पनौती
सार्वजनिक सरोकार (Public Concern) काभ्रेपलाञ्चोक शाखाको समन्वयमा शाखा स्थापना भएको १० दिनमै पहिलो सामाजिक कार्यक्रम सम्पन्न भएको छ। बाल आदर्श आधारभूत विद्यालय पस्थलीमा विद्यालयको आवश्यकता अनुसार विद्यार्थी लक्षित सहयोग कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमअन्तर्गत विद्यालयका ५० जना विद्यार्थीलाई न्यानो लुगा तथा विद्यार्थी पोशाकका रूपमा ट्रयाकसुट वितरण गरिएको हो। हाल अमेरिकामा बसोबास गर्दै आए पनि नेपालप्रति गहिरो माया राख्ने कञ्चन कणेल, केजिया कणेल, मन्दिप केसी, सन्ध्या शर्मा र दिपेन कडरियाको सहयोगमा उक्त पोशाक उपलब्ध गराइएको हो। साथै, फुलचोकी ट्राउट तथा कृषि फर्मकी प्रोप्राइटर रूपा श्रेष्ठले सम्पूर्ण विद्यार्थीहरूका लागि तातो र चिसो पानी पिउन मिल्ने दुई थान वाटर डिस्पेन्सर सहयोग गरेकी छन्।
विद्यार्थीहरूको पोषणमा ध्यान दिँदै युवा व्यवसायी प्रदिप कार्कीले प्रत्येक हप्ता दुई पटक सम्पूर्ण विद्यार्थीहरूका लागि अण्डा उपलब्ध गराउने सहयोग हस्तान्तरण गरेका छन् ।
कार्यक्रमको सभापतित्व सार्वजनिक सरोकार (Public Concern) का केन्द्रीय अध्यक्ष तथा निवर्तमान जिल्ला प्रमुख अधिकारी प्रदिप राज कणेलले गरेका थिए । प्रमुख अतिथिका रूपमा पनौती नगरपालिका वडा नं. १० का वडा अध्यक्ष मोहन बहादुर भण्डारी उपस्थित रहेका थिए । विशिष्ट अतिथिहरूमा विद्यालयका पूर्व व्यवस्थापन समिति अध्यक्ष राम बहादुर केसी, दाताको प्रतिनिधित्व गर्दै सानी आमा गीता कणेल, सार्वजनिक सरोकारका केन्द्रीय कोषाध्यक्ष तथा पूर्व लेफ्टिनेन्ट कर्नेल भुदिप राज कणेल, पुण्य माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक तथा सार्वजनिक सरोकार काभ्रेपलाञ्चोक शाखा संयोजक सरस्वती कणेल, राजेश राज महत, उमेश राज महत, युवा व्यवसायी प्रदिप कार्की तथा सिविन नेपाल पस्थलीकी प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।
शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा विद्यार्थीहरूको नृत्य प्रस्तुति समेत प्रस्तुत गरिएको थियो। कार्यक्रम अनुशासित, भव्य र सभ्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दाताहरू, कार्यक्रम अवधिभर उपस्थित भई सफल बनाउन योगदान दिने सबै महानुभावहरू, साथै अनुशासित र सहयोगी विद्यार्थी भाइबहिनी तथा शिक्षक–कर्मचारीप्रति आयोजक संस्थाले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।




