पनौती / काभ्रेपलान्चोक
पनौती नगरपालिका अन्तर्गत सञ्चालनमा ल्याउन लागिएको नगर अस्पतालको कर्मचारी पदपूर्तिमा गम्भीर अनियमितताको प्रयास भएको खुलासा भएको छ। खोपासी स्वास्थ्य चौकीका इन्चार्ज शुभाकर श्रेष्ठले आफ्नी श्रीमतीलाई जागिर खुवाउने प्रयास असफल भएपछि पदपूर्ति समितिका सदस्य सचिव डा. सम्झना शर्माले पदबाट राजीनामा दिएको नगरपालिकाको सचिवालयले दाबी गरेको छ।
नगरपालिकाका अनुसार नगर अस्पतालका लागि कम्प्युटर अपरेटर पदमा खोपासी स्वास्थ्य चौकीका इन्चार्ज शुभाकर श्रेष्ठकी श्रीमती सृजना मैनालीलाई नियुक्त गराउने उद्देश्यले डा. सम्झना शर्मा र इन्चार्ज श्रेष्ठ लामो समयदेखि सक्रिय रहँदै आएका थिए। तर निष्पक्ष, पारदर्शी र फेयर परीक्षा प्रक्रियामा सृजना मैनाली योग्य नदेखिएपछि उनीहरूको प्रयास असफल भएको सचिवालयको भनाइ छ।
डा. सम्झना शर्मा पदपूर्ति समितिको सदस्य सचिवको हैसियतमा रहँदै आएकी थिइन्। सचिवालयका अनुसार नगर अस्पतालका लागि लिइएको अगाडिको अन्य विभिन्न परीक्षासम्बन्धी प्रक्रियामा शर्माको हस्ताक्षर रहेको छ, जसले उनी प्रक्रियामा पूर्ण रूपमा संलग्न रहेको पुष्टि गर्छ। विगतमा भएका सात पदमा डा. सम्झनाले केही गुनासो नगरेको तर अहिले श्रेष्ठको श्रीमती को जागिर नहुने भए पछि बखेडा झिकिएको नगरपालिका श्रोतले जनाएको छ ।
जब आफ्ना पक्षमा नतिजा आउने सम्भावना समाप्त भयो, त्यसपछि राजीनामा दिएर मिडियामार्फत दबाब सिर्जना गर्ने प्रयास गरिएको दाबी सचिवालयले गरेको छ।
सचिवालय स्रोतका अनुसार डा. शर्मा र इन्चार्ज श्रेष्ठले पदपूर्ति समितीमै सृजना मैनालीलाई अनिवार्य रूपमा नियुक्ति गर्नुपर्ने अडान लिँदै आएका थिए। त्यतिमात्र होइन, मेरी श्रीमतीले नाम मात्र लेखेर आउँछिन् अरु तपाईंहरूले मिलाउनु पर्छ भन्दै आएको कुरा पनि नगर प्रमुखको सचिवालयले बाहिर ल्याएको छ ।
कानुन, मापदण्ड र निष्पक्षताविरुद्ध जाने कुनै पनि निर्णय नगरपालिकाले स्वीकार नगरेपछि उनीहरू असन्तुष्ट बनेका थिए। निष्पक्ष परीक्षा हुने भएपछि आज इन्चार्ज शुभाकर श्रेष्ठको श्रीमती परीक्षामा सहभागी भएकी थिइनन् ।
आफ्नो श्रीमतीको नियुक्ति निश्चित नहुने देखेपछि इन्चार्ज शुभाकर श्रेष्ठले अन्य कर्मचारीहरूलाई धम्क्याउने तथा मानसिक दबाब दिने गरेको समेत बुझिएको छ। उनीहरूले धम्क्याएको रेकर्ड सचिवालयमा सुरक्षित रहेको पनि सचिवालयले जनाएको छ । यस विषयमा आन्तरिक छलफल र निगरानी भइरहेको नगरपालिकाले जनाएको छ।
नगरपालिकाको सचिवालयले नगर अस्पतालजस्तो संवेदनशील संस्थामा नातावाद, कृपावाद र व्यक्तिगत स्वार्थका आधारमा नियुक्ति हुन नदिने स्पष्ट चेतावनी दिएको छ। सबै प्रक्रिया कानुनसम्मत, पारदर्शी र निष्पक्ष रूपमा अगाडि बढाइने नगरपालिकाको अडान रहेको छ।
नगर अस्पताल सुरु गरी स्वास्थ्य सेवामा पहुँच नभएका जनतालाई सेवा प्रदान गर्ने नगर प्रमुखको योजना विफल बनाउने प्रपञ्च रचिएको दाबी पनि सचिवालयको छ ।
डाक्टर सम्झना शर्मा र इन्चार्ज शुभाकर श्रेष्ठ दुवै कर्मचारीले कर्मचारी आचार संहिता उल्लंघन गरेको हुँदा अनुशासनको कारबाही गर्नु पर्ने समेत सचिवालयले माग गरेकोछ ।




