पनौती / काभ्रे
पनौती नगरपालिका वडा नं. ४ ठाडोबाटोमा राष्ट्रिय कृषि कम्पनी लिमिटेडको सहायक कम्पनी ‘आर.के.सी.एन.एल फुड बैंक’को आज उद्घाटन गरिएको छ। काभ्रे क्षेत्र न २ का प्रतिनिधि सभा सदस्य बदन भण्डारीले उक्त फाड बैंकको उद्घाटन गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका भण्डारीले किसानका समस्या समाधान र कृषि उत्पादनको गुणस्तर सुधारमा जोड दिएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद भण्डारीले पछिल्लो समय फलफूल तथा तरकारीमा विषादीको प्रयोग अत्यधिक बढेकोप्रति चिन्ता व्यक्त गरे। उनले यस्ता उत्पादनमा रहेका किटाणु तथा विषाक्त पदार्थका कारण क्यान्सरजस्ता गम्भीर रोग बढ्दै गएको उल्लेख गर्दै ‘वजनवास’ प्रयोगबाट ९९ प्रतिशतसम्म किटाणु नष्ट गर्न सकिने धारणा राखे। स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको कृषि उत्पादनलाई सुरक्षित बनाउन यस्ता अभियान आवश्यक रहेको उनले बताएका छन् ।
फुड बैंक स्थापना गरी कृषि उत्पादनको व्यवस्थापन र स्वास्थ्य सुरक्षामा योगदान पुर्याएको भन्दै उनले कम्पनीका लगानीकर्ता तथा सञ्चालकलाई धन्यवाद तथा शुभकामना दिए। व्यवसाय सञ्चालन गर्दा नियम र कानुनको पालना गर्दै दिगो र नाफामूलक ढंगले अगाडि बढ्न उनले सुझाव दिएका छन् ।
“मलाई हरेक दिन किसानका समस्या र गुनासा आउने गर्छन्,” उनले भने, “ती सबै विषय संसदमा उठाउनेछु र किसानले उत्पादन गरेको बस्तुको उचित मूल्य पाउने वातावरण बनाउन सरकारलाई निरन्तर दबाब दिनेछु।”
किसानका अनगिन्ती समस्या अझै समाधान हुन नसकेको उल्लेख गर्दै उनले चुनावका बेला मात्र गाउँमा चहलपहल हुने तर त्यसपछि विकासका काम सुस्त हुने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिए। आफूले राजनीतिमा ठूलो उपलब्धि हासिल नगरे पनि सकेसम्म राम्रो काम गर्ने र गलत कार्य नगर्ने प्रतिबद्धता उनले व्यक्त गरे। “काम गर्न नसके जनतासामु हात उठाउन लाज मान्दिनँ,” उनले स्पष्ट पारे।
किसानका पीडा र समस्याप्रति आफू संवेदनशील रहेको बताउँदै उनले समाधानका लागि अध्ययन र पहल गरिरहेको जानकारी दिए। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कृषक, व्यवसायी तथा सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो।