ललितपुर/ आश्राङ
बागमती गाउँपालिका वडा ६ भालुखोलामा बर्सौँदेखि थन्किएर बसेको तेलमिल संचालनमा आउने भएको छ । उक्त तेलमिल संचालनको लागि वडा अध्यक्ष नारायण भोम्जनले बिशेष पहल गरेका छन् । अध्यक्ष भोम्जनले एक सुचना जारी गर्दै भालुखोलामा जिर्ण अबस्थामा रहेको तेलमिल पुनः संचालनको लागि सरोकारवालाहरुको बैठक पनि बोलाएका छन् । उनले सुचनामा तत्कालीन समयमा सि.डि.एच.पी.को सहयोगवाट संचालित तेलमिल हाल जिर्ण अवस्थामा रहेको भन्दै भालुखोला तेलमिल विगत १५/२० वर्ष देखि अलपत्र अवस्थामा रहेको कारण यतिकै छाड्न नहुने महसुस गरि तेलमिल पुनः संचालन गर्नु पर्ने आबश्यक देखिएको उल्लेख गरेका छन् । साथै हाल यहाँका कृषकहरु तेल पेल्नका लागि काठमाण्डौ उपत्यका पुग्न वाध्य रहेको र त्यसले नागरिकहरुलाई कठिन र खर्चिलो भएको सूचनामा भनिएको छ । सूचनामा जिर्ण अबस्थामा रहेको भालुखोला तेलमिललाई पुनः समिति गठन गरी संचालनमा ल्याउनको लागि सर्वदलियको प्रतिनिधि, समाजसेवी, बुद्धिजिवीहरु र सम्पूर्ण आश्राङ्ग वासीहरुलाई सल्लाह, सुझाव र जिज्ञासाको लागि आगामी माघ १२ गते वडा कार्यालयमा उपस्थित भई दिनुहुन समेत आग्रह गरिएको छ ।
आफ्नै वडामा भएको तेलमिल संचालनमा आए काठमाडौसम्म गएर तेल पेल्नुपर्ने बाध्यता हट्ने साथै खर्च र समय पनि बचत हुने वडा न ६ का एक कृषक बताउँछन् ।