहाँ त्यहाँ अन्धविश्वास मौलाएको छ, पछौटेपन , गरिबी, भोक, रोग र शोकले जरा गाडेको छ । शिक्षामा व्यापारीकरण हुनु किमार्थ राम्रो होइन।आज निजि विद्यालयहरू सुनको फुल पार्ने कुखुरी बनेका छ्न् भने सरकारी विद्यालयहरू त्यसै त्यसै सुकेका छ्न्।यस्तो शिक्षालय वा विद्यालयहरूको कुनै महत्व छैन। यिनले सिङ्गो मुलुकलाई विनासको खाडलमा पुर्याउन सक्छ्न्।आज हामीलाई मुलुक, जनता, भूगोलको हावा, पानी र माटो सुहाउँदो शिक्षा चाहिएको छ।रोजगारमूलक, प्राविधिक एवम् व्यवसायिक शिक्षा तथा विविध आवश्यकता पूरा गर्ने खालको शिक्षा चाहिएको छ।“शिक्षाको ध्येय चरित्र निर्माण गर्ने हो ।“– हर्वट स्पेन्सरले भने झैं “शिक्षा सर्वाधिक महत्वपूर्ण आलोक हो।“ जुन मानिसले एउटा स्कुल खोल्दछ, त्यसले संसारको एउटा झ्यालखाना बन्द गर्दछ ।“ – भिक्टर ह्युगो
यस भनाइ बाट पनि शिक्षाको अपरिहार्यतालाई सजिलै अनुमान लगाउन सकिन्छ। बदलिँदो परिवेशमा हामीले हामीलाई र हाम्रो शिक्षा नितिलाई बदल्दै लानु छ भने आफ्नोपनलाई वा आफ्नो धार्मिक , साँस्कृतिक अस्मितालाई बचाउँदै सो अनुकूलको शिक्षा प्रवाह गर्यौंभने मात्र त्यो शिक्षा मुलुकको भाग्य, भविष्य र हाम्रा सन्ततिको लागि मार्गदर्शन बन्न सक्छ ।
शोषण , दमन, दबाव, असमानता, अन्यौल, अज्ञानता हटाइ विकृति र विसंगति पन्छाई सामाजिक कुरीति ,छुवाछुत, अन्धविश्वास , भोक, रोग र शोकरूपी साङ्लोबाट बाँधिएका व्यक्तिहरूको भलाइको निम्ति काम ,माम र दाम दिने शिक्षा आजको आवश्यकता होइन र ? यदि यस्तो शिक्षा समाजमा जब सम्म कायम हुन सक्दैन, तब सम्म सही मानेमा शिक्षाको विकास भएको मान्न सकिन्न । त्यसैले जनसेवाको सच्चा भावनाले प्रेरित भएर सदा सत्य र निष्ठाको खोजी गर्दै राष्ट्रिय समस्या समाधान गर्ने शिक्षाको आवश्यकताको खोजी गरि देशलाई सही दृष्टिकोण दिनु आजको शिक्षाको अपरिहार्यता हो र समयको माग पनि हो भन्नुमा अत्युक्ति नहोला।हामी सृष्टि बदल्न सक्दैनौं तर दृष्टि बदली सहज रुपले सबैको लागि सबैमा स– सम्मान समर्पित स्तरीय शिक्षाको कल्पना गर्न सक्छौं । आजको शिक्षा पनि यही कुरामा आधारित हुनु पर्छ भन्ने मेरो मान्यता हो ।