पनौती
काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूको स्वागत, माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा विद्यालय तहको एसएलसी–२०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई बधाई तथा शुभकामना प्रदान गर्ने विशेष कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ अवालको अध्यक्षतामा आयोजित कार्यक्रममा श्री श्रीमेहर गणका योजना अधिकृत तथा सेनानी कृष्णबहादुर थापा प्रमुख अतिथि र पनौती नगरपालिकाको शिक्षा शाखाका स्रोतव्यक्ति महेश्वर जङ्गम विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले अनुशासन, परिश्रम र सकारात्मक सोच नै विद्यार्थी सफलताको आधार भएको उल्लेख गरे। गुणस्तरीय शिक्षा नै सक्षम, जिम्मेवार र राष्ट्रप्रति उत्तरदायी नागरिक निर्माणको मुख्य आधार भएको बताउँदै उहाँले विद्यार्थीहरूलाई स्पष्ट लक्ष्य निर्धारण गरी निरन्तर अध्ययनमा केन्द्रित रहन आग्रह गरेका छन् ।
विशिष्ट अतिथि जङ्गमले विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि निरन्तर गर्दै आएका प्रयासको प्रशंसा गर्दै विद्यार्थी केन्द्रित शिक्षण, नैतिक शिक्षा र सिर्जनात्मक सिकाइलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उनले एसईई तथा एसएलसीमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई बधाई दिँदै आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरे।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अवालले विद्यालयको शैक्षिक उन्नयनका लागि शिक्षक, अभिभावक र विद्यार्थीबीचको सहकार्य अपरिहार्य रहेको बताउँदै आगामी दिनमा पनि गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राखेर विद्यालय अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
विद्यालयका प्रिन्सिपल वसन्तराज नेपालले नवआगन्तुक विद्यार्थीहरूलाई विद्यालय परिवारमा हार्दिक स्वागत गर्दै विद्यालयप्रतिको विश्वासका लागि अभिभावकप्रति आभार व्यक्त गरे। उनले एसईई तथा एसएलसी–२०८२ मा विद्यालयले हासिल गरेको उपलब्धि शिक्षक, विद्यार्थी, अभिभावक तथा सम्पूर्ण विद्यालय परिवारको सामूहिक मेहनतको परिणाम भएको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्यका साथ विद्यालय अघि बढिरहेको जानकारी दिएका छन् ।
कार्यक्रममा एसईई तथा एसएलसी–२०८२ मा विभिन्न विषयमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। साथै, सर्वोत्कृष्ट औसत जीपीए हासिल गराउन उल्लेखनीय योगदान पुर्याउने अङ्ग्रेजी विषयकी शिक्षिका निर्मला राउत र कम्प्युटर विषयका शिक्षक सरोज कार्कीलाई विद्यालयले विशेष सम्मानसहित पुरस्कृत गरेको थियो।
विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक नृत्य, गीत तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमले समारोहलाई थप आकर्षक बनाएको थियो। कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय शिक्षाप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।




