गिम्दी / ललितपुर
बागमती गाउँपालिका वडा नं. ७ मा गठित वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा शिक्षक तथा कर्मचारी फुटबल प्रतियोगिता सम्पन्न भएकाे छ।
श्री नारायणी माध्यमिक विद्यालय, गिम्दीलाई केन्द्र बनाई आयोजना गरिएको उक्त प्रतियोगिताको उद्देश्य शिक्षक तथा कर्मचारीहरूलाई खेलकुदको माध्यमबाट आपसी परिचय, सामूहिक भावना तथा एकताको भावना जागृत गराउने रहेको थियो।
कार्यक्रमको सभापतित्व अतिरिक्त क्रियाकलाप समिति संयोजक पशुपति ज्ञामी मगरले गरेका थिए भने प्रमुख अतिथिका रूपमा वडा अध्यक्ष होम प्रसाद बजगाईं उपस्थित थिए। प्रमुख अतिथि बजगाईंले शिक्षा, स्वास्थ्य र खेलकुदलाई एक–आपसमा जोडेर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा वडा अध्यक्ष, वडाभित्रका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरू, अभिभावकहरू तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।
प्रतियोगिताअन्तर्गत पुरुष फुटबल तर्फ जनक माध्यमिक विद्यालयको टिम प्रथम, वडा + जनप्रतिनिधि + प्रहरी चौकीको संयुक्त टिम द्वितीय र आधारभूत विद्यालय + स्वास्थ्य चौकीको संयुक्त टिम तृतीय भएकाे जानकारी अतिरिक्त क्रियाकलाप समितिका सचिव शिक्षक कृष्ण तिमल्सिनाले जानकारी दिए ।
यसैगरी महिला फुटबलतर्फ जनक माध्यमिक विद्यालय + वडा + स्वास्थ्य चौकीको संयुक्त टिम प्रथम, आधारभूत विद्यालयहरूको टिम द्वितीय र नारायणी माध्यमिक विद्यालयको टिम तृतीय भएका थिए । सर्वाधिक गोलकर्ताका रूपमा पुरुष टिमतर्फ वीरेन्द्र जर्घा मगरले ५ गोल तथा महिला टिमतर्फ लक्ष्मी बिष्टले २ गोल गरी उत्कृष्ट प्रदर्शन गरेका थिए ।
सम्पूर्ण खेलाडीहरूलाई मेडल तथा ट्रफीद्वारा सम्मान गरिएको उक्त प्रतियोगितामा निर्णायकको भूमिका मुख्य रेफ्री शंकर किङरिङ सरले निर्वाह गरेका थिए ।




