काभ्रे
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काभ्रे क्षेत्र नं. १ का लागि नेपाली कांग्रेसका उम्मेदवार गुणराज मुक्तानलाई जिताउन र चुनावी अभियानलाई सशक्त बनाउने उद्देश्यसहित रोशी–काठमाडौँ सम्पर्क समितिले अन्तरक्रिया तथा चियापान कार्यक्रम आयोजना गर्ने भएका छन्।
रोशी गाउँपालिकाका स्थायी बासिन्दा भई हाल काठमाडौँ उपत्यकामा विभिन्न पेशा, व्यवसाय तथा सेवामा संलग्न रहेका नेपाली कांग्रेसका आस्थावान नेता–कार्यकर्ता, शुभेच्छुक तथा समर्थकहरूसँग प्रत्यक्ष भेटघाट, विचार आदान–प्रदान र संगठनात्मक समन्वय सुदृढीकरण गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रममा आगामी प्रतिनिधिसभा निर्वाचन, क्षेत्र नं. १ को समग्र विकास, लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण, युवाको भूमिका तथा पार्टी संगठनलाई थप मजबुत बनाउने विषयमा खुला छलफल हुने बताइएको छ। उम्मेदवार मुक्तानले अगुवा पुस्तालाई सम्मान गर्दै युवालाई निर्णायक भूमिकामा ल्याउने आफ्नो राजनीतिक दृष्टिकोणबारे समेत धारणा राख्ने कार्यक्रम रहेको छ।
रोशी–काठमाडौँ सम्पर्क समितिले काठमाडौँ उपत्यकामा रहेका सम्पूर्ण रोशीवासी कांग्रेस समर्थकहरूलाई कार्यक्रममा उपस्थित भई चुनावी अभियानलाई सफल बनाउन हार्दिक अनुरोध गरेको छ।
कार्यक्रम २०८२ माघ ९ गते, सिद्धार्थ कट्टेज, तीनकुने, काठमाडौँमा दिउँसो ३ बजेदेखि सञ्चालन हुने जनाइएको छ ।




