ललितपुर/बागमती
तामाङ संघका केन्द्रीय अध्यक्ष तथा नेपाली कांग्रेसका सक्रिय नेता रामकृष्ण लामा (इन्द्र) ले गृह जिल्ला ललितपुरसँगै आफ्नो निर्वाचन क्षेत्र ललितपुर क्षेत्र नम्बर–१ का नागरिकहरूसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेका छन् । आसन्न निर्वाचनमा ललितपुर क्षेत्र–१ बाट समानुपातिक सांसद उम्मेदवारका लागि सिफारिस भएसँगै उनले क्षेत्रीय तहमा जनसम्पर्कलाई तीव्र बनाएका हुन् ।
लामो समयदेखि सामाजिक सेवा र राजनीतिमा सक्रिय रहेका लामा आफ्नो क्षेत्रको हरेक नागरिकको सुख–दुःख बुझ्न सधैं अग्रसर रहँदै आएका छन् । शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार र सामाजिक न्यायका सवाललाई प्राथमिकतामा राख्दै उनले ललितपुर क्षेत्र–१ लाई आफ्नो राजनीतिक कर्मथलोको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेताको जिम्मेवारी चुनाव जित्नु मात्र नभई जनताको समस्या समाधान गर्नु हो भन्ने धारणा उनको थियो ।
भेटघाटको क्रममा लामा बागमती गाउँपालिकाका विभिन्न वडामा पुगेर स्थानीयवासी, शिक्षक, अभिभावक र जनप्रतिनिधिसँग छलफलमा सहभागी भएका छन् । बागमती गाउँपालिका वडा नम्बर–६ आश्राङस्थित बाल मनोरमा आधारभूत विद्यालयमा पुगेर उनले विद्यालयका शैक्षिक तथा भौतिक समस्याबारे जानकारी लिएका थिए । उक्त विद्यालयमा उनले विद्यार्थीहरूको शैक्षिक भविष्य सुरक्षित गर्न छात्रवृत्तिका लागि अक्षय कोष स्थापना गरेका छन् ।
त्यसैगरी उनले बागमती गाउँपालिका वडा नम्बर–७ मा रहेको जनक माध्यमिक विद्यालयमा पुगेर विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूसँग अन्तरक्रिया गरेका छन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश दाहाल र प्रधानाध्यापक गोकर्ण फुयालले खेलमैदान निर्माण कार्य अधुरो रहेको विषय उठाएका थिए । खेलमैदान निर्माणका लागि लामा स्वयंको पहलमा प्रदेश सरकारबाट १७ लाख रुपैयाँ बजेट विनियोजन भइसकेको भए पनि योजना हालसम्म पूर्ण हुन नसकेको जानकारी गराइएको छ । लामा उक्त योजना सम्पन्न गराउन पुनः आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
तामाङ संघका केन्द्रीय अध्यक्षका रूपमा तामाङ समुदायको पहिचान, अधिकार र समावेशी प्रतिनिधित्वका पक्षमा निरन्तर आवाज उठाउँदै आएका लामा समुदायबीच मात्र होइन, विभिन्न वर्ग र समुदायमा पनि लोकप्रिय मानिन्छन् । उनी जातीय पहिचानलाई राष्ट्रिय एकता र लोकतान्त्रिक मूल्यसँग जोडेर अघि बढाउने नेताका रूपमा परिचित छन् ।
समानुपातिक सांसद उम्मेदवारका लागि सिफारिस भएसँगै क्षेत्रमै पुगेर जनताको प्रत्यक्ष कुरा सुन्ने, समस्या बुझ्ने र समाधानतर्फ पहल गर्ने उनको कार्यशैलीले स्थानीय तहमा सकारात्मक सन्देश दिएको छ । भेटघाट कार्यक्रममा नेपाली काङ्ग्रेसका युवा नेता तथा महासमिति सदस्य धनेन्द्र के.सी. पनि संगै गएका थिए ।




