काठमाडौं
नेपाल तरुण दलका केन्द्रीय सदस्य रोशन पाण्डेले नेपाली कांग्रेसभित्र युवामाथि सुनियोजित अवरोध सिर्जना भइरहेको आरोप लगाएका छन्। तीनकुनेमा शुक्रबार आयोजित युवा–विद्यार्थीको बृहत् भेलामा बोल्दै पाण्डेले पार्टीभित्रका केही शीर्ष नेताहरूले युवा पुस्ताको राजनीतिक उचाइ रोक्न ‘चरित्रहत्या गर्ने जालो’ फैलाइरहेको दाबी गरे।
पाण्डेका अनुसार महामन्त्री गगन थापाको नेतृत्वमा देशभर करिब २० स्थानमा नेताहरूविरुद्ध बदनाम गर्ने ‘कारखाना’ चलाइएका छन्।
उनले भने, “नेताहरूको छवि बिगार्ने धन्दा चलाएको छ, २० ठाउँमा बिष छर्ने कारखाना खोलेको छ। यस्तो गतिविधि तत्काल बन्द गर्नुपर्छ।”
पाण्डेले विशेष महाधिवेशनको प्रस्तावलाई कांग्रेसभित्र युवालाई नेतृत्वमा आउन नदिने गहिरो रणनीति रहेको ठहर गरे। उनका अनुसार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुरानै प्रतिनिधिबाट विशेष महाधिवेशन गराएर युवा पुस्तालाई मूलधार नेतृत्वमा पुग्न नदिने वातावरण बनाइरहेको बताएका छन् ।
भेलामा पाण्डेले चार वर्षदेखि निरन्तर चल्दै आएको क्रियाशील सदस्यता विवाद समाधान गर्न नसक्नु स्वयं कांग्रेस नेतृत्वको कमजोरी भएको पनि बताएका छन् ।
उनी भन्छन्, “नेविसंघमा सात सय, तरुण दलमा चार सय सदस्यता विवाद आउँदा पनि समाधान गर्न नसक्नु नेतृत्वको असफलता हो। म मात्रै ठीक, अरू सबै गलत भन्ने मानसिकताले पार्टीको भविष्य अँध्यारो बनाउँछ।”
पाण्डेले कांग्रेसले युवा पुस्ताको ऊर्जा र विश्वासलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिँदै, पार्टीभित्र चलिरहेको ‘चरित्रहत्या प्रवृत्ति’ रोकिन नसके कांग्रेसभित्र गम्भीर बिखण्डन आउने चेतावनी पनि दिएका छन् ।
यतिखेर नेपाली काङ्ग्रेस भित्र बिशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने बिषयलाई लिएर विवाद बढीरहेको छ ।




