बनेपा
बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सहकारी संस्थाको साधारण सभा (कार्यव्यवस्था) निर्देशिका–२०७६ बमोजिम एकै दिन चारवटा एकाइ बैठक सञ्चालन गरी मंसिर ६ गते भएका निर्णयहरूलाई एकाइ प्रतिनिधि प्रमाणित सभाबाट पारित गरेपछि साधारण सभा औपचारिक रूपमा सम्पन्न भएको हो।
एकाइ बैठकहरूमा कुल सदस्य संख्याको ५६.२१ प्रतिशत सदस्यको सहभागिता रहेको संस्थाले जनाएको छ।
सभाले आर्थिक वर्ष ०८१/०८२ को मुनाफाबाट सदस्यहरूलाई ८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। साथै संरक्षित पूँजी फिर्ता कोषमार्फत बचतमा गरेको योगदानका लागि २.८ प्रतिशत र ऋणमा गरेको योगदानका लागि २.५ प्रतिशतका दरले अतिरिक्त लाभ प्रदान गरिने छ।
साधारण सभाले संस्थाको आफ्नै भवन निर्माण गर्ने र सबै सदस्यको शेयर पूँजी बराबरी १० हजार रुपैयाँ कायम गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिएको छ।
सभामा पेश गरिएको लेखापरीक्षण प्रतिवेदनअनुसार आर्थिक वर्ष ०८१/०८२ मा संस्थाले ४ करोड १७ लाख ८४ हजार ६ सय ७२ रुपैयाँ ६४ पैसा सञ्चालन मुनाफा आर्जन गरेको छ। सोही अवधिमा संस्थाको कुल सम्पत्ति २ अर्ब १२ करोड ७७ लाख २० हजार २ सय ३५ रुपैयाँ ८६ पैसा पुगेको छ।
त्यस्तै, बचत हिसाब १ अर्ब ७२ करोड १७ लाख १० हजार १८ रुपैयाँ ८५ पैसा, शेयर पूँजी १७ करोड २१ लाख ८९ हजार ७ सय रुपैयाँ, संस्थागत पूँजी १८ करोड ४१ लाख ६८ हजार १४१ रुपैयाँ २१ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ। संस्थाले लगानी गरेको ऋण १ अर्ब ३४ करोड ४९ लाख ३२ हजार ७१ रुपैयाँ ४० पैसा रहेको छ।




