यहाँको राजनीतिक यात्रा कहाँबाट कसरी सुरु भयो ? बताइदिनुहोस न ।
जब स्कुले जीवन प्रारम्भ गर्यो । प्राथमिक तह पूरा गरेर माध्यमिक तह सुरु भयो २०४५ सालबाट त्यो ताका काभ्रे जिल्लामा मंगलजनविजय माध्यमिक विद्यालयमा अध्ययन गर्दै थिएँ । त्यो ताका नेपालमा बहुदलिय प्रजातन्त्र व्यवस्थाको पुनःस्थापनाको निमित्त धेरै चरणको आन्दोलन भएको थियो । त्यहि आन्दोलनको जगमा टेकेर कम्युनिष्ट नेताहरुले काभ्रेको स्कुलहरुको संगठन गर्ने क्रममा सदस्यता लिएर २०४६ सालबाट मेरो राजनीतिक जीवन सुरु भएको हो । ४६ सालभन्दा अगाडि काभ्रेको समाज हेर्ने हो भने अत्यन्त विकराल थियो । त्यहाको जनजीवन कष्टकर थियो । त्यो ताका गाउँमा एक सरो लगाउन एक छाक खान गाह्रो नै थियो । कम्युनिष्ट पार्टीमा मैले सदस्यता लिई रहदा त्यो समयमा समानताको कुरा, विभेदको कुरा, समाजमा धनी गरीब बिच पूर्ण रुपमा समान हुनेछ सबै समान हुनेछ, कम्युनिष्ट पार्टीमा लागे पछि कोहि धनी कोही गरीब हुँदैन भनेर कम्युनिष्ट नेताहरुले हाम्रो कलिलो दिमागमा यस्तै क्रान्तिका कुरा भर्ने काम गर्नुृहुन्थ्यो । समाजमा सबै खालका मानिसहरुको चेतना अभिवृद्धि हुन्छ, सबै जना जागरुक हुन्छ भनेर उहाँहरुले यसरी पार्टीको नीति सिद्धान्तको बारेमा भन्नुभएको थियो । यहि कुराहरुको जगमा टेकेर हामी कम्युनिस्ट पार्टीको सदस्य भयौँ । हाम्रो कलिलो दिमागलाई यस्तै बकम्फुसे कुरा गरेर हामीलाई भ्रममा पार्नुभयो । मेरो बुबा पञ्चायतकाल देखि नै राजनीतिमा सकृय हुनुहुन्थ्यो । त्यहिबाट बढि प्रेरित भएर ममा राजनीतिक चेतना जागृत भएको जस्तो लाग्छ र विचमा विभिन्न राजनीतिक संगठनमा रहेर काम गरे, विभिन्न देश घुमे र म एउटा निष्कर्षमा पुगे कि विश्वको उत्कृष्ट व्यवस्था नै प्रजातन्त्र रहेछ । त्यसैले म २०६४ सालमा नेपाली कांग्रेस प्रवेश गरेर आज यो ठाउँमा आईपुगेको हो ।
हिजोका दिनमा सम्झिदा खेरी विकट काभ्रका विकट क्षेत्रहरुमा जहाँ शिक्षा, बाटो लगायतका विकास भएको थिएन । त्यो दिनहरुलाई सम्झिदा आफूले त्यहाको नागरिकहरुका निम्ति के कस्तो योगदान पुर्याउनुभयो ?
