पनौती / काभ्रे
पनौती नगरपालिका–१२ वटै वडामा सञ्चालन भइरहेको पशुधन बिमा कार्यक्रमले स्थानीय कृषकलाई ठूलो राहत दिएको छ। आर्थिक वर्ष २०८१/८२ बाट सुरु गरिएको यो कार्यक्रममार्फत नगरभित्र पालिएका गाई, भैंसी, बाख्रा, भेडा, बाङ्गुर/सुंगुर, कुखुरा तथा हाँसजस्ता पशुपन्छीको बिमा नगरपालिकाको पशु शाखाले सहज रूपमा गरिरहेको नगरपालिकाले जानकारी दिएको छ ।
सामान्यतया कृषकले व्यक्तिगत रूपमा बिमा गर्दा झन्डै १४–१५ सय रुपैयाँ खर्च हुने भए पनि नगरपालिकाको समन्वयपछि निशुल्क बिमा गरेर कृषकलाई सजिलो भएको मात्र छैन बिमाबारे जनचेतना पनि वृद्धि भएको छ।
पशु शाखाकी प्रमुख दिपिका रेग्मीका अनुसार पनौती नगर क्षेत्रमा करिब ३० हजार बाख्रा, १० हजार गाई, ६ हजार भैसी, ५ सय बाङ्गुर/सुंगुर तथा झण्डै १ लाख पन्छी रहेको तथ्यांक छ।
हालसम्म १२ वटै वडाबाट ४ हजार ४८ जना कृषकले निशुल्क बिमा कार्यक्रममा सहभागिता जनाइसकेका छन्। नगरपालिकाले हालसम्म ५ हजार २ सय ८१ गाई, २ हजार २ सय ३१ भैसी, ५ हजार ७ सय ८० बाख्रा, २४ हजार पन्छी तथा १८ वटा बाङ्गुरको बिमा सम्पन्न भइसकेको प्रमुख रेग्मीले जानकारी दिइन्।
उनका अनुसार अहिलेसम्म करिब २ सय पशु मृत्यु भएका घटनामा क्षतिपूर्ति दाबी भुक्तानीसमेत दिइसकिएको छ, जसले कृषकमा बिमाप्रतिको विश्वास अझ बढाएको बताइन् ।
रेग्मीले नगरपालिकाले आगामी दिनमा बिमाको दायरा थप बढाउँदै कृषकलाई अझ सुरक्षित र टिकाउ पशुपालनतर्फ प्रोत्साहन गर्ने तयारी भइरहेको पनि बताइन् ।




