काभ्रे
नेपाली कांग्रेसका केन्द्रिय सदस्य गणेश लामाले देश गम्भीर मोडमा पुगेको भन्दै संविधान, सहमति र संवादमार्फतै समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।
आफ्नो सामाजिक सञ्जालमार्फत नेता लामाले लेखेका छन् — “शान्ति, संविधान र सहमतिको बाटो नै समाधानको बाटो हो। संकट परिवर्तनको अवसर पनि हो।”
उनले वर्तमान आन्दोलनले युवापुस्ताको आकांक्षा प्रष्ट देखाएको उल्लेख गर्दै लोकतन्त्रको मर्म नै जनभावना अनुसार निर्णय गर्नु रहेको बताए।
“युवाहरूको आवाज सुन्नुपर्छ, बुझ्नुपर्छ र आत्मसात् गर्नुपर्छ,” उनले लेखेका छन्।
लामाले शान्तिपूर्ण संवाद र संवैधानिक मार्गबाटै समाधान खोज्न आग्रह गर्दै जनभावनासँगै उभिएर देशलाई स्थायित्व र सम्भावनाको दिशामा लैजानुपर्नेमा जोड दिएका छन्।
उनको भनाइमा, राजनीति समाधानको माध्यम हुनुपर्छ, समस्या सिर्जना गर्ने कारण होइन। “अब हामी सबैले उठेर, राष्ट्र र भावी पुस्ताका लागि सोच्नुपर्छ,” भन्ने उनको भनाइ छ।