पनौती / काभ्रे
राष्ट्रिय कृषि कम्पनी लिमिटेडले काभ्रेको पनौतीमा ‘आर.के.सि.एन.एल फूड बैंक’ सञ्चालन गर्ने भएको छ। आगामी वैशाख ५ गते फूड बैंकको औपचारिक उद्घाटन गरिने जानकारी बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो।
संस्थाका अध्यक्ष विशाल हुमागाईंका अनुसार स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै प्रविधिमा आधारित सेवा प्रवाह गर्ने उद्देश्यसहित फूड बैंक स्थापना गर्न लागिएको हो। उनले किसानले उत्पादन गर्दा भोग्नुपरेका समस्या समाधान गर्नुका साथै उत्पादनलाई सहज रूपमा बजारसँग जोड्ने मुख्य लक्ष्य रहेको बताए।
संस्थाको मुख्य कार्यालय कौशलटारमा रहेको छ भने पनौती नगरपालिका–४ मा सहजीकरण कार्यालय स्थापना गरिनेछ। किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाउने, बिचौलियाको प्रभाव बढ्दो रहने तथा उपभोक्ताले महँगो मूल्यमा कृषि उपज खरिद गर्नुपर्ने वर्तमान अवस्थालाई न्यूनीकरण गर्दै स्थायी समाधान खोज्ने लक्ष्यसहित स्थानीय तहसँग सहकार्य गरिने जनाइएको छ।
अध्यक्ष हुमागाईंले सरकारले ल्याएका कृषि नीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा कृषि क्षेत्रमा चुनौती थपिएको उल्लेख गर्दै उत्पादनलाई मागसँग जोड्ने रणनीति अपनाइएको बताए। किसानको मेहनतअनुसार उत्पादित वस्तुले बजार नपाउनु कृषि क्षेत्रको प्रमुख समस्या रहेको उनको भनाइ थियो।
संस्थाले कृषि साक्षरता अभिवृद्धि, उपभोक्तामा सचेतना, स्थानीय तहको सक्रिय भूमिका र प्रविधिको प्रयोगमार्फत कृषि क्षेत्रमा रूपान्तरण ल्याउने लक्ष्य राखेको छ। साथै, किसानलाई उचित मूल्य सुनिश्चित गर्ने, विषादी प्रयोग न्युनिकरण गर्ने, नेतृत्व विकास गर्ने र व्यवसायिक कृषि प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्य पनि रहेको छ।
हालसम्म करिब ४ हजार किसान संस्थामा आबद्ध भइसकेका छन्। आगामी २०८७ सालसम्म ६० लाख किसानलाई आबद्ध गराउने दीर्घकालीन लक्ष्यसहित संस्था अघि बढेको अध्यक्ष हुमागाईंले जानकारी दिए। किसानलाई निर्वाहमुखी खेतीबाट व्यवसायिक कृषि प्रणालीतर्फ रूपान्तरण गर्ने अभियान संस्थाको प्राथमिकतामा रहेको छ।
संस्थाले काभ्रेका सबै किसानलाई समेट्ने लक्ष्य राख्दै प्रारम्भिक चरणमा पनौती, बेथानचोक र धुलिखेलमा कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ। सहकारी संस्था र किसान समूहमार्फत कार्यक्रम विस्तार गरिने जनाएको छ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपानेले संस्थाको उद्देश्य सकारात्मक र व्यवहारिक रहेको उल्लेख गर्दै निजी क्षेत्रको लगानीमा सुरु भएको यो पहल सफल हुने विश्वास व्यक्त गरे।
त्यसैगरी, धुलिखेल नगरपालिकाका कार्यवाहक नगरप्रमुख निराजन जंगमले कृषिमा प्रविधिको प्रयोग अपरिहार्य भएको औंल्याउँदै स्थानीय उत्पादनलाई प्राथमिकता दिने नीति अवलम्बन गर्न सुझाव दिए। कृषिमा प्रशस्त सम्भावना भए पनि अपेक्षित रूपमा काम हुन नसकेको उनले बताए। साथै, स्थानीय तहको तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए।
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमले संस्थाले सुरु गर्न लागेको कार्यक्रमलाई नमुना पहलका रूपमा व्याख्या गर्दै सफलताको शुभकामना व्यक्त गरे। उनले उत्पादन भएर पनि बजार नपाएर खेर जाने कृषि उपजको समस्यालाई समाधान गर्न फूड बैंकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
संस्थाले कृषि क्षेत्रमा रहेका चुनौतीलाई क्रमशः सम्बोधन गर्दै कार्यक्रमलाई विस्तार गर्ने जनाएको छ। कार्यक्रम संस्थाका अध्यक्ष विशाल हुमागाईंको अध्यक्षतामा सम्पन्न भएको थियो।




