पनौती
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेता शिवप्रसाद हुमागाइले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा पार्टी महामन्त्री गगन थापाले व्यक्त गरेको सन्देशमा उल्लेख गरिएको विशेष अधिवेशनसम्बन्धी बुँदाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
नेता हुमागाइले आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको धारणा अनुसार पार्टीको नियमित महाधिवेशनमा जाने संस्थागत निर्णय भइसकेको र सो प्रक्रिया अगाडि बढिरहेको अवस्थाका साथै फागुन २१ गते हुने आम निर्वाचनको तयारीसमेत जारी रहेको समयमा उक्त सन्देशले पार्टीभित्र अनावश्यक विभाजनको रेखा कोर्ने हो कि भन्ने चिन्ता पैदा गरेको छ।
उनले संस्थागत निर्णय प्रक्रिया र सामूहिक नेतृत्वलाई थप सुदृढ बनाउनु पर्ने समयमा पार्टीभित्र मतभेद बढाउने खालका सन्देश उपयुक्त नहुने उल्लेख गरेका छन्। देश गम्भीर राष्ट्रिय चुनौतीहरूको सामना गरिरहेको तथा लोकतन्त्र माथि प्रहार भइरहेको वर्तमान परिस्थितिमा नेपाली कांग्रेसलाई कमजोर वा भूमिका–विहीन बनाउने कुनै पनि विचार उचित नहुने उनको धारणा छ।
नेता हुमागाइले बृहत्तर एकता नै आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै नेपाली कांग्रेसले सधैंझैं एकतामार्फत जिम्मेवार र प्रभावकारी राष्ट्रिय भूमिकामा आफूलाई स्थापित गर्नुपर्नेमा जोड दिएका छन्।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा उनले पार्टीभित्र बृहत्तर एकता तथा समग्र राष्ट्रिय एकताको शुभकामना व्यक्त गरेका छन् ।




