पनौती
पनौती नगरपालिकाले पशुपालन व्यवसायलाई थप उत्पादनमुखी र व्यावसायिक बनाउने उद्देश्यले पशु आहारा व्यवस्थापन तथा युरिया मोलासेस मिनरल ब्लक (UMMB) निर्माण गर्ने सम्बन्धी दुईदिने तालिम सम्पन्न गरेको छ।
पनौती नगरपालिकाको पशुपन्छी विकास शाखाको आयोजनामा जेठ २९ र ३० गते नगरपालिकाको सभाहलमा सम्पन्न तालिममा नगरका विभिन्न वडामा पाँचभन्दा बढी गाईभैंसी पालन गर्दै आएका कृषक तथा पशुपालन फर्मका सञ्चालकहरूको सहभागिता रहेको थियो।
“पशुको स्वस्थ जीवन, उत्पादनमा वृद्धि–राम्रो आहारा हाम्रो समृद्धि” भन्ने नारासहित सञ्चालन गरिएको तालिममा पशुको सन्तुलित आहारा, पोषण व्यवस्थापन तथा घाँस संरक्षणका आधुनिक प्रविधिबारे जानकारी प्रदान गरिएको थियो।

तालिमको पहिलो दिन नेपाल कृषि अनुसन्धान परिषदका मुख्य कृषि वैज्ञानिक लुमनिधि पाण्डे ले पशुपालनसम्बन्धी सैद्धान्तिक विषयमा सहजीकरण गरेका थिए। उनले पशुको पोषण, उत्पादन वृद्धि र वैज्ञानिक व्यवस्थापनका विभिन्न पक्षबारे प्रशिक्षण दिएका थिए।
त्यसैगरी दोस्रो दिन राष्ट्रिय पशु अनुसन्धान केन्द्रका कृषि बैज्ञानिक कपुर भुसालले व्यावहारिक प्रशिक्षण प्रदान गरेका थिए। उनले गाईभैंसीलाई आवश्यक दाना, घाँस र परालको उचित मात्रा निर्धारण गर्ने तरिका, सन्तुलित आहाराको महत्व तथा उत्पादन वृद्धिमा पोषण व्यवस्थापनको भूमिकाबारे जानकारी गराएका थिए।
तालिममा युरिया, भटमासको पिना, खुदो, ढुटो, नुन, सिमेन्ट, मिनरल र चुना प्रयोग गरी युरिया मोलासेस मिनरल ब्लक (UMMB) निर्माण गर्ने व्यावहारिक अभ्याससमेत गराइएको थियो। पशुहरूको पोषण अभाव न्यूनीकरण गरी दूध तथा मासु उत्पादन वृद्धि गर्न UMMB प्रभावकारी हुने प्रशिक्षकहरूले बताएका थिए।
यसैगरी कृषकहरूलाई हे, साइलेजर हेलेज बनाउने विधि, तिनको संरक्षण, उपयोगिता तथा पोषण मूल्यबारे विस्तृत जानकारी दिइएको थियो। तालिम पश्चात् तालिममा सहभागी कृषकहरुलाई नमुनाको रुपमा साइलेज, हेलेज र मिनिरल प्याकेट वितरण गरिएको थियो ।