जब म नेपाली काँग्रेसमा प्रवेश भएँ । काँग्रेसको आस्था विचार बोकेर अगाडि बढ्ने क्रममा संगठन विस्तार गर्ने क्रममा धेरै मिहेनत गरेँ । संगठन विस्तारको लागि गाउँ गाउँ टोल टोल बस्तीमा पुगेँ । काभ्रे १ नम्बर क्षेत्रमा काँग्रेसको संगठन बलियो भयो । त्यसपछि त्यहाँको जनताको जीवनस्तर सँग जोड्न पुगेँ । त्यहाँको बाटो, शिक्षा, खानेपानी, स्वास्थ्य लगायतका क्षेत्रमा त्यहाँको समस्यालाई नजिकबाट नियाल्न पाएँ । त्यहाँको कष्टकर जीवनलाई कुन ढंगले सहज बनाउन सकिन्छ भन्ने क्रममा सबभन्दा पहिला बाटोको खानेपानीको सारा समस्याहरुसँग मैले केही हदसम्मा सहज बनाउन सफल भएँ । महाभारत, तेमाल, रोशी, चौरी देउराली जस्ता धेरै गाउँपालिकाको वडाहरुमा मलै गरेको कामको मूल्याँकन गरिरहनुभएको छ । मलाई सम्झिरहनुभएको छ । त्यसकारण मेरो संगठनमा विकास निर्माणको कामहरुमा मैले सक्ने र आफ्नो क्षमता र बुद्धिले भ्याउने सम्म गरिरहेको थिएँ, गरिरहेको पनि छु र भोलीका दिनहरुमा गरिरहने पनि छु । त्यसकारण त्यही कामको लागि अहोरात्र खटेर संगठन मजबुद बनाउन लागि रहेको छु । त्यसकारण सम्झिन्छु कहिले काही मेरो धेरै दुःखका दिनहरु सम्झिन्छु एक किसिमको खुशी पनि लाग्छ मलाई ।
लामो समयपछि काभ्रे काँग्रेसमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरण पनि भएको छ । काभ्रे काँग्रेसको नेतृत्वमा तपाई आएपछि काभ्रे काँग्रेसलाई कसरी व्यवस्थित गर्नुभएको छ ? अर्थात फरकपना चाहि के ल्याउनुभएको छ तपाई नेतृत्वमा आउनु भए पछि ?
म १४ औ महाअधिवेशन पछि नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति भएँ । सभापति भएपछि लगभग लगभग १ वर्षको समय वितिसकेको छ । एक वर्षमा पनि पार्टीलाई संस्थागत, सुदृढ र सशक्त बनाउने प्रयास गरेको छ । विभिन्न अभियान संचालन गरेको छ । यो बिचमा धेरै चुनावहरुः पार्टी अधिबेशन, स्थानीय निर्वाचन, संघ र प्रदेशको चुनाव भईरहेको छ । वास्तवमै मैले काम गर्ने पूरा समय व्यवस्थापन गर्न सकिरहेको छैन । अव केही समय पछि र यो चुनाव सके पछि व्यापक रुपमा काभ्रे काँग्रेसलाई सशक्त बनाउनेछु यसको निमित्त सबै साथीहरुलाई जिम्मेवारी दिएर तल्लो लेभल सम्म १३५ वडामा काँग्रेसको जुझारु साथीहरु हुनुहुन्छ , २० हजार भन्दा बढि क्रियाशिल साथीहरु हुनुहुन्छ, युवा साथीहरु, अत्यन्त क्षमतावान साथीहरु हुनुहुन्छ त्यसैले म तपाईलाई यो संचार माध्यम मार्फत भन्न चाहन्छु अवको एक डेढ वर्ष भित्र काभ्रे काँग्रेसले नयाँ फड्को मार्नेछ । उत्साहका साथ काभ्रे काँग्रेसलाई विपक्षी पार्टीभन्दा धैरै स्पीडले कुद्न हामी सफल हुनेछ । त्यसकारणले काभ्रे काँग्रेस नेतृत्व पनि अव नयाँ पुस्तामा आइसकेको छ । अव हामी पुस्तान्तरण गर्ने क्रममै छौँ । कि अव हामी पनि एक पल्ट सभापति भयो बारबार हुने पक्षमा हामी छैन । नयाँ युवाहरुलाई नेतृत्व दिएर काभ्रलाई अत्यन्त सशक्त जुझारु एक्काइसौ शताब्दीको काँग्रेस र लोकतान्त्रिक विचार र पद्धतिमा तल्लीन काँग्रेस बनाउन हामी प्रयत्नशील छौँ ।यति खेर हामी संघ र प्रदेशको निर्वाचनमा होमिएका छौं । यो निर्वाचनमा कांग्रेसलाई र गठबन्धनलाई अत्यधिक बहुमतले विजयी गराउनुस हामी काभ्रे कांग्रेसलाई अझ सशक्त बनाउछौ ।
तपाईले यति बेला नेपाली काँग्रेसलाई विजय गराउन सहयोग गर्नुपर्छ भन्नुहुन्छ । यति बेला यहि पार्टीलाई जिताउनुपर्ने अथवा जित्नुपर्ने कारण चाहि के छ ?
