बनेपा/काभ्रे
काभ्रेपलाञ्चोकको बनेपास्थित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले विद्यार्थीहरूमा स्वास्थ्य चेतना, अनुशासन, प्रतिस्पर्धात्मक भावना तथा सकारात्मक जीवनशैली विकास गर्ने उद्देश्यसहित “छैटौं ज्ञानकुञ्ज रोड रेस–२०८३” आयोजना गर्ने भएको छ। प्रतिष्ठानले आज (मंगलबार) बनेपामा प्रतिष्ठानले पत्रकार सम्मेलन गर्दै आगामी बैशाख २६ गते शनिबार रोड रेस प्रतियोगिता सञ्चालन गरिने जनाएको हो।
प्रतियोगितामार्फत विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा एसईईपछि प्राप्त खाली समयलाई रचनात्मक रूपमा सदुपयोग गर्न प्रेरित गरिने आयोजकको विश्वास छ। “सफल जीवनका लागि स्वास्थ्य, स्वास्थ्यका लागि खेलकुद” भन्ने सन्देशलाई व्यवहारमा उतार्ने लक्ष्यसहित कार्यक्रम गर्न लागिएको प्रतिष्ठानले जनाएको छ।
प्रतियोगितामा छात्र तथा छात्रा दुवै समूहको सहभागिता रहनेछ। छात्रातर्फ ३.६ किलोमिटर दूरीको दौड तिनदोबाटो–चारदोबाटो–चण्डेश्वरी हुँदै विद्यालयसम्म हुने छ भने छात्रतर्फ ७ किलोमिटर दूरीको दौड पनौतीदेखि विद्यालयसम्म सञ्चालन गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताका विजेताहरूलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम हुनेलाई रु. ३० हजार, द्वितीयलाई रु. २० हजार र तृतीयलाई रु. १० हजार प्रदान गरिनेछ।
सहभागी हुन इच्छुक विद्यार्थीहरूले २०८२ सालको एसईई परीक्षा प्रवेशपत्र (सक्कल वा प्रधानाध्यापकद्वारा प्रमाणित प्रतिलिपि) र हालसालै खिचिएको पासपोर्ट साइजको रंगीन फोटो पेश गर्नुपर्नेछ। नाम दर्ताको अन्तिम मिति बैशाख २४ गते तोकिएको छ। ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले कार्यक्रम सफल बनाउन सञ्चारकर्मी, अभिभावक, विद्यार्थी तथा सरोकारवालाको सहयोग र सहभागिताको अपेक्षा गरेको छ।
विगत २४ वर्षदेखि शिक्षाको क्षेत्रमा क्रियाशील ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले किंडरगार्टेनदेखि स्नातकोत्तर तहसम्म गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको जनाएको छ। संस्थाले “विकास, अनुशासन र गुणस्तर” भन्ने मूल आदर्शलाई आत्मसात गर्दै विद्यार्थी उत्पादन गरिरहेको उल्लेख गर्दै स्वास्थ्य, इन्जिनियरिङ, बैंकिङ, उद्योग–व्यवसाय, सुरक्षा निकाय, निजामती सेवा, शिक्षा, सूचना प्रविधि तथा खेलकुद लगायत विभिन्न क्षेत्रमा संस्थाका विद्यार्थीहरूले योगदान पुर्याइरहेको जनाएको छ।