पनौती / काभ्रे
पनौती नगरपालिका वडा नं. ५ को आयोजनामा बालमैत्री स्थानीय शासनका सूचकको अवस्था मापन अध्यावधिक तथा नतिजामुखी कार्ययोजना तयारी सम्बन्धी कार्यशाला कार्यक्रम सम्पन्न भएको छ ।
“पनौती नगरपालिकाको स्वाभिमान, दिगो बालमैत्रीयुक्त पनौती हाम्रो अभियान” भन्ने नाराका साथ आयोजित उक्त कार्यशाला कार्यक्रम २०८२ साल पौष ९ गते धुलिखेलस्थित अरनिको होटलमा सम्पन्न भएको हो ।
कार्यक्रम पनौती नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष बिनोद खत्रीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा वडा भित्र रहेका सामुदायिक तथा संस्थागत गरी ७ वटा विद्यालय, खानेपानी समिति, महिला सहकारी, टोल विकास समिती, जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा बालमैत्री स्थानीय शासनका ५१ वटा सूचकहरूको मापनहरुको अध्यावधिक गरिएको थियो ।
बाल अधिकारका क्षेत्र अन्तर्गत बाल बचाउतर्फ १४, बाल संरक्षणतर्फ १०, बाल विकासतर्फ ६, बाल सहभागितातर्फ ६ र संस्थागत व्यवस्थापनतर्फ १५ गरी जम्मा ५१ वटा सूचक समेटिएका छन् । यधपी यिनै सुचकको मापदण्ड पुरा गरि पनौती नगरपालिकाले २०७८ साल असार ३० गते नै बालमैत्री नगरपालिका घोषणा गरिसकेको छ ।
कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै पनौती नगरपालिकाका बालमैत्री शाखा प्रमुख केशव बन्जाराले प्रत्येक वडामा बालमैत्री सहजकर्ता राखी वार्षिक रूपमा बालमैत्री क्रियाकलाप सञ्चालन गर्न नगरपालिकाले हरेक वडामा ३/३ लाख रुपैयाँ बजेट विनियोजन गर्दै आएको जानकारी दिए । उनले बालमैत्री स्थानीय शासनलाई घोषणामै सीमित नराखी व्यवहारमा उतार्दै दिगोपना दिनुपर्नेमा जोड दिएका छन् ।
कार्यशालामा बालमैत्री राष्ट्रिय सहजकर्ता विष्णु प्रसाद चौवेले सहजीकरण गर्दै सूचक मापनको अवस्था, कमजोर सूचकहरू, तत्काल सुधार गर्नुपर्ने पक्षहरू तथा आर्थिक वर्ष २०८२/८३ का लागि तयार गरिनुपर्ने कार्ययोजनाका विषयमा विस्तृत छलफल गराएका थिए ।
कार्यक्रममा बोल्दै सभापति तथा वडा अध्यक्ष बिनोद खत्रीले बालमैत्री स्थानीय शासन बालबालिकाको अधिकार सुनिश्चित गर्ने आधार भएको उल्लेख गर्दै यसको सफल कार्यान्वयनका लागि सबै सरोकारवालाको सक्रिय भूमिका आवश्यक रहेको बताए । उनले वडालाई बालमैत्री बनाउने अभियानलाई निरन्तरता दिँदै सूचकमा देखिएका कमजोरी सुधार गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमको सञ्चालन बालमैत्री सहजकर्ता मीरा गिरीले गरेकी थिइन् ।