नेपाली काँग्रेसलाई मात्र होइन लोक तान्त्रिक बाम गठबन्धनलाई जिताउने हाम्रो उदेश्य हो । त्यो अनुरुप काँग्रेस गठबन्धन भित्रको एउटा नेतृत्व गर्ने दल भएको कारणले काँग्रेस मात्र होइन गठबन्धन भित्रको सबै उम्मेदवारलाई जिताउनुपर्ने हाम्रो दायित्व छ । नेपाली जनताले धेरै वर्षको आन्दोलनबाट पाएको संविधान, वि.पि. कोइरालाले २००७ सालमा परिकल्पना गरेको संविधानसभा, नेपाली जनताले नेपाली जनताबाट अनुमोदित प्रतिनिधीले लेखेको संविधानले मात्र नेपालको विकास समग्र रुपमा जनताको जीवनस्तर उकासिन्छ भन्ने जुन उहाँको कल्पना वास्तवमै आज नेपाली जनताले त्यसको शाब्दिक अर्थ पुष्टि हुन गइरहेको अवस्थामा त्यत्रो जनताको रगत पसीनाले लेखेको संविधान माथि नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष के.पी. ओलीको नेतृत्वको सरकारले जुन संविधानको मूल आधारभूत खण्ड माथि प्रहार गर्ने काम भयो, संविधानको धज्जी उडाउने काम भयो, त्यसकारण यो गठबन्धन दलको शिर्ष नेताहरुले यो कुराको पूर्ण रुपमा अनुभूति गरेर नेपालको अग्रगामी पार्टीहरु एक भएर प्रतिगामीको विरुद्ध साझा कमिट्मेन्ट गरेर निस्तेज गरेर जुन अभियान अन्तर्गत काँग्रेसले लोकतान्त्रिक बाम गठबन्धन अगाडि बढेको छ । त्यसकारण म लोकतान्त्रिक बाम गठबन्धनको काभ्रे प्रतिनिधि सभा १ ख को उम्मेदवार हुँ । हामीसँग आदरणीय सूर्यमान दोङ जी पनि हुनुहुन्छ । लोकतान्त्रिक बाम गठबन्धनको पक्षमा सारा जनताहरु उर्लेको छ । त्यसकारणले काँग्रेसले जित्नुपर्छ लोकतान्त्रिक बाम गठबन्धनले जित्नुपर्छ भन्ने हाम्रो मान्यता छ ।
यो गठबन्धनलाई चाहि विशेष अहिले प्रतिपक्ष दलले आफ्नो स्वार्थ पूरा गर्नको लागि यो गठबन्धन गरिएको भन्ने खालका आरोपहरु आइरहदा गठबन्धन काँग्रेसका लागि आवश्यक छैन भन्ने कुरा चाहि स्थानीय तहको निर्वाचन देखि नै आइरहेको कुरा हो । र पनि यहाँहरुले गठबन्धन गरेरै छाड्नुभयो, यो किन आवश्यक थियो ? के का लागि गठबन्धन गर्नभयो ? गठबन्धन पछि के फाइदा हुन्छ ? नेपाली काँग्रेसलाई अथवा जनतालाई ?
