यो तस्वीर चम्किलो छ—रातो रंग, ठूला अक्षर, उत्साहित विद्यार्थीको भीड र बीचमा नेताको मुस्कान । त्यसमाथि जताततै छरिएका प्रतिशतका अंक—१३.९५% बढी उत्तीर्ण ! “गएको वर्ष ४७.८६%, यो वर्ष ६१.८१%” भन्ने प्रहार । हेर्दा लाग्छ, देशको शिक्षा क्षेत्र एकै वर्षमा फड्को मारेजस्तो छ । यसका साक्षी—राजनीतिको सिंहासनमा बसेका ओलीज्यू ।
तर सतह मुनि गहिरिएर हेर्दा, यो तस्वीरको मूल गन्ध—भ्रम, तथ्यको तोडमोड र राजनीतिक श्रेयको लोभ मात्र छ । यहाँ तथ्यको बलिदान भएको छ, अनि शिक्षा क्षेत्रका लाखौंको श्रममाथि आँखा चिम्लिएको छ ।
अव्वल, यो “उत्तीर्ण प्रतिशत” भन्ने कुरा अहिलेको SEE मा नै छैन । केपी शर्मा ओली प्रधानमन्त्री नभएको १० महिना बितिसक्दा पनि उहाँको फोटो राखेर शिक्षा सुधारको श्रेय दिंदै गरेको देख्दा लाग्छ, यो फोटो पुँजीवादभन्दा बढी प्रचारवादको नमूना हो । २०७२ पछि लागू भएको लेटर ग्रेडिङ प्रणाली अनुसार, “फेल” शब्दको अर्थ मेटिइसकेको छ । सबै विद्यार्थी ग्रेडसिट पाउँछन्, जस्तोसुकै ग्रेड ल्याए पनि । “पास रेट” भन्ने घोक्रो घिस्रिएर फेरि सडकमा ल्याउने प्रयासको निहितार्थ के हो ? समाजलाई पुरानै डर, निराशा र झूटा गर्वमा बाँधिराख्ने चाहना होइन र ?
यस्तो प्रस्तुतिले कस्तो मानसिकता झल्किन्छ भने—शिक्षाको जटिलता बुझ्नुभन्दा प्रचारकै चौतारीमा चम्किन पल्केका मानिसको सोच । के हामी शिक्षालाई सस्तो प्रचारको अखडा बनाउँदैछौं ? लाखौं बालबालिका, शिक्षक, विद्यालयका वास्तविक परिश्रमलाई बिर्सेर, एकै नेताको फोटो झुन्ड्याएर उपलब्धि देखाउने परिपाटी कति गलत !
भनिन्छ, “नयाँ प्रणाली लागू भएपछि कुनै विद्यार्थी फेल हुँदैन ।” तर यहाँ प्रतिशतमा नचाएर, राजनीतिक ब्यानर बनाइन्छ । यसै सालको शिक्षक आन्दोलनका बेला, ओली स्वयंले शिक्षकहरूलाई “विद्यार्थी फेल गराउने” भनेर सार्वजनिक भाषण गरे । त्यही मुखले आज “१३.९५% बढी उत्तीर्ण” को श्रेय कसरी लिन्छ ? अनि, कुनै नयाँ शैक्षिक नीति, विधि, मुल्याङ्कन प्रणालीको ठोस परिवर्तनबिना संख्यामा अचानक ‘फड्को’ किन ? तथ्य जाँच्न मन नलाग्नेहरूको प्रचार हो यो ।
यस्ता चित्रले शिक्षामा सुधारभन्दा राजनीतिक फाइदा खोज्नेहरूलाई मात्रै सघाउँछ । वास्तवमा शिक्षा क्षेत्रको सफलतामा विद्यार्थी, शिक्षक, अभिभावक, स्कुल व्यवस्थापन, स्थानीय तह, अनि समाजको गहिरो श्रम मिसिएको हुन्छ । कसैले एकलौटी श्रेय लिनु भनेको त्यो समष्टिगत उपलब्धिको खिल्ली उडाउनु हो ।
त्यति मात्र होइन, कुन ग्रेडलाई “उत्तीर्ण” मानिएको हो ? त्यो आधार कतै उल्लेख छैन । सरकारी निर्देशिकामा छ—ग्रेडसिटमा सबै विद्यार्थीको सम्मान । तर यहाँ, तथ्यलाई आफ्नो अनुकूल रंग्याएर समाजमा झूटा उत्सव मनाइन्छ । आँकडा, तथ्य, शैक्षिक नीतिलाई यसरी जथाभावी प्रयोग गर्नु—के त्यो सामाजिक जिम्मेवारी हो ? कि, आँखा छोपेर राजनीतिक मुनाफा कमाउने बाटो ?
शिक्षा क्षेत्रलाई झूटा अंक, रंग र फोटोको नाटकबाट माथि उठाउनु पर्छ । शिक्षा, संख्याको खेल होइन; यहि देशका बच्चाको भविष्य हो ।
यी ‘अंकका महोत्सव’ हरूले शिक्षामा सुधारको ढोका खोल्दैनन्, उल्टै भर्याङ फुटाउँछन् । विद्यार्थीको श्रममाथि राजनीतिक पगरी गुथ्नु, समाजलाई झूटा सपना बेच्नु, अनि शिक्षा नीतिलाई डामाडोल बनाउनु–यस्तो प्रवृत्तिले हाम्रो शिक्षा कहाँ लैजाला ?
नेपालको माध्यमिक शिक्षा परीक्षा अब ‘पास/फेल’ होइन, सीप र बहुआयामिक मूल्याङ्कनको आधार हो । तथ्यमा टेकेर, विद्यार्थीका संघर्षमा कदर गरेर, शिक्षा सुधारको श्रेय सम्पूर्ण समाजले लिन सक्ने ढोका खोल्नुपर्छ । नत्र, यस्ता तस्वीरका प्रचारबाजीले शिक्षा क्षेत्र गहिरो अन्धकारतिर धकेलिन्छ ।
सवाल एकै छ—शिक्षाको बखानमा भ्रम किन बेचिरहन्छौं ? शिक्षामा राजनीतिक ‘ब्रान्डिङ’ होइन, तथ्य र इमानदारी चाहिन्छ ।