महाङ्काल / गोटिखेल
ललितपुरको महाङ्काल गाउँपालिका अन्तर्गत गोटिखेलमा आगामी जेठ १५ र १६ गते “सृजना, संवाद र संस्कृतिको उत्सव” भन्ने मूल नारासहित दुई दिने महाङ्काल कला साहित्य महोत्सव आयोजना हुने भएको छ ।
महाङ्काल प्रज्ञा प्रतिष्ठान को आयोजना तथा सुनगाभा साहित्य सदन को सहकार्यमा हुन लागेको महोत्सवले स्थानीय कला, साहित्य, भाषा तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
महोत्सवमा साहित्य, संस्कृति र समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याएका स्रष्टा तथा व्यक्तित्वहरुलाई सम्मान गरिने आयोजकले जनाएको छ । यसैक्रममा विशेष सम्मान खेन रिन्पोक्षे गेशे ङिमा तामाङ लाई प्रदान गरिने कार्यक्रम रहेको छ ।
दुई दिने कार्यक्रममा गाउँपालिका भित्रका विद्यालयका विद्यार्थीहरुले विभिन्न जातजातिका मौलिक गायन, नृत्य तथा सांस्कृतिक प्रस्तुति दिनेछन् । जेठ १५ गते खैजेडी भजन तथा १६ गते झाँक्री नाच प्रस्तुत गरिनेछ भने स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुति समेत महोत्सवको आकर्षण रहने आयोजकले जनाएको छ ।
महोत्सवकै अवसरमा “महान्काल प्रज्ञा”, “भुइँकुहिरो”, “प्रेम” लगायत विभिन्न पुस्तकहरुको विमोचन कार्यक्रम पनि राखिएको छ । साथै स्थानीय सर्जकहरुले आफ्ना कविता, गजल, कथा तथा अन्य सिर्जनात्मक रचनाहरु प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।
त्यसैगरी, स्थानीय तहमा प्रज्ञा प्रतिष्ठानको आवश्यकता, भूमिका र प्रभावकारिताबारे परिसंवाद कार्यक्रम पनि सञ्चालन गरिने भएको छ । उक्त परिसंवादमा स्थानीय जनप्रतिनिधि, साहित्यकार, शिक्षाविद् तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले आफ्ना धारणा राख्ने आयोजकको भनाइ छ ।
स्थानीय कला, साहित्य र संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यसहित आयोजना गर्न लागिएको महोत्सवले महाङ्काल क्षेत्रको सांस्कृतिक पहिचानलाई थप उजागर गर्ने विश्वास गरिएको छ ।
महोत्सव अवलोकन तथा सहभागिताका लागि आयोजकले सम्पूर्ण कला, साहित्य र संस्कृतिप्रेमीहरु सहित सम्पुर्ण महाङ्काल गाउँपालिका बासीहरुलाई उपस्थितिका लागि आग्रह गरेको छ ।




