डोटी / पुर्वी चौकी
दुर्गम गाउँका बालबालिकाको शिक्षामा आर्थिक अभाव बाधक नबनोस् भन्ने उद्देश्यका साथ श्याम फुलुमाया फाउन्डेसनबाट संचालित श्याम फुलुमाया हस्तकला उद्योगले डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका–७ दुलवास्तास्थित श्री सरस्वती आधारभूत विद्यालयका १ सय १० जना विद्यार्थीलाई ट्र्याकसुट, विद्यालय झोला वितरण गरेको छन्।
अमेरिकामा बसोबास गर्दै आएका समाजसेवी श्याम मगरातीको नेतृत्व र उनकै आर्थिक सहयोगमा सञ्चालित फाउन्डेसनले दुर्गम क्षेत्रका विपन्न तथा आवश्यकतामा रहेका बालबालिकाको शिक्षामा टेवा पुर्याउने उद्देश्यले उक्त सहयोग उपलब्ध गराएको हो। विद्यालयकी शिक्षिका दीपा साउदले विद्यार्थीहरूको वास्तविक अवस्था र आवश्यकताबारे जानकारी गराएपछि फाउन्डेसनले तत्काल सहयोगको पहल गरेको थियो।
बुधबार आयोजित सामग्री वितरण कार्यक्रममा पूर्वीचौकी गाउँपालिका उपाध्यक्ष पशुपति खड्का, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख हरिभक्त साउद, विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवबहादुर बोगटी, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा विद्यार्थीहरुलाई झोला र ट्र्याकसुट वितरण गरिएको थियो ।
वर्षौंदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएका श्याम मगरातीले विपन्न समुदाय, विद्यालय तथा बालबालिकाको शिक्षामा निरन्तर सहयोग गर्दै आएका छन्। शिक्षा, बालबालिका, विपद् राहत तथा मानवीय सेवाका क्षेत्रमा फाउन्डेसनले सञ्चालन गरिरहेका अभियानले धेरै समुदायमा सकारात्मक सन्देश फैलाइरहेको छ।
फाउन्डेसनका अनुसार दुर्गम क्षेत्रमा अझै पनि धेरै बालबालिका सामान्य शैक्षिक सामग्रीको अभावमा अध्ययन गर्न बाध्य छन्। यस्ता विद्यार्थीलाई आवश्यक सहयोग उपलब्ध गराएर उनीहरूको पढाइलाई सहज बनाउने लक्ष्यका साथफाउन्डेसनले अभियानलाई निरन्तरता दिइने बताएको छ ।आगामी दिनमा पनि विभिन्न विद्यालयबाट प्राप्त आवश्यकताका आधारमा थप विद्यालयका विद्यार्थीलाई पनि झोला,ट्र्याकसुट तथा शैक्षिक सामग्री वितरण गरिने फाउन्डेसनको तयारी रहेको छ।
सामग्री प्राप्त गरेपछि विद्यार्थी र अभिभावक हर्षित देखिएका थिए। उनीहरूले दुर्गम क्षेत्रका बालबालिकाको भविष्यप्रति चासो देखाउँदै निःस्वार्थ सहयोग गर्ने श्याम फुलुमाया फाउन्डेसन, श्याम फुलुमाया हस्तकला उद्योग तथा समाजसेवी श्याम मगरातीप्रति आभार व्यक्त गरेका छन्।
सामाजिक उत्तरदायित्वलाई व्यवहारमै उतार्दै शिक्षा क्षेत्रमा गरिएको यस्तो योगदान अन्य व्यक्ति तथा संस्थाका लागि पनि अनुकरणीय उदाहरण बनेको स्थानीयहरूको भनाइ थियो ।