गठबन्धन नेपाली काँग्रेसको लागि मात्र होइन । आम नेपाली जनताको जीवनस्तर उकास्नुपर्ने लोकतान्त्रिक परिपाटीमा जुन हस्तक्षेत गरेको छ, त्यसलाई रोक्नको निम्ति के.पि. ओलीको नेतृत्वले, यसलाई रोक्नको निमित्त हो पहिलो कुरा , अनि दोस्रो कुरा, समुन्नत नेपालको जुन परिकल्पना नेपाली जनताले गरेको छ यसलाई रुपान्तरित रुप दिनको निमित्त यो गठबन्धनको मुख्य उदेश्य हो । यहाँ काँग्रेसले जित्ने मात्र मुख्य कुरा होइन, काँग्रेसले मात्र जित्ने हो भने काँग्रेस एक्लैले पनि जित्ने अवस्था थियो तर पनि काँग्रेसले सबै यो देशका अग्रगामी पार्टीहरुलाई एकिकृत गरेर लोकतान्त्रिक बाम गठबन्धन गरेर सबै दलका अग्रगामी पार्टीहरुलाई एकै ठाउँमा उभ्याएर पछि सम्म गठबन्धन गरेर यो देशलाई विकास र नेपाली जनतालाई सुशासनको अनुभूति गराउनको निमित्त काँग्रेसले गठबन्धन गरेको हो । काँग्रेस जित्नको लागि मात्र हो भने जित्न सकिन्थ्यो । तपाईले भने जस्तो कम्युनिष्ट पार्टी एमालेले भनेको कुराहरु स्वाभाविक नै हो । प्रजातान्त्रिक व्यवस्थामा स्वतन्त्रतालाई कुण्ठित पनि गर्न सक्दैनौ । रोक्न पनि सक्दैनौ त्यसकारणले उहाँ कम्युनिष्ट पार्टी नेताहरुको एक किसिमको अधिकार पनि हो उहाँहरुले बोल्न पाउने अधिकार संविधान प्रदत्त उल्लेख भएको कारण हामीेले उहाँहरुलाई आलोचना गर्ने, उहाँहरुले विपक्षी पार्टी आम लोकतान्त्रिक गठबन्धन पार्टीलाई यसको औचित्य माथि बेगल ढंगले व्याख्या गर्ने त्यसलाई अन्यथा पनि लिनु हुँदैन । तर समग्रमा भन्नु पर्दा चुनाव जित्न मात्रै गठबन्धन होईन, निरंकुशता र अधिनायकवादलाई टाउको उठाउन नदिन र संविधान प्रदत्त जनताको लोक्तान्त्रिक अधिकार रक्षाका निमित्त गठबन्धन गरेको हो ।
यति बेला तपाई उम्मेदवार भएर गाउँ गाउँमा गइरहनुभएको उसैत यहाँ काभ्रेको विभिन्न ठाउँमा घुमिरहनुभएको छ र अहिले घुम्ने ठाउँमा पनि कतिपय ठाउँमा यहाँले भोट माग्दै गर्दा त्यहा जादा पनि कहाँ कहाँ के को समस्या देख्नुभएको छ ? ती समस्या समाधान गर्न कस्तो खालको योजना बनाउनुभएको छ ?
काभ्रेको १३५ ओटै मलाई राम्रोसँग थाहा छ । कुन गाउँमा के समस्या छ । कुन वडामा के अप्ठ्यारो छ भन्ने कुरा मलाई राम्रोसँग थाहा छ पहिलो कुरा, दोस्रो कुरा, अहिलेको वर्तमान परिस्थितिमा गाउँघरतिर समस्या भनेको बाटोको, स्वास्थ्यको,स्कुलको, खानेपानीको आधारभूत समस्याहरु छ । त्यसकारण यो परिपूर्ति हुने बाटोमा गइसकेको छ । मुख्य त हाम्रो लक्ष्य, उदेश्य भनेको आम नेपाली युवाहरुलाई यो देशमै रोजगारको अवसर सिर्जना गरिदिनुपर्छ साँच्चिकै नेपाल बस्न योग्य बनाउनु छ भने । खाडीमुलुकमा, युरोपमा, अमेरिकामा गइरहेको युवाहरुलाई रोकेर देश निर्माणको लागि समृद्धको बाटो तर्फ डोर्याउन आवश्यक छ । योजनावद्ध ढंगले अगाडि बढ्नुपर्ने छ । तपाईले भने जस्तो यहाँका जनताका समस्याहरु लगभग लगभग अबको केही वर्षभित्रमा पूर्ण हुन्छ जस्तो मलाई लाग्छ । यहाँको कच्ची बाटोहरु, स्वास्थ्य, खानेपानी, सिँचाई, कृषि यावत कुराहरु पूर्णता तर्फ उन्मुख गराएर काभ्रेको गाउँ गाउँमा केही वर्ष पछि सम्पन्न गर्न सकिन्छ जस्तो मलाई लाग्छ ।
यहाँले भन्नुभयो, वैदेशिक रोजगारमा आकर्षित भएका युवाहरुलाई स्वदेशमै रोजगार सिर्जना गर्ने कुरा गर्नुभयो त्यसको लागि कस्तो खालको योजना बनाउनुभएको छ ? कसरी स्वदेशमै युवाहरुलाई राख्न सकिन्छ ?
यो वास्तवमै मेरो मात्र परिकल्पना हो । यो देशका शिर्ष नेताहरुले, राष्ट निर्माण गर्ने प्लानरहरुले योजना बनाउनुपर्यो । प्रोजेक्ट तयार पार्नु पर्यो । यो देशलाई कस्तो बनाउने भन्ने सन्दर्भमा एउटा मास्टर प्लान बनाएर अगाडि बढ्नुपर्ने मैले देखेको छ । जलस्रोतमा धनी छौँ । पर्यटकलाई आकर्षण गर्न सक्ने सगरमाथा लगायत अन्य प्राकृतिक तथा मानव निर्मित स्रोत साधनहरु प्रशस्त मात्रामा रहेको छ । जल जंगल र कृषि योग्य उर्वर भूमि नेपालमै छ । यी स्रोत साधनलाई आधुनिक तरिकाले परिचालन गरेर यसबाट प्रशस्त लाभ लिन सकिने अवस्था छ । यसका लागि नेपालको राजनीतिक दलका नेताहरुले अर्थविद्हरुले राम्रोसँग पहिचान गरेर परिचालन गर्न सकिन्छ । त्यति मात्र होइन यहाँ बन्न सक्ने उद्योग कलकारखाना निर्माण गरेर, विद्युत उत्पादन गरेर, नेपाली लेबर कस्ट सस्तो भएको कारणले ठूला ठूला कम्पनी निर्माण गरेर यहाँका वस्तुहरुलाई विदेशमा समेत निर्यात गर्न सकिन्छ । यसरी यहाँका लाखौ युवाहरुलाई रोजगार दिलाउन सक्ने सम्भावना प्रचुर सम्भावना रहेको छ । यो सम्भावनालाई साकार बनाउन निर्वाचन पछि बन्ने गठबन्धनको सरकारले स्पष्ट योजना बनाएर कार्यान्वयनमा ल्याउनेछ ।
तपाईले २०७० सालमा संविधानसभा सदस्य जित्नुभयो । तपाई नेतृत्वमा भइरहदा सांसद भएर देखिने काम चाहि के के गर्नुभयो ? र के गर्न बाँकी छ ?
२०७० सालको चुनाव जित्दा मैले त्यतिखेर भन्दै आएको थिएँ । नेपाली काँग्रेसको नेतृत्वमा संविधान लेख्नको निमित्त नेपाली काँग्रेसलाई बहुमत दिनुपर्छ भन्ने सन्दर्भमा मैले पार्टी समितिमा पार्टीको केन्द्रिय तहमा गरेको कुराहरुलाई पाटीको तल्लो लेभलसम्म भन्दै आएको थिएँ । नेपाली काँग्रेसलाई बहुमतले मत दिनुस जनतालाई पहिलो संविधान सभाबाट चार जना कम्युनिस्ट पार्टीका प्रधानमन्त्रीको नेतृत्वमा दिने नसकेको संविधान दिन्छौं भनेका थियौं त्यो काम गर्न मेरो सहभागीतामा सफल भयो । नेपाली जनतालाई संविधान दिन सकिन्छ भन्ने काँग्रेसको घोषणा पत्रमा थियो । त्यो कुरा मुताविक काभ्रेको जनताले मत दिनुभयो । काँग्रेसको नेतृत्वमा सरकार आयो । नेपाली काँग्रेसको शिर्ष नेता आदरणीय सुशील कोइरालाको नेतृत्वमा नेपाली जनतालाई २०७२ को संविधान प्रदान गर्न सकियो । त्यो एउटा कुरा हो अर्को कुरा चाहि, काभ्रेको विकट क्षेत्रमा कच्ची मोटरबाटो पुर्याउँछु । डाडाँपारीको सबै वडाहरुमा मोटर बाटो पुर्याउछु । जुन जुन ठाउँमा मोटर बाटो पुगेको त्यो त्यो क्षेत्रमा मोटर बाटो पुर्याउँछु भनी मैले चुनावी अभियानमा बोलेको थिएँ । त्यसरी बोले अनुरुपको काम गरेको छु, सबै ठाउँमा कच्ची मोटरबाटो पुगेको छ । संविधान लेख्न सफल भयो । डाडापारीको कुनैपनि वडामा बाटो नपुगेको ठाउँ कहि पनि छैन । यसको स्तरोन्नतरी गर्ने काम अरु साथीहरुले गर्नुभयो होला तर सुरुवात मैले गरेको हुँ । त्यसकारणले हामी काँग्रेसले जे बोलेको छ त्यो काम पूरा गरेको मलाई अनुभूत भएको छ । बाँकी विकास निर्माणका काम गर्छौं र जनपक्षीय निति र कानुन बनाएर जनताको समस्या हल गर्छाैं ।
तपाईले जितको सम्भावना कस्तो देख्नुभएको छ ? र के के आधारहरु छ तपाईले जित्छु भन्नेमा ?
जित्ने आधार त पहिलो कुरो त जनता नै हो मुख्य आधार । अर्काे मुख्य कुरा भनेको लोकतान्त्रिक बाम गठबन्धनले गरेको काम र उदेश्य हो । यो उदेश्य, यो आन्दोलन र गठबन्धनले गरेको इस्युहरुलाई जनताले बुझिसकेको छ । दोस्रो आधार भनेको नेपाली काँग्रेसको संगठन हो । तेस्रो आधार बाम लोकतान्त्रिक गठबन्धन भएपछि सारा नेपाली जनताहरु बाम लोकतान्त्रिक गठबन्धनको पक्षमा उभिसकेको छ । सारा माहोल छाइसकेको छ त्यसकारण जित्ने आधारहरु वास्तवमै यहि हो । काभ्रेमा बिकास गर्ने पार्टि कांग्रेस मात्र हो, कांग्रेसले जे बोल्छ त्यो गर्छ । २ ओटा प्रतिनिधि सभा र ४ ओटा प्रदेश सभामा गठबन्धनको उम्मेदवारहरुले जित्ने सम्भावना १०० प्रतिशत जस्तै भइसकेको छ ।
यहाँले जित्ने त भन्नुभयो, जनताले यहाँलाई नै भोट किन दिने त यतिबेला ?
म जनताको निमित्त लागिरहने, जनताको सेवामा लागिरहने, जनताकै सुख दुःखमा उभिरहने मान्छे भएको कारणले पहिलो कुरा जनताले मलाई मत दिनुहुन्छ भन्ने कुरामा पूर्ण विश्वस्त छु । दोस्रो कुरा मैले जे बोल्छ त्यो गर्छ, झुटा आश्वासन र फटाहा कुरा बोल्न चाहन्न । त्यही आधारमा मैले जित्छु भन्ने कुरामा विश्वस्त छु । त्यससँगै १३५ ओटा काभ्रेको प्रतिनिधि सभा १ को म उठेको ६९ ओटामा म उठेको ३३ ओटामा संगठन अत्यन्तै बलियो छ । वडा स्तरमा संगठन छ छ । टोल स्तरमा संगठन छ । सारा होनाहार युवा साथीहरु काँग्रेसको पक्षमा र काँग्रेसको संगठनमा छ । त्यसकारण जनताले मलाई भोट दिने आधारहरु हुन र म जित्छु भन्नेमा पूर्ण विश्वस्त पनि छु ।
गठबन्धनको जितपछि जनताले के पाउँछन् ?
गठबन्धनको जित पछि नेपाल अगाडि बढ्ने बाटो खुल्छ । यो देश समृद्धितर्फ उन्मुख हुन्छ । सबै वर्ग तथा युवावर्गहरु नेपालमै रहने अवस्था रहन्छ र नेपाली जनताले सोचेको गाउँ, ठाउँ, समाज बन्नेछ भन्ने आम नेपालीहरुको चाहना छ । त्यसकारण यो गठबन्धन दलको नेतृत्व आयो भने, सारा नेपाली जनताले सुखको सास फेर्न सकिन्छ । सुशासनको अनुभूति गर्न पाउनेछन् ।
अन्त्यमा आम नागरिकलाई तपाईको सुझाव के छ ?
अन्त्यमा आम जनता तथा तमाम मतदाताहरुलाई आव्हान गर्न चाहन्छु, म प्रतिनिध सभा १ को ख को उम्मेदवारको रुपमा म उभेको छु । नेपाली काँग्रेसको तर्फबाट, बाम गठबन्धनको तर्फबाट आम मतदाताहरुलाई अनुरोध गर्न चाहन्छु । लोकतान्त्रिक बाम गठबन्धनको यो काभ्रे प्रतिनिधि सभा २ र ४ ओटा प्रदेशमा लोकतान्त्रिक बाम गठबन्धनको उम्मेदवारलाई जिताउनको निमित्त म हार्दिक अनुरोध र अपिल गर्न चाहन्छु । धन्यवाद